आन्तरिक भागबन्डा नमिल्दा कोशीमा कांग्रेसलाई सत्तारोहणको सकस
मन्त्रालय फुटाउन शीर्ष नेताले इन्कार गरेपछि सांसद व्यवस्थापनमै समस्या
विराटनगर । पार्टीबाट पठाउने मन्त्रीबारे आन्तरिक रूपमा भागबन्डा मिलाउन नसकेपछि कांग्रेसलाई सरकारमा जान सकस भएको छ । प्रदेशसभाको बैठक सुरू हुनुअगावै सरकारमा जाने र सत्ता पक्षको बेन्चमा बस्ने बताएको कांग्रेसले तत्काल सरकारमा सामेल हुन नसक्ने बताएको छ ।
सदन भदौ १४ (शुक्रबार) लाई बोलाइएको छ । प्रदेशसभाको बैठक बस्ने मिति आउन दुई दिनमात्रै बाँकी भए पनि आज-भोलि मन्त्री छान्न समस्या भएको कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताएका छन् ।
थापाले नेपाल प्रेससँग भने, ‘प्रदेशसभाको बैठक अगाडि कांग्रेस सरकारमा जाने सम्भावना कम भएर गएको छ ।’
यसअघि उनले प्रदेशसभाको बैठकअगाडि नै कांग्रेस सरकारमा जाने हामीसँग बताएका थिए ।
उनले भने,‘अहिलेसम्म कुरा मिलेको छैन । छलफलमै छौं । को-को बन्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन ।’
मन्त्री बन्नेको नाम फाइनल नभएकाले आफू शीर्ष नेताहरूसँग छलफलमा रहेको थापाले सुनाए । मन्त्रीको आकांक्षीको लर्को लागेपछि उनी नाम टुंग्याउन काठमाडौं हुइँकिएका थिए । शीर्ष नेताहरूसँग पटक पटक छलफल गरे पनि सूची तयार भइनसकेको उनको भनाइ छ ।
‘मन्त्री बन्नेको नाम केन्द्रले टुङ्गो लगाउने हो । चाँडै नाम आउँछ भन्ने छ ’, उनी भन्छन् ।
थापाले भदौ १७ सम्ममा नाम टुंगिने बताएका छन् । १७ गतेसम्म किन पर्खन पर्यो भन्ने बारे चाहिँ केही पनि खुलाएनन् ।
मन्त्रीका दाबेदारहरू बढेपछि कांग्रेसले मन्त्रालय फुटाउन प्रस्तावसमेत गरेको थियो । ‘गुट’ को व्यवस्थापनका लागि अहिले भएको ९ मन्त्रालयबाट ११ पुर्याउन कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग प्रस्ताव गरेको थियो ।
जुन प्रस्तावमा मुख्यमन्त्री सहमत भएनन् । उनले केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय नफुटाउने कुरा भइसकेको र दुई नेता सहमत भएको बताएका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत यसमा ग्रीन सिग्नल नदिएको एक नेता सुनाउँछन् ।
उनीहरूले अहिले मन्त्रालय थपिए त्यसको एकल दोष कांग्रेसमाथि आउने भन्दै त्यस्तो निर्णय नगर्न सभापति देउवालाई सुझाव दिएका थिए ।
नेताहरूको सुझावपछि देउवाले समेत प्रधानमन्त्रीलाई मन्त्रालयको संख्या बढाउन दबाब नदिएको बताइन्छ । शीर्ष नेताबाटै मन्त्रालय फुटाउने विषयमा इन्कार गरेपछि कांग्रेसलाई यथास्थितिमै सरकारमा जानुपर्ने बाध्यता थपिएको छ ।
यसअघिको सहमतिमा कांग्रेसले खाली रहेको ४ वटा मन्त्रालय पाउने छ । ४ वटा मन्त्रालयमा मन्त्रीका आकांक्षीको व्यवस्थापनमा समस्या भएपछि कांग्रेस अझै अनिर्णयको बन्दी बनेको छ ।
यहाँ कांग्रेसको तीन समूहबाट मन्त्री बन्न चाहनेहरु छन् । संस्थापन पक्षबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, अमृत अर्याल मन्त्री बन्ने दौडमा छन् । यस्तै डोल्मा तामाङ शोभा चेम्जोङ पनि आकांक्षी छन् ।
डा. शेखर कोइराला पक्षबाट इन्दिरा थापा, मानबहादुर लिम्बू, गोविन्द गिरीले दाबी गरेका छन् । सिटौला समूहबाट भूपेन्द्र राई, भीम पराजुली आकांक्षी छन् ।
महामन्त्री विश्वप्रकाश शर्माले भोजपुरका सांसद विनोद बान्तवालाई मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । उनले मानबहादुर लिम्बू र बान्तवामध्ये एक विकल्प दिएको बताइन्छ ।
आकांक्षीहरू आफ्ना गुटको नेताकोमा धाइरहेका छन् । कोशीमा नेपाली कांग्रेसका २९ जना सांसद छन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले भने कांग्रेसले मन्त्रीहरूको नाम दिनासाथ आफू मन्त्रिपरिषद् विस्तारका लागि तयार रहेको बताउँदै आएका छन् ।