एन्फा महासचिवको तलब २ लाख ७० हजार पुर्याइयो, राष्ट्रिय खेलाडीको ३० हजार (भिडिओ)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।
अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ ।
हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रूपैयाँबाट मासिक ३० हजार पुर्याएको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । महासचिव किरण राईले तलव वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठक अझै जारी छ ।
बैठकबीच प्रवक्ता सुरेश शाहले तलब वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने पनि निर्णय गरेको छ । उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो ।
एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बिहान पौने ११ बजेबाट सुरू बैठक रातिसम्म चलेर बिहीबार बिहानसम्मलाई स्थगित गरिएको थियो । बुधवार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीबार बैठक जारी रहने प्रवक्ता शाहले बताए ।