स्नूकर सञ्चालकको हत्यामा नजिकै डेरा बस्ने युवक संलग्न, प्रहरीलाई यस्तो बताए मार्नुको कारण – Nepal Press

स्नूकर सञ्चालकको हत्यामा नजिकै डेरा बस्ने युवक संलग्न, प्रहरीलाई यस्तो बताए मार्नुको कारण

काठमाडौं । काठमाडौंको शंखमुलमा दुई दिनअघि भएको स्नूकर सञ्चालकको हत्यामा छिमेकमा बस्ने युवा पक्राउ परेका छन् ।

प्रहरीले स्नुकर भएको घरनजिक रहेको अर्को घरमा डेरा गरी बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको छ । घटनापछि पनि एमके कुमार डेरामा बसिरहेका थिए । मंगलबार दिनभर पशुपतिनाथ मन्दिरमा बसेको र साँझ डेरा फर्किएको प्रहरीले जनाएको छ ।

प्रहरीले एमके कुमारको साथबाट मृतक रुपक वाइबाको चेक, चश्मा, कपडा र हत्यामा प्रयोग गरिएको रड बरामद गरेको जनाएको छ । एमके डेरामा एक्लै बस्दै आएका थिए ।

४१ वर्षीय रुपक आफ्नै घरको भुइँतलामा सञ्चालन गरेको स्नुकर हाउसको सोफामा धारिलो हतियार प्रहार भएको अवस्थामा मध्यरातमा मृत भेटिएका थिए । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका एमके कुमार बाराको सिम्रौनगढका हुन् । मृतक पनि बाराकै हुन् ।

‘एमके कुमारको अवस्था हेर्दा उनी मानसिक रूपमा त्यति स्वस्थ्य देखिँदैनन् । आफूलाई कालीको भक्त भएको बताउँछन्’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

उनले आफ्ना बुबा बैंकिङ कसुरमा हाल जेलमा रहेको र उनलाई फसाउन रुपकको परिवारको हात रहेको जस्तो पनि कुरा गर्ने गरेको ती अधिकारीले सुनाए ।

‘उनले आफूलाई रुपकले हेप्ने गरेको पनि थियो भन्छन् । हत्या उनैले गरेको यकिन भएपनि किन गरेको भन्ने ठ्याक्कै स्पष्ट हुन सकेको अवस्था छैन’, ती अधिकारीले बताए ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो । मृतक रुपक छोरा र आमासँग त्यहाँ बस्दै आएका थिए । श्रीमती विदेशमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर