अमेरिकामा मुना निमोठिएपछि उजाडिइन् एकल आमा, अमेरिकी साथीमाथि शंका – Nepal Press

अमेरिकामा मुना निमोठिएपछि उजाडिइन् एकल आमा, अमेरिकी साथीमाथि शंका

काठमाडौं । एक्लो सहाराको रुपमा रहेकी छोरी अमेरिकामा मारिएको खबरपछि अनिता अधिकारीमाथि अकल्पनीय बज्रपात परेको छ । उनको संसार नै एकाएक उजाडिएको छ ।

पूर्वसैनिक श्रीमानसँग केही वर्षअघि डिभोर्स गरेर बसेकी अनिताकी एक्ली सन्तान थिइन् २१ वर्षीया छोरी मुना । फोटो स्टुडियो चलाएर उनले छोरीलाई एक्लै हुर्काइन् र ऋणपान गरेर अमेरिका पढ्न पठाइन् । तीन वर्ष अगाडि मुना अमेरिका उडेकी थिइन् । नर्सिङ अध्ययनरत मुना सानोतिनो काम पनि गर्थिन् । अब आफ्नो पढाइ एक वर्ष मात्रै बाँकी रहेको र त्यसपछि दुखका दिन सकिने भनेर आमालाई हौसला दिन्थिन् ।

सविताका अनुसार तीन-चार दिनदेखि छोरीसँग उनको सम्पर्क भइराखेको थिएन । मुना निरन्तर अफलाइन हुँदा उनको छटपटी बढिरहेको थियो ।

उनी भन्छिन्, ‘पहिले पनि कहिलकाहीँ घुम्न जाँदा दुई-तीन दिन मोबाइल लाग्दैन थ्यो । यसपाली पनि कतै घुम्न गएकी होली भन्ने सोचेँ ।’

सोमबार बिहान अमेरिकाबाट फोन आयो । फोन छोरीको थिएन, छोरीकी साथीको थियो । अनिताको मनमा चिसो पस्यो । नभन्दै अकल्पनीय खबर सुन्नुपर्यो । केही बेरपछि अस्पतालबाट फोन आयो । शव अस्पतालमै रहेको र पैसा तिरेर जिम्मा लिन भनियो । अनिता कुनै जवाफ फर्काउने अवस्थामा थिइनन् ।

अब उनको एउटै इच्छा छ, जसरी पनि अमेरिका गएर आफ्नो छोरीको हत्यारालाई सजाय दिलाउने । तर, सजिलो छैन । उनीको आर्थिक अवस्था नाजुक छ । यद्यपि, अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेकी छन् ।

अनिताका अनुसार उनलाई श्रीमानले निरन्तर कुटपिट गर्ने गर्थे । सेनाको जागीरबाट रिटायर्ड भएपछि श्रीमानको टर्चर सहनै नसक्ने भएर छुट्टिनु परेको उनले बताएकी छन् । ८ वर्षअघि पढ्दै गर्दा उनीहरूको डिभोर्स भएको थियो । छोरीको जिम्मेवारी आमाले पाइन् । त्यसयता उनले एक्लै संघर्ष गरेर छोरीलाई पढाइन् ।

अनिता भन्छिन्, ‘छोरी पेटमा हुँदादेखि नै मैले आधापेट खाएर संघर्ष गरेको हुँ । छोरीकै लागि सबै त्याग गरेँ । छोरी एकदमै साहसी थिइन् । हामीले सबैलाई केही गरेर देखाउनुपर्छ मम्मी भन्थिन् । म जसरी पनि गर्छु, हजुरले चिन्ता लिनुपर्दैन भन्थिन् ।’

अनिताका अनुसार अमेरिकामा मुनाका एक केटासाथी थिए, जो अमेरिकी नागरिक हुन् । छोरीले ती साथीले आफूलाई फलो गर्ने गरेको र आफूलाई पनि मन परेको भनेर सुरूमा आमालाई बताएकी थिइन् । ती साथीसँग घुम्न गएका फोटो/भिडिओहरु पनि पठाउने गरेको अनिताको भनाइ छ ।

उनले भनिन्, ‘अस्ति पुसमा एउटा बर्थ डे पार्टीमा उनीहरुको चिनजान भएको रहेछ । मलाई एकजनाले फलो गर्छ, प्रपोज गरेको छ भनेर सुनाएकी थिइन् । उसले एउटै फ्ल्याटमा बसौं, बिहे गरौं पनि भनेको रहेछ । मैले राम्ररी सोचविचार गरेर मात्रै गर्नु है भनेँ । फेरि बीचमा त्यो मान्छे अलिक व्यवहारिक रैनछ मामु भन्ने कुरा गरी । मैले त्यसो भए त्योसँग संगत नगर भनेकी थिएँ । पछि उनीहरूबीच बोलचाल पनि हुन छोडेको रहेछ । तर, छोरीले मलाई भनेकी थिइन । फेरि केही दिनदेखि बोल्न थालेका थिए रे । मलाई त्यही केटामाथि शंका छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर