रानीपोखरीलाई बिहान हिँडडुल गर्न खोल्ने तयारी: रात्रीकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाइने – Nepal Press

रानीपोखरीलाई बिहान हिँडडुल गर्न खोल्ने तयारी: रात्रीकालीन प्रकाश राखेर साँझमा सुन्दरता बढाइने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई बिहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ ।

रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको महानगरपालिकाले जनाएको छ ।

आज पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘रात्रीकालीन प्रकाशको व्यवस्था गरेर साँझमा सुन्दर बनाउनेछौँ ।’

अवलोकनका क्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरु विष्णुप्रसाद जोशी र मनोजप्रसाद लामिछाने, नगर प्रहरी नायव उपरीक्षक मीन थापासहित अधिकारीहरु सहभागी थिए ।

रानीपोखरीको अवलोकनपछि वडा नं। २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको थियो । त्यस क्रममा वडाध्यक्ष खड्गीले, रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए।

त्यस क्रममा खड्गीले, वडा कार्यालय भवन साँघुरो भएकोले स्थानान्तरण गर्नु पर्ने, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न केन्द्रबाट सहयोग गर्नु पर्ने, वडा र केन्द्रका पूर्वाधार निर्माणका काममा समन्वय बढाउनु पर्नेमा जोड दिँदै स्थानीय पूर्वाधार निर्माणका विषयमा जानकारी गराएका थिए ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले स्वास्थ्य विभागका प्रमुख दिपक के।सी। लाई फोन सम्पर्क गरेर आउँदो ७ दिनभित्र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्न निर्देशन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *