उपमहासचिवमा पराजित भएपछि जीवनराम श्रेष्ठ- अध्यक्षबाटै ‘कम्फर्टेबल’ टीम बनाउन लिष्ट बाँडियो – Nepal Press

उपमहासचिवमा पराजित भएपछि जीवनराम श्रेष्ठ- अध्यक्षबाटै ‘कम्फर्टेबल’ टीम बनाउन लिष्ट बाँडियो

नैतिक रूपमा जिम्मेवारीमा बस्न नमिल्ने भन्दै कार्यालय सचिव पदबाट दिए राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारीबाट जीवनराम श्रेष्ठले राजीनामा दिएका छन्। उपमहासचिव पदमा पराजित भएपछि श्रेष्ठले राजीनामा दिएका हुन्।

उपमहासचिवमा पराजित भएपछि नैतिक रूपमा आफूले पदमा बस्न नमिल्ने देखेर राजीनामा लेखेर अध्यक्षलाई पठाएको उनले बताए।

उनलाई ०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी दिइएको थियो। यसअघि श्रेष्ठ सचिवको जिम्मेवारीमा थिए। राजीनामा दिनुको कारण र महाधिवेशनबारे नेता श्रेष्ठसँग ५ प्रश्नको सवाल-जवाफ:

-निर्वाचनको मत परिणाम आइनसक्दै कार्यालय सचिवको पदबाट किन राजीनामा दिनुभयो ?

पदाधिकारी चयन प्रक्रियामा निर्वाचन प्रक्रियाबाट जाने भनेपछि मैले उपमहासचिव पदमा उम्मेदवारी दिएको थिए। म पराजित भएँ। पराजित भएपछि जिम्मेवारीमा बस्नु उपयुक्त भएन नि। नैतिकताको आधारमा जिम्मेवारीमा रहनु उपयुक्त नभएकाले आजकै मितिदेखि लागू हुने गरी अध्यक्षलाई पठाइदिएको छु।

-यो निर्वाचन परिणामलाई चाहिँ कसरी लिनुभएको छ ?

निर्वाचनको प्रक्रियामा गइसकेपछि एउटा हारजित त भइहाल्छ। तर, निर्वाचनको प्रक्रियामा जानुपर्छ भन्नेमै सोच्नुपर्छ भन्ने मान्यता थियो।

सिंगो हलले सहमतिको म्यान्डेट दिएर पठाएको थियो। त्यही अनुसार तीन पदाधिकारीसहित ९३ केन्द्रीय सदस्य बनाउने काम भयो।

९३ जनाबाट सहमतिकै आधारमा गराउने भनेर २९९ बाट बढाएर ३४४ बनाइयो। यो महाधिवेशनको म्यान्डेट भन्दा बाहिर गएर संख्या बढाइएको हो।

ती सबै पकेटबाटै आएका केन्द्रीय सदस्य हुन्। सबै कुरा सहमतिबाट गर्ने भनेपछि पदाधिकारी पनि सहमतिमै गर्नुपर्छ भन्ने मान्यता हो।

केन्द्रीय कमिटीलाई सहमतिमै पूर्णता दिएपछि चुनावमा जानको लागि प्रेरित गरियो। चुनावमा गएपछि जसको पकेटबाट धेरै केन्द्रीय सदस्य परेको उसको बाहुल्यता हुनु स्वभाविक हो।

-सहमति भन्दाभन्दै चुनावमा जाँदा प्रष्ट गुटबन्दी देखियो नि !

गुटबन्दी त प्रष्टै देखियो। संस्थापन पक्षबाटै लिष्ट बाँडियो। अनेक खालका फोन गरेर फलानोलाई जिताऊ, उसलाई हराऊ भन्दै क्याम्पेनहरु भए, गुटबन्दी त स्पष्ट देखियो। दुभार्ग्यपूर्ण नै रह्यो। निर्वाचनलाई निष्पक्ष ढंगबाट सौहार्दपूर्ण ढंगबाट लैजानुपर्छ भन्ने मान्यता थियो।

लिष्ट बाँड्न पाइन्न भन्ने कुरा थियो, आचारसंहिता थियो तर कुनै कुराहरू पनि कायम रहेन। संस्थापन पक्षबाटै उल्लंघन भयो। अध्यक्षलाई चाहे अनुसार कम्फर्टेबल हुने ढंगबाट मान्छे ल्याउने काममा विशेष भूमिका भयो।

-अध्यक्ष र महासचिवले पार्टीभित्र गुटबन्दी चलाएको देखियो ?

मुख्य गरी त्यहाँको गतिविधि हेर्दा अध्यक्षबाट यस्ता खालका गतिविधि गराइएको देखियो। लिष्ट बाँड्नदेखि सबै कुराहरू त्यहीबाट भएको हो।

-भनेपछि अध्यक्षकै निर्देशनमा लिष्ट बाँडियो ?

उहाँको नजिकका र दायाँबायाँ बस्ने मान्छेहरूले सबै गरेपछि निर्देशन छ छैन भन्ने कुरा त त्यसै बुझ्न सकिन्छ नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर