कमल थापाको नाकाबन्दी नोट्स: मोदीकाे प्रश्न- नाकाबन्दी कस्तो हुन्छ, तपाईंलाई थाहा छ ? – Nepal Press
पुस्तक चर्चा

कमल थापाको नाकाबन्दी नोट्स: मोदीकाे प्रश्न- नाकाबन्दी कस्तो हुन्छ, तपाईंलाई थाहा छ ?

काठमाडौं । किताब पढ्ने नेताहरुको सूचीमा आउने केही नाममध्ये एक हुन् कमल थापा । थापा भारतले नेपाललाई २०७२ सालमा नाकाबन्दी लगाउँदा उपप्रधानसहित परराष्ट्रमन्त्री थिए । उनै थापाले हालै उक्त नाकाबन्दीबारेको कुरा किताबमा ल्याएका छन् ।

सम्बर्धन प्रकाशनले बजारमा ल्याएको किताब ‘नाकाबन्दी र भूराजनीति’मा ६ अध्याय रहेका छन्, जसमध्ये चौंथो अध्यायमा उनले भारतीय नाकाबन्दीको कुरा उल्लेख गरेका छन् । उक्त भारतीय नाकाबन्दी हटाउन नेपालले पहल गरेको डिप्लोमेसी र ट्रयाक टू डिप्लोमेसीका कुरा उनले खुलाएका छन् ।

भारतले लगाएका पछिल्ला दुई नाकाबन्दीमा सत्ताकै आँखाबाट हेर्ने पात्र हुन् थापा । २०४५ सालको नाकाबन्दी हुँदा उनी तत्कालीन सरकारको सञ्चारमन्त्री थिए । २०७२ सालको नाकाबन्दीको त उनी नेपालको प्रमुख कूटनीतिज्ञको रुपमा सर्वदलीय बैठक कोठादेखि भारतसँगको कूटनीतिक कर्नरसम्म प्रत्यक्ष जोडिएका थिए । एकतर्फ मधेश आन्दोलनसँग वार्ता गर्ने घरेलु कारणको जिम्मा उनकै थियो भने अर्कोतर्फ त्यही आन्दोलनको बहाना बनाएर गरिएको भारतीय नाकाबन्दी खुलाउन गरिने कूटनीतिक पहलमा परराष्ट्रमन्त्रीको रुपमा सक्रियता पनि उनकै थियो । उनले किताबमा यी दुइटै पक्ष खुलाएका छन् ।

मुख्यमन्त्री हुँदै मोदीसँग भेट

मोदीसँग थापाले भारतको प्रधानमन्त्री हुँदा नाकाबन्दीको समयमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतले मात्रै मात्रै होइन, मुख्यमन्त्री हुँदा पनि भेटेका थापाले । उनले किताबमा लेखेअनुसार २०७० सालको नवरात्रिमा जलहारी भएर बसेका तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीसँग थापाले भेटेका थिए । भेटको सूत्र आर्ट अफ लिभिङ अभियानका संस्थापक भारतीय गुरु रविशंकर थिए । उनै रविशंकरले उनको आश्रम बेङ्गलुरुमा बृहत् नवरात्रि पूजा तथा यज्ञ गरेको समयमा थापा सहभागी भएका थिए । उनलाई यज्ञको अन्तिम दिन रविशंकरले घर जानु अगाडि मोदीलाई भेटेर जान भनेका थिए । थापाले माने र भेटे मोदी ।

मोदीसँगको त्यो भेटबारेमा थापा लेख्छन्, ‘उनी (मोदी)सँग अहमदावादस्थित मुख्यमन्त्रीको निवासमा लामो कुराकानी भयो । नेपालको वर्तमान अवस्था, दुई देशको सम्बन्ध एवं नेपाल र भारतमा हुन लागेको आमचुनावबारेमा लामो विचार विमर्श भएको थियो ।’

सुषमा स्वराजसँग थापाले अटलबिहारी बाजपेयीको सरकारकै समयमा भेट गरेका थिए । त्यसबेला थापा स्वास्थ्यमन्त्री थिए । २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री उनका भारतीय समकक्षी थिइन् सुषमा । थापाभन्दा जेठी भएकीले उनी
थापालाई ‘कमल भाइ’ सम्बोधन गर्थिन् । उनीहरुको भेट दिल्ली र जेनेभामा स्वास्थ्यमन्त्री भएकै समयमा भएको थियो ।

२०७२ मा संविधान जारी भएपछि जयशंकरले थ्रेट दिँदा बिच्किए प्रचण्ड

उसो त प्रचण्डले ओली नेतृत्वको सरकार बनाउन थापालाई छलफलमा बोलाउँदा नै जयंशकरले भारतको विमतिमा संविधान जारी गरेकामा थर्काएको कुरा सुनिसकेका थिए । तत्कालीन निवास लाजिम्पाटमा प्रचण्डले आफू र बाबुरामलाई सँगै राखेर जयशंकरले थर्काएको कुरा भावुक भएर थापालाई भनेका थिए, ‘कमलजी, केही दिनअघि तपाईं बसेको ठाउँमा भारतीय विदेश सचिव एस. जयशंकर बसेका थिए । बाबुराम त्यत्तापट्टि बस्नुभएको थियो । म यही सोफामा थिएँ । तिमीहरुले संविधान जारी गर्‍यो भने राम्रो हुनेछैन, हामीले सहयोग नगरेको भए अहिले पनि तिमीहरु कि जङ्गलमा कि राजाको जेलमा हुन्थ्यौ भन्दै जयशंकरले थर्काए । दुई जना पूर्वप्रधानमन्त्रीलाई थ्रेट दिँदै उनको संविधान जारी नगर्न अनुचित दबाब दिए ।’

त्यसमा प्रचण्डले अनुहारमा भावुकता छल्काउँदै भने, ‘अब हामीले कहिलेसम्म सहेर बस्ने यिनको दादागिरी ? के हामी गुलाम हौं ?’

संविधान बनेपछि सरकारको नेतृत्व एमालेले गर्ने सहमति तोडे सुशील कोइरालाले । त्यो भारतीय लाइनमा तोडेको थापाले लेखेका छन् । यही समयमा ओलीले पनि सरकारमा सहभागी हुन आग्रह गर्दै थापालाई भनेका थिए, ‘अहिले राष्ट्र बचाउने चुनौती छ । तपाईं महत्वपूर्ण जिम्मेवारीसहित सरकारमा आउनुपर्छ ।’

नाकाबन्दीमा जयशंकर गरम, सुषमा र अजित दोभल नरम

नेपालमा नयाँ संविधान जारी भयो २०७२ असोज ३ मा । त्यसमा विश्वले बधाई सन्देश दिइरहेको थियो । भारतले भने बधाई दिएन । ‘नोट’ मात्रै गर्‍यो । नोट गरेर कूटनीतिक आक्रोश देखाएको भारतका शीर्ष नेताहरुको अनुहार र हाउभाउमा पनि त्यो छनक देखे थापाले । असोज ३० मा भारत उडे थापा ।

समकक्षीको निम्तोमा भारत गएका उनले सत्ताधारी दलका महासचिव राममाधवसँग आफू बसेको होटल ओवेरायमा भेटे । सोही होटलमा भोलिपल्ट थापाले भारतीय विदेश सचिव एस. जयशंकरसँग भेटे । भेटमा जयशंकरको हाउभाउबारेमा थापाले लेखेका छन्, ‘जयशंकरको अनुहार अँध्यारो थियो र व्यवहार चिसो । बडी ल्याङ्ग्वेजमा पनि उत्साह थिएन ।’

थापाले ‘जयशंकरको जवाफ निकै रुखो थियो’ भन्दै सीमा नाकाबाट प्रदर्शनकारीहरु हटाउन आग्रह गर्दा उनको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘तिनलाई हटाउने काम भारतको होइन ।’

सोही भ्रमणमा हैदरावाद हाउसमा सकमक्षी सुषमा स्वराजसँग भेटे थापाले । उक्त भेटमा स्वराजले पनि भारतले नाकाबन्दी नगरेको, सीमा नाकामा अवरोध भएको मात्रै भनिन् । जुन कुरा सबै भारतीय अधिकारीहरुले एकमुखले भन्दै आएका थिए । अवरोध नभएका नाकामा पनि समस्या भएको नेपाली ट्याङ्करमा भारतीय आयल निगमले तेल नदिएको जस्ता कुरा गर्दा पनि भारतीयले एकै रटान लगाइरहे ।

डेलिगेसनको बैठकमा एकै रटान भएपछि स्वराजसँग एक्लै भेट्न प्रस्ताव गरे थापाले । भेटमा कमल थापाले भने, ‘तपाईं मलाई भाइ भन्नुहुन्छ । म मन्त्रीको हैसियतबाट होइन, भाइकै नाताले तपाईंलाई भन्छु- अहिले जे भइरहेछ, के यो ठीक छ ? आखिर नेपालले त्यति ठूलो अपराध के गर्‍यो, जसका कारण भारतले नेपाली जनतालाई सजाय दिनुपर्‍यो ?’

मधेशका दलहरुलाई चित्त बुझाउने सर्त राखेर सुषमा स्वराजले भनिन्, ‘कमल भाइ, म तपाईंको भावना बुझ्छु …. भोलि प्रधानमन्त्रीसँग तपाईंको भेट हुँदैछ । उहाँलाई सबै जानकारी गराउनुहोला । म आजै साँझ प्रधानमन्त्रीसँग भेटेर तपाईंको सन्देश पुर्‍याउँछु ।’

थापाले प्रधानमन्त्रीलाई ‘सबै जानकारी गराउनुहोला’ भन्ने कुरामा खास अर्थ भएको बुझेको लेखेका छन् । प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि उनका सुरक्षा सल्लाहकार अजित दोभलसँग भेटे थापाले । उनले भने, ‘तपाईंको प्रधानमन्त्रीबाट हामीले यस्तो अपेक्षा गरेका थिएनौं ।’ नाकाबन्दी लगाएको होइन र सीमाको अवरोध नेपालकै भन्ने कुरा उनले पनि दोहोर्‍याए, तर एक घण्टाको छलफलपछि उत्तराखण्डको गडवाल क्षेत्रमा जन्मेका दोभलले भने, ‘म पनि पहाडिया नै हुँ । पहाडी जनताको पीडा राम्ररी बुझ्छु ।’

जब मोदी नेपालमा आफूलाई ‘भिलेन’ बनाइएको भन्दै बिच्किए

नेपाल भ्रमण गरेर मोदीले उच्च सम्मान पाएको भन्दा मोदी बिच्किएर भने, ‘सुन्दैछु, हिजोआज त मलाई गाली गर्ने गरिएको छ । भिलेनको रुपमा हेरिन्छ रे !’ मोदीसँगको भेट व्याख्या गर्दै थापा लेख्छन्, ‘त्यो भेटमा प्रधानमन्त्री मोदीको बडी ल्याङ्ग्वेज असहज देखिन्थ्यो ।’

मोदीले नेपालले नाकाबन्दी भनेकोमा आपत्ति जनाउँदै भने, ‘भारतले नाकाबन्दी गर्‍यो भनेर अन्तर्राष्ट्रिय मञ्चमा भन्दै हिँड्ने ? नाकाबन्दी कस्तो हुन्छ, तपाईंलाई थाहा छ ?’

मधेश समस्या सुल्झाउनेतर्फबाटै बोलेको कुरा पूरा गर्न मोदीले सुझाएको थापाले लेखेका छन् । उनले भने, ‘तपाईंका नेताहरुलाई भनिदिनुस्, उहाँहरु दिल्ली आएर एउटा कुरा गर्नुहुन्छ । प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । उता गएपछि बिर्सनुहुन्छ । कसरी विश्वास गर्ने ?’

सुरुमा चर्को कुरा गरेका र पछि नरम भएका मोदीबारेमा थापाले लेखेका छन्, ‘प्रधानमन्त्री मोदीको सुरुको आक्रोश अलि अस्वाभाविक थियो । त्यत्ति ठूलो नेताले एउटा सानो छिमेकी देशको अतिथिका अगाडि किन आक्रोश देखाए ? त्यो अभिनय थियो वा बनावटी पो थियो कि ?’

देउवा र प्रचण्डले सर्वदलीय बैठकमै खुलाए हिन्दू राज्यबारेमा भारतलाई दिएको वचन

मोदीले नेपाली नेताहरु भन्ने एक थोक, गर्ने अर्को थोक भनेको कुरा कमल थापालाई सापटी लिएर सर्वदलीय बैठकमा अहिलेका राष्ट्रपति तथा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेलले कुरा उप्काएका थिए । प्रचण्ड र देउवाले स्वीकारे । देउवाले भने, ‘मसँग हिन्दू राष्ट्र राख्न उनीहरुले कुरा गरेका हुन् । मैले त प्रयास गरैकै हो, तर सकिनँ त के गरौं !’

प्रचण्डले पनि सर्वदलीय बैठकमा भने, ‘मसँग पनि अलि अलि त्यस्तै कुरा भएको हो । मोदीले त होइन, उनका सहयोगीहरुले हिन्दू राष्ट्रको कुरा गरेका थिए । मैले प्रयास गर्छुसम्म भनेको हो । वचनै त दिएको होइन । यता अब सम्भव भएन, बाबुरामजीहरुले मान्नुभएन । म चाँहि धर्मनिरपेक्षता नभएर अर्को कुनै शब्द राख्न सकिन्छ कि भन्नेमा थिएँ ।’

नाकाबन्दी खोल्ने रणनीति: विपक्षी दलहरुसँग भेटघाट, धार्मिक तथा सैन्य कूटनीति

भारतले लगाएको २०७२ सालको नाकाबन्दी खोल्न राज्यको रुपमा र व्यक्तिको रुपमा दुवै कोणमा काम गरेको थापाले खुलाएका छन् । यो कुरा प्रधानमन्त्री ओलीदेखि आफूसम्म भएको उनले लेखेका छन् । ओलीबारेमा उनले भनेका छन्, ‘नाकाबन्दीको बेला यदाकदा प्रधानमन्त्री ओलीले दिल्लीमा आफ्नै ढङ्गबाट आफ्नो प्रभाव उपयोग गरेको थाहा पाएको थिएँ । यद्यपि आफ्नो प्रयासबारेमा उनले मलाई कहिल्यै खुलेर बताएनन् ।’

भारतीय आध्यात्मिक गुरु रविशंकरसँग आफ्नो निजी तथा तत्कालीन एमाले सांसद विनोद चौधरीलाई ओलीले पठाएर नाकाबन्दी खोल्नेबारेमा कुरा भएको थापाले खुलाएका छन् । नेपाली मूलका भारतीय गुरु आचार्य बालकृष्णको पनि भूमिका उनले खुलाएका छन् । दक्षिण भारतका गुरु रविशंकरसँग बैंङ्गलुरुमा भएको भेटपछिको आश्वासन साभार गर्दै थापाले लेखेका छन्, ‘चिन्ता नगर्नुस्, म यो समस्या समाधान गर्न सक्दो प्रयास गर्छु । भोलि तपाईंसँगै म पनि दिल्ली जान्छु । त्यहाँ मोदीजी र अन्य नेताहरुसँग म कुरा गर्छु ।’

दिल्ली पुग्दा विमानस्थलमै केही भारतीय मन्त्रीहरु बोलाएर रविशंकरले बैठक गरेको थापाले बताएका छन् ।

भारतका विपक्षी दलका नेताहरुमा मनमोहन सिंहसँग दिल्लीमा शिष्टाचार भेट गरे थापाले । दक्षिण भारतबाट दिल्ली आउँदा एकै बगलमा परेका भारतका पूर्वअर्थमन्त्री पी. चिदाम्बरन । दुई घण्टा पचास मिनेट लामो उडानमा उनले नाकाबन्दीको कुरा गरे । त्यो भेटपछि उनले भारतीय अखबार टाइम्स अफ इण्डियामा लेख लेखेर नेपाल जस्तो सानो छिमेकी देशसँग नाकाबन्दी अस्त्र गलत भएको लामो लेख लेखे ।

नेपाली सेनाको तर्फबाट पनि कूटनीतिक कार्य भएको भन्दै थापाले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक भारत भ्रमण र त्योभन्दा अगाडि उपरथी हिमालय थापाको भ्रमणले नाकाबन्दी हटाउने माहोलमा केही बल पुगेको थापाले लेखेका छन् । राजेन्द्र क्षेत्री त भारत जानु अगाडि थापालाई भेटेर सल्लाह लिएर गएका थिए ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालतर्फ सहानुभूति देखाउने भारतीय विपक्षी दलका नेताहरु बोलाएर दूतावासमा रात्रिभोज दिए । भोजमा आउने नेताहरुमा कम्युनिष्ट नेता सीताराम येचुरी, राष्ट्रवादी कंग्रेसका नेता डीपी त्रिपाठी, जनता दल (संयुक्त)का महासचिव पवनकुमार वर्मालगायत भएको थापाले लेखेका छन् । पाँच पटकको भारत भ्रमणमा भारतीय उच्च नेतृत्वसँगको छलफल, विभिन्न राज्य तथा गैरराज्य पक्षका कूटनीतिक च्यानलको प्रयोग र २०७२ पुस ६ गते मधेश केन्द्रित दलहरुसँग गरिएको वार्तापछि क्रमशः नाकाबन्दी खुलेको थापाले लेखेका छन् ।

जेनेभा मञ्च: अरु देशले संविधान बनाएकोमा बधाई, भारतको केरकार

कमल थापा परराष्ट्रमन्त्रीको हैसियतमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर जेनेभा पुगे । त्यहाँ उनले मानव अधिकारबारेमा आफ्नो मन्तव्य दिए । संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषद्अन्तर्गतको कार्यक्रममा पुगेका थापालाई अरु देशका प्रतिनिधिहरुले नयाँ संविधान बनाएकोमा बधाई दिए, तर भारतीय प्रतिनिधिले संविधानले सबैलाई नसमेटेको भन्दै आलोचना गरे ।

प्रतिकारमा थापाले नेपालको संविधान बनाउने नेपाली अधिकार भएको भन्दै त्यसमा भारतले लगाएको नाकाबन्दीले विद्यालय, कलकारखाना, उद्योग बन्द भएर मानव अधिकार हनन भएको कुरा उठाए । उनको मन्तव्यको धेरैले तारिफ गरे ।

मोदीसँगको वक्तव्यको बारेमा बेलायती मन्त्रीले फोन गरेरै दिए स्पष्टीकरण

नेपालमा संविधान जारी गरेपछि भारतीय प्रधानमन्त्री मोदीको बेलायत, जापान तथा युरोपेली संघको यात्राको क्रममा नेपाल जोडे । नेपाली संविधान जोडे । यो कुरामा नेपालले आपत्ति जनायो । त्यसमा बेलायतले स्पष्टीकरण दियो ।

यसबारेमा थापाले लेखेका छन्, ‘संयुक्त वक्तव्यमा नेपालको आन्तरिक मामिलाबारे चर्चा भएपछि हामीले तत्काल विरोध गरेको सन्दर्भमा बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोनमार्फत् मलाई स्पष्टीकरण नै दिएका थिए- ‘नेपालको राजनीतिक समस्या नेपालले नै समाधान गर्नेमा बेलायत स्पष्ट छ ।’

२०७२ सालमा भारतले नाकाबन्दी लगाउने तत्कालीन चार कारण

थापाले आफ्नो पुस्तकमा भारतले नेपाललाई नाकाबन्दी लगाउनुका चार कारण लेखेका छन् । उनले औंल्याएका चार कारण हुन्:

  • १. संविधान जारी गर्ने कार्य केही पर सार्न अनुरोध गरेकोमा त्यसलाई नेपालले नटेर्नु ।
  • २. आफूले संरक्षण गरेर हुर्काएका मधेश केन्द्रित दलहरुको माग सम्बोधन हुन नसक्नु ।
  • ३. नेपालमा चीनको प्रभाव तीव्र बढ्दै जानु ।
  • ४. नेपाली नेताहरुले दिएको वचन पूरा नगर्नु ।

किताबको सुरुमै थापाले नाकाबन्दीका बारेमा भनेका छन्, ‘भूराजनीति, नेपाल-भारतबीच सुरक्षा एवं सामरिक विषयमा विद्यमान अवधारणागत भिन्नता नै नाकाबन्दीका प्रमुख कारण हुन् ।’

भविष्यमा नाकाबन्दी नहुने माहोल सुझाउँदै थापाले लेखेका छन्, ‘भविष्यमा नाकाबन्दी जस्ता घटना दोहोरिन नदिन तथा नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भूराजनीतिक र अवधारणागत मतभिन्नताले सिर्जना गर्ने चुनौतीहरुलाई समयानुकूल सम्बोधन गरिनुपर्छ ।’

याे पनि पढ्नुस् : भारतले लगाएका ४ नाकाबन्दीको नालीबेली : नेपालले कुन कसरी खेप्यो ?


प्रतिक्रिया

One thought on “कमल थापाको नाकाबन्दी नोट्स: मोदीकाे प्रश्न- नाकाबन्दी कस्तो हुन्छ, तपाईंलाई थाहा छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर