यसरी मनाइयो डोटीमा डोल जात्रा (भिडिओ) – Nepal Press

यसरी मनाइयो डोटीमा डोल जात्रा (भिडिओ)

डोटी । डोटीको जिल्ला सदरमुकाममा मंगलबार डोल जात्रा मनाइएको छ । हिन्दू धर्मशास्त्रअनुसार भगवान कृष्ण जन्मेको खुशीयालीमा कृष्ण जन्माष्टमीको भोलिपल्ट जात्रा गर्ने परम्पराअन्तर्गत यस वर्ष पनि धुमधामसँग डोल जात्रा मनाइएको हो ।

कृष्णको प्रतिमा डोलमा राखेर बजार परिक्रमा गरी रमाइलो गर्ने भएकाले यसलाई डोल जात्रा भन्ने गरिन्छ । जिल्ला सदरमुकाम सिलगढीको ईन्द्रचोकस्थित राधाकृष्ण मन्दिरबाट पहिलो डोल निकाली जात्रा सुरु हुन्छ । बाजागाजा र कीर्तनभजनसँगै डोल बीचको राधाकृष्ण मन्दिर पुगेपछि सो मन्दिरबाट अर्को डोल निकालिन्छ ।

दुवै डोल भजनकीर्तनसहित जिल्ला प्रशासन कार्यालय डोटीको प्रांगणमा पुगेपछि प्रशासनले तयार गरेको सरकारी डोलसहित सबै एकै ठाउँमा राखेर प्रमुख जिल्ला अधिकारीले पूजा गरेका थिए ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले डोललाई सलामी दिएको थियो । त्यसपछि डोललाई शैलेश्वरी मन्दिर परिक्रमा गराई शहर डुलाउने चलन छ ।

नगरवासीले घरघरबाट डोलको पूजा गर्छन् । अन्तमा पञ्चकन्याले डोलको पूरा र परिक्रमा गरी मन्दिरमा भित्र्याउने गरिन्छ । डोलजात्रा हेर्न जिल्लाका विभिन्न ठाउँबाट भक्तजन तथा जात्रालुको ठूलो सहभागिता रहेको थियो ।

सरकारी डोलसमेत निस्कने भएकाले यसको विशेष महत्व रहेको सिलगढीका सिद्धराज श्रेष्ठले बताए ।

मंगलबार नै डोटीको प्रसिद्ध मष्टाको जात्रा पनि सम्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *