चुमभ्यालीबाट काले तामाङ भन्छन्- अब भोजपुर फिर्छु, बाबुआमा पालेर बस्छु – Nepal Press

चुमभ्यालीबाट काले तामाङ भन्छन्- अब भोजपुर फिर्छु, बाबुआमा पालेर बस्छु

आफूलाई मिल्ने बधु पाए बिहे गर्ने योजना

काठमाडौं । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ यो साता ‘टक अफ द नेसन’ बनिरहेको छ, जसको पछिल्लो एपिसोड हेरेर धेरै नेपालीहरु भावविव्हल बनेका छन् । यो एपिसोडमा ३५ वर्षअघि काठमाडौंबाट भागेर गोरखाको चुमभ्यालीमा पुगेका प्रकाश तामाङ भनिने काले मोक्तानको पारिवारिक पुनर्मिलनलाई रोमाञ्चक डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरिएको थियो ।

हेर्ने कथाको टीमले प्रकाशको धमिलो सम्झनालाई पछ्याउँदै भोजपुरमा बस्ने उनको परिवारसम्म पुर्याइदियो । कालेलाई माया मारिसकेका बुवाआमा, दाजुभाइ र दिदीबहिनीहरुले अकल्पनीय रुपमा उनलाई आँखा अगाडि देख्न पुगे र एउटा अभूतपूर्व पुनर्मिलनको दृश्य क्यामरामा कैद भयो । त्यस क्षण कसैको पनि आँखा ओभानो रहन सकेन । यो आँसु खुशीको थियो ।

दशैंमा फेरि फर्किने वाचासहित काले तामाङ भोजपुरबाट आफ्नै कर्मभूमिमा फर्केकोसम्म कथा हेर्ने कथाले पेश गरेको छ । यो कथा एक वर्ष अगाडि नै सुटिङ गरिएको थियो । विभिन्न प्रदर्शनीहरुमा देखाइएपश्चात अहिले युट्यूबमा अपलोड भएको हो । अपलोड भएलगत्तै भाइरल हुन पुग्यो । यो समाचार लेख्दासम्म यो भिडिओको भ्यूज झण्डै ३० लाख पुगिसकेको छ ।

भिडिओले सबैलाई भावुक त बनायो नै, यसलाई लिएर विभिन्न दृष्टिकोणहरुसमेत आउन थालेका छन् । कसैले प्रकाशलाई आजका दिनसम्म विनापारिश्रमिक काममा लगाएको भन्दै उनका साहुप्रति आक्रोश व्यक्त गरेका छन् । कोहीले उनीप्रति करुणा देखाउँदै आर्थिक संकलनको अभियान सञ्चालन गरेका छन् । कसैले यो भिडिओबाट हुने आम्दानीको केही हिस्सा प्रकाशले पाउनुपर्छ तर्क गरेका छन् । केही पेशेवर आलोचकहरुले चाहिँ हेर्ने कथा टीमले आँसुको व्यापार गरेको आरोप पनि लगाउन भ्याएका छन् ।

जे भए पनि प्रकाशको जीवनमा अब नयाँ ट्वीस्ट आउने पक्का छ । हेर्ने कथा टीमले सुटिङ सकिएपछि उनलाई भोजपुरबाट काठमाडौं ल्याएर छोडेको थियो । काठमाडौंमा बस्ने प्रकाशका साहुका छोराले छेकम्पारसम्म पुर्‍याइदिए । परिवारलाई दिएको वाचा पूरा गर्दै प्रकाश गत वर्ष दशैंमा फेरि भोजपुर पुगे । यसपालि फर्किँदा साहुका विदेश बस्ने छोराले एक लाख रुपैयाँ र काठमाडौं बस्नेले ६० हजार रुपैयाँ पठाइदिएका थिए । त्यो पैसा बोकेर नफर्किने गरी भोजपुर हिँडेका थिए, प्रकाश, तर लामो समय घरमा टिक्न सकेनन् ।

प्रकाशका अनुसार घरको आर्थिक अवस्था दयनीय थियो । आफ्नो जग्गाजमिन छैन । बाबुको आग्रहमा एक हल गोरु किनिदिए । कान्छो भाइलाई विदेश जान ४० हजार रुपैयाँ दिए । चाडबाड मनाए । उताबाट ल्याएको पैसा सकियो । नागरिकता बनाउन प्रयास गरे पनि आवश्यक कागजात अभावले सफल भएनन् । ५-६ महिना गाउँमा बस्दा गरिखाने मेलो भेटेनन् । अन्ततः फेरि छेकम्पार फर्किएका हुन् ।

अहिले उनी पुरानै साहुकामा पुगेका छन् । साहुले यसपालि उनलाई दैनिक एक हजार रुपैयाँ ज्याला दिने वचन दिएका छन् । यद्यपि अब उनी छेकम्पार बसिरहने सुरमा छैनन् । आर्थिक सहयोग पनि राम्रै जुट्ने अवस्था भएपछि उनले भोजपुर फर्किने सोच बनाएका हुन् । नेपाल प्रेससँगको फोन सम्पर्कमा उनले एउटा घर र अलिकति जग्गाजमिन भएमा खेति गरेर खाने इच्छा व्यक्त गरे ।

कालेसँग गरिएको संवादः

-तपाईं भोजपुरबाट फेरि छेकम्पार किन फर्किनुभयो ?

यसो थ्यो क्या । त्यहाँ बसेर अलिकति भन्नुपर्दा घरमा अलि समस्या भयो क्या मलाई । घरमा पनि त्यति जग्गाजमिनहरु छैन रहेछ ।

– भन्नाले गरिखाने बाटो केही भएन ?

अँ हजुर । केही भएन । जग्गाहरु अर्कैको गरिराख्नुभएको रहेछ । अंशबन्डाहरु पनि गरिसक्या रहेछ । त्यसैले अलिक गाह्रै भएर हो ।

– त्यहाँ पनि त यत्रो वर्षसम्म एक रुपैयाँ ज्याला नलिइकन काम गर्नुभएको रहेछ, अब के उपलब्धि हुन्छ र ?

दिन्छु भनिराको छ अहिले त ।

– कति दिन्छु भनेको छ ?

हजार रुपैयाँ भनेको छ दिनको ।

– काम पहिलेकै हो कि फरक हो ?

साहु त पहिलेकै हो ।

– दैनिक हजार त दिनसक्ने रहेछन् । अहिलेसम्म चैं किन नदिएका हुन् त ?

मैले पनि मागिनँ । त्यही भएर हो ।

– दिनभरि काम के गर्नुपर्छ ?

घरकै काम हो अहिले त ।

– चौरी चराउनु पर्दैन ?

पहिले चौरी चराउँथें । गोठमा जान्थें । यसपालि गोठमा नगएको । चौरीको काम त्यति छैन । साहुको घरमा खेतीका कामहरु गहुँ, फापरहरु काट्ने, ओसोर्न जोत्ने त्यस्तै छ ।

– तपाईंको इच्छा चाहिँ के छ त ? भोजपुर फर्किन मन छैन ?

अब म तलै फर्किने हो । अहिलेसम्म छुट्टिएर बसियो । बाबुआमा बुढाबुढी छन् । एउटा सानो घर सर बनाएर बाबुआमालाई पालेर बस्ने विचार छ ।

– अहिले त धेरैले तपाईंको विषयमा चासो दिइराखेका छन् । कत्तिको फोन आउँछ ?

फोन आइराख्या छ । अघि पनि धेरै आयो । म भोलिपर्सितिर तल आउँछुहोला ।

– साहु रिसाउँछन् होला नि त, के भन्नुहुन्छ साहुलाई ?

छोडिदिन्छु भनेको छ अहिले ।

– दशैंमा जाँदा कति पैसा दिए ?

एक लाख ६० हजार दिएका थिए । घरतिर रासनपानी गर्दा, चाडबाड मनाउँदा यताउता गर्दा सकियो ।

– धेरै मान्छेहरु तपाईंको भिडिओ हेरेर रोए । तपाईं आफैंले हेर्दा कस्तो अनुभूति भयो ?

मलाई चैं… आफ्नै भएर होला अलिकति लाज लाग्यो क्या मलाई (हाँस्दै) दिदीबहिनी, भाइहरु फोन गरेर कहिले हाँसेको कहिले रोएको भन्छन् ।

– तपाईं चैं रुनुभएन त्यो हेरेर ?

कति ठाउँमा आँसु त आयो, तर मलाई त लाज नै लाग्यो धेरै ।

– भोजपुरमा गएर के काम गर्ने योजना छ त ?

मेरो लेखापढी छैन । आफ्नो नाम पनि लेख्न आउँदैन । बेपार त गर्न सकिँदैन होला । जग्गाजमिन भयो भने खेतीकिसानी नै राम्रो होला जस्तो लाग्छ । यता पनि गरिराखेको हो ।

– बिहे गर्ने इच्छा छ कि छैन ?

(लजाउँदै) बिहे त अब तल गएपछि सोचौंला ।

– बिहे त गर्नुपर्यो नि अब उमेर पनि जानलाग्यो ? जिन्दगी लामो छ ।

पहिले नागरिकता बनाउनुपर्यो । आमा पनि बुढी हुनुभयो । बिहे गर्नलाई आफूअनुसारको चाहियो । मिल्ने खालको भयो भने सोच्नुपर्छ ।

– तपाईंको विषयमा प्रधानमन्त्रीले फेसबुकमा लेख्नुभएको छ । प्रधानमन्त्री कार्यालयबाट फोन पनि आयो ?

हजुर फोन आएको थियो । के कस्तो हुँदैछ, मन्त्रीज्यूले पनि तपाईंसँग भेट्ने कुरा राख्नुभएको छ, कहिले आउने हो भनेर सोध्नुभएको थियो । म छिट्टै ८-९ दिनपछि आउँछु भनेको थिएँ । तर भोलिपर्सितिरै जानुपर्छ जस्तो छ । साहुको घरमा कुरा हुँदैछ ।

– तपाईं जस्तै लामो समयदेखि हराएर त्यहाँ बसिरहेका अरु पनि छन् ?

छैनन् यता अरु त । मसितै भागेको साथि थियो एकजना । उ चाहिँ बाठो भएर एक-डेढ वर्षपछि भाग्यो । उसित पनि सम्पर्क छैन अहिले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर