मन्त्री मिर्जा पाकिस्तानी गुप्तचर भएको भन्दै भारतीय राजदूत राजनले गुनासो गरेपछि…
काठमाडौं । २०५५ असार १५ गते पूर्वमन्त्री तथा राप्रपा नेता मिर्जा दिलसाद बेगको हत्या भयो, बजारमा हल्ला थियो– मिर्जालाई भारतीय गुप्तचर निकायले हत्या गरे ।
यो हल्लालाई केही बल पुग्ने आधार हालसालै प्रकाशन भएर बजारमा आएको कमल थापाको पुस्तकले बल पुर्याएको छ ।
‘नाकाबन्दी र भूराजनीतिः कूटनीतिमा मेरो अनुभव र अनुभूति’ शीर्षकको पुस्तकको पेज नं. १३७ र १३७ मा उक्त सवाल थापाले कोट्याएका छन् ।
भारतीय सीमावर्ति क्षेत्र कपिलवस्तुका निर्वाचित सांसद भएका मिर्जा वीरगञ्जमा भएको राप्रपाको दोस्रो महाधिवेशनबाट पार्टी प्रवेश गरेर सूर्यबहादुर थापा हुँदा राज्यमन्त्री भएका थिए । उनै मिर्जा पाकिस्तानी गुप्चतर निकाय आइएसआईका करिन्दा भएको भन्दै भारतीय राजदूतले शितल निवास पुगेर गुनासो गरेका थिए ।
उनले एक प्रतिवेदननै बोकेर राजदरबार पुगेको भन्दै थापा लेख्छन्, ‘एक दिन भारतीय राजदूत के.भी. राजन हातमा एउटा बाक्लो फाइल बोकेर शीतल निवासआए ।
सामान्य शिष्टाचारपछि उनले भेट्न आएको प्रयोजनबारे भने, ‘म आज तपाइँलाई अत्यन्त संवेदनशील विषयमा नेपाल सरकारको ध्यान आकर्षित गर्न आएको छु । मलाई दिल्लीले यो कागजात तपाइँमार्फत् प्रधानमन्त्रीसमक्ष पुर्याइदिन निर्देशन दिएको छ ।’
राजदूत राजनले जानकारी दिँदै कमल थापालाई भनेका थिए, ‘भारतको गुप्तचर एजेन्सीले गरेको अनुसन्धानअनुसार सांसद बेग पाकिस्तानको आइएसआईका निमित्त काम गर्छन् । यस्ता व्यक्ति मन्त्री पदमा रहनु सायद उपयुक्त हुँदैन ।’
आफूले यो कुरा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई भन्दा उनले पहिले नै जानकारी भएको जस्तो गरेको भन्दै कमल थापाले लेखेका छन्, ‘उनले सामान्य रुपमा लिए । ठिक छ हेर्दै जाउँ । हाम्रो आफ्नै राजनीतिक बाध्यता छ ।’
केही समयपछि गिरिजाप्रसाद कोइरालाले दिएको समर्थन फिर्ता भएपछि सूर्यबहदुर सरकार ढल्यो । र, राज्यमन्त्री पदका मिर्जाको पद त्योसँगै गएको थियो ।