सुदूरपश्चिममा पनि उठ्यो प्रचण्डमाथि नेतृत्व परिवर्तनको प्रश्न, पार्टीको संकटदेखि दलको नेतासम्मको बहस – Nepal Press

सुदूरपश्चिममा पनि उठ्यो प्रचण्डमाथि नेतृत्व परिवर्तनको प्रश्न, पार्टीको संकटदेखि दलको नेतासम्मको बहस

कैलाली । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिममा पनि नेतृत्व परिवर्तनको बहस सुन्नु परेको छ । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी पुगेका उनलाई केही केन्द्रीय सदस्यहरूले नेतृत्व परिवर्तनको बहस सुरु गर्नु पर्ने बताए ।

आज २५ जनाले आफ्नो धारणा राखेका थिए । तीमध्ये अधिकांशले अहिले प्रचण्डकै नीति र नेतृत्वको आवश्यकता रहेको बताए पनि केही केन्द्रीय सदस्यहरूले पार्टी निर्माणको लागि नेतृत्व परिवर्तनको बहसमा छलफल गर्नु पर्ने बताएका थिए । आज पार्टी कमजोर हुनुको कारणबारे पनि खोजी हुनुपर्ने नेताहरूले बताए ।

माओवादी कमजोर आस्थामा पुग्दै गएको हुँदा अहिले नेतृत्व परिवर्तनको बहस उपयुक्त रहेको टेकेन्द्र भट्टले बताएका थिए । त्यस्तै दीपक साउदले पनि उपमहासचिव जनार्दन शर्माले उठाएको विषय उपयुक्त रहेको टिप्पणी गरेका थिए । मञ्जु बमले पनि त्यस्तै धारणा व्यक्त गरेकी थिइन् ।

‘सीमित व्यक्ति र समूहले लाभ लिन थाले नेतृत्व परिवर्तनको बहस सुरु गर्ने कुरा नराम्रो होइन’, उनले भनिन् ।

आज १२ बजेपछि परामर्श बैठक सुरु भएको थियो । आज सबैले बोल्न नपाएपछि भोली बिहान ८ बजेदेखि बैठक आह्वान गरिएको छ। आज सुदूरपश्चिम प्रदेश संसदीय दलको विषय पनि उठेको थियो माओवादी सांसद शिवसिंह ओलीले केन्द्रको निर्देशन पनि प्रदेशमा कार्यान्वयन भएको टिप्पणी गरेका थिए ।

असार १२ गते अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता खगराज भट्टलाई बनाउनु भन्दै लिखित निर्देशन दिएका थिए । तर निर्देशन दिएको २ महिनासम्म पनि निर्देशन कार्यान्वयन नभएको भन्दै उनले बताएका थिए ।

संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाइएका थिए । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सुदूरपश्चिम प्रदेशमा गरेको लिखित सर्कुलर पनि दुई महिनासम्म पनि अलपत्र परेको छ ।

सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले आफू प्रक्रिया पुरा गरेर दलको नेता बनेको बताएका थिए ।भोली प्रचण्डले आफ्नो सम्बोधनका क्रममा संसदीय दलको समस्या हल गर्ने बताइएको छ । आज र भोली सहभागीहरूले आफ्नो धारणा राखेपछि नेतृत्वले त्यस विषयमा जवाफ दिने छन् ।

परामर्श बैठकमा दाहाल सहित बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू सहभागी छन् । उनीहरु सबैले भोलि जवाफ दिने छन् ।

 


प्रतिक्रिया

One thought on “सुदूरपश्चिममा पनि उठ्यो प्रचण्डमाथि नेतृत्व परिवर्तनको प्रश्न, पार्टीको संकटदेखि दलको नेतासम्मको बहस

  1. प्रचण्डलाई हटाउ अब । काम छैन यिनको । विदेशीको दलाली गरेर खान दिनु हुँदैन अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर