नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित (भिडिओ) – Nepal Press

नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित (भिडिओ)

काठमाडौं । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चारवटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

निगमको न्यारोबडी बुधबार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरु रद्ध हुँदा यात्रुहरु प्रभावित बन्न पुगेका हुन् ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका ४ जहाजमध्ये ३ जहाज ‘ग्राउण्डेड’ भएका छन् । न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो ।

न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरुलाई दिनभर र्‍याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रबन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

उनले निगमले हङकङ उड्ने र आउने दुवैतर्फका यात्रुलाई निगमले अलपत्र नपारेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार होटलमा व्यवस्थापन गरिएको बताउनु भयो । उहाँले अन्य विदेशी जहाजको टिकट काटेर यात्रुहरुलाई गन्तव्यमा पु¥याउने काम गरेको बताए ।

उनले भने, ‘जहाज फेरि ग्राउण्डेड हुँदा केही समस्या परेको छ । तर यात्रुहरुलाई निगमले अलपत्र बनाउने काम गरेको छैन । जिम्मेवार अन्तर्राष्ट्रिय एयरलाइन्सको मूल्य मान्यता हुन्छ । यात्रुहरुलाई होटलमा बासको व्यवस्था गरी अन्य वायुसेवाबाट उडानको व्यवस्था गरी गन्तव्यमा पु¥याउने काम गरिरहेका छौं ।’

प्रवक्ता पौडेललकाअनुसार अन्तर्राष्ट्रिय नियमअनुसार विदेशमा अलपत्र पर्ने यात्रुलाई पाँचतारे होटलमा राख्नैपर्ने व्यवस्थाअनुसार निगमले नियमअनुसार यात्रुहरुलाई होटलमा राखेको उल्लेख गर्नुभयो । यसरी निगमले अन्तिम समयमा उडान रद्ध हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुहरुको व्यवस्थापन र टिकटमा मंगलवारको उडानबाट एक करोड रुपैयाँ गुमाउन पुगेको छ ।

निगमका प्रवक्ता पौडेलकाअनुसार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई–दुई वटा रहेका छन् । तर एउटा वाइडबडी विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ । प्रवक्ता पौडेलले अलपत्र नभई सम्पूर्ण जाँच सकेर अगस्ट महिनामा नेपालमा ल्याउने तयारी रहेको उल्लेख गरे ।

उनले अर्को वाइडबडी ‘सी–चेक’ कै लागि बुधवार बेलुकी इटाली पठाउने तयारीमा रहेको जानकारी दिए । यता आन्तरिक उडानमा रहेका निगममा दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको छ । आन्तरिक उडान गर्ने एउटा ‘ट्विनअटर’ जहाज लामो समयदेखि बिग्रिएर बसेको छ । निगमले अहिलेको जहाज ग्राउण्डेडको समस्या अल्पसमयको लागि भएको भन्दै निगमले छिटै जहाजको व्यवस्थापन गरी नियमित उडान गर्ने उल्लेख गरे ।

प्रवक्ता पौडेलले भन्नुभयो,‘नेपाल वायुुसेवा निगमका दुई वटा वाइडबडी ३३०,दुई वटा २२० न्यारोबडी जहाज,दुई वटा ट्विनअटर जहाज सञ्चालनमा रहेको अवस्था हो । चार जहाजमध्ये नाइनएन एएल जेड जहाज आज दुबई हुँदै इटालीमा मर्मतको लागि जाँदैछ । निगमको एएलवाई जहाज इटलीमा नै मर्मत भइरहेको छ । उक्त जहाज अगस्टभित्र नै आउने गरी काम भइरहेको छ ।’

निगमकाअनुसार न्यारोवडी जहाजमा देखिएको समस्या अल्पकालीन रहेको भन्दै एक/दुई दिनभित्र समाधान हुनेछ । निगमका प्रवक्ता पौडेलले अन्य अन्तर्राष्ट्रिय उडानहरुमा पनि जहाज ग्राउण्डेड हुने समस्या भएपनि धेरै जहाज हुँदा उडान प्रभावित नहुने गरेको बताए ।

उनले धेरै जहाज भएका कम्पनीमा एक दुई वटा जहाजमा समस्या आउँदा कुनै समस्या पर्दैन तर वायुसेवा निगमसँग जहाजको कमीको कारण समस्या आएको बताए । उनले निगममा आएको समस्याको मुल जरो निगमसँग जहाज कमी भएको बताए । उनले धेरै जहाज भएको भए समस्या सतहमा आउने नहुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर