अहिलेको तीज गीत हेरेर मैले छोरीलाई के सिकाउने ? – Nepal Press
ब्लग

अहिलेको तीज गीत हेरेर मैले छोरीलाई के सिकाउने ?

मलाई चाडहरुमा तीज पन पर्थ्यो । किनकि मेरी आमाको अति मनपर्ने चाड थियो तीज । दशैंतिहारमा पारिवारिक दायित्व बढी हुने भएर पनि होला आमा तीजमा अलि बढी रमाउनुहुन्थ्यो । आमालाई मनपर्ने चाड भएर होला दशैंमा आमाको हातको टीका थाप्न कोहलपुर जान नपाए पनि आमा रहुञ्जेल तीजमा भने म माइत जान्थें ।

कोहलपुरको छोरी विवाह भएर झापा पुगेपछि दशैंमा घर र माइत दुवैतर्फको टीका लगाउने अवसर पाउँदिनथें मैले । त्यसैले तीजमा भने सधैं आमाकहाँ पुग्ने गर्थें । छोरी आउँछे भनेर आमा दरका लागि केही दिन अघिबाटै तयारी गर्नुहुन्थ्यो । गावा, तामा, काँक्रोको अचार जोहो गर्न आमा केही दिन अघिबाटै लाग्नुहुन्थ्यो ।

कोहलपुरमा विशेषगरी कृष्ण जन्माष्टमीबाट तीज सुरु हुन्थ्यो । साँझ सबैको घरमा खाना खाएपछि टोल छिमेकका महिलाहरु एउटाको घरमा जम्मा भएर तीजका भाका निकाल्थे । कर्णबहादुर थापा, अमृत तेल मिल, गोपाल बस्यालका घरमा पालो गर्दै मध्यरातसम्म मौलिक तीज गीत घन्कन्थे ।

अहिले मेरी आमा पनि हुनुहुन्न । अनि कोहलपुरमा त्यो मौलिकता पनि छैन । मौलिक तीज गीतका ठाउँमा युट्युबबाट सार्वजनिक हुने आधुनिक गीतले तीजलाई छपक्क छोपेको छ । कोहलपुरमा अहिले ती घरहरुमा पनि तीजको जमघट हुन छोड्यो । अहिले पार्टी प्यालेस र होटलहरुमा पुगेको छ तीज । कृष्ण जन्माष्टमीबाट गाउँघरमा लाग्ने तीज अब पार्टी प्यालेसमा हुने दरमा सीमित भएको छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसमा दर खाँदै सर्जकले सार्वजनिक गरेका गीत बजाएर नाच्ने र रमाइलो गर्न थालिएको छ ।

कृष्ण जन्माष्टमीबाट गाउँघरमा लाग्ने तीज अब पार्टी प्यालेसमा हुने दरमा सीमित भएको छ । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसमा दर खाँदै सर्जकले सार्वजनिक गरेका गीत बजाएर नाच्ने र रमाइलो गर्न थालिएको छ ।

तीजको दिन गाउँ-टोलका महिला एक ठाउँमा जम्मा भएर मादल बजाउँदै स्थानीय भाकामा छमछमी नाच्दा घाँसे मैदान माडिन्थ्यो । त्यो परम्परा हराएको छ । आसपासका गाउँबाट भेला भएर तीजको मेला हुने ठाउँमा ठूल्ठूला भवन बनेका छन् । सडक छेउमा आजभोलि स्टेज बनाएर औपचारिक कार्यक्रम हुने गर्छन्, जसले तीजको प्यास मेटाउँदैन । केवल औपचारिकतामा मात्र सीमित भएको छ तीज । हाम्रो गाउँमा मात्र होइन, देशभरि नै तीजको रौनक र मौलिकता हराएको छ ।

समय परिवर्तनशील छ । समयसँगै आएको परिवर्तनलाई स्वीकार गर्नु हाम्रो बाध्यता हो । समयसँगै प्राविधिक भएको तीजसँग म पनि अभ्यस्त हुन थालेको थिएँ । घरमै युट्युब, टिकटकमा तीजका गीत खोज्दै सुन्न मलाई निकै रमाइलो लाग्छ । अघिल्लो वर्ष ‘चोली पुरानै, साडी पुरानै… कल्ले देख्यो’, ‘अरेली काँडैले’, ‘लाहुरे दाइको टुम्लेटमा पानी’ लगायतका तीजका गीत युट्युबमा खूब हेरें । केही तीजका गीतमा टिकटक पनि बनाएँ । ‘तीजको रहर आयो बरिलै’ भन्ने गीत त सदाबहार नै हो ।

तर यो वर्ष मलाई तीज आएन । कृष्ण जन्माष्टमी गैसक्यो, बजार तीजका पहिरनले भरिएका छन्, तर निकै मनपर्ने चाड तीजमा मैले यो वर्ष टीभीमा गीत हेर्न सकेकी छैन । यो वर्ष टिकटक पनि बनाइनँ । पछिल्लो समय प्राविधिक हुँदै गएको तीज यो वर्षदेखि भने उच्छृंखल भयो । घरमा १० वर्षकी छोरी छ, उसका अगाडि म तीजका गीत हेर्न नसक्ने भएँ ।

तीज गीतको मर्म भनेको महिलालाई केन्द्रमा राखेर महिलाद्वारा गाइने गीत हो । महिलाले भोगेका पीडा, समस्या, वेदनालाई तीज गीतमार्फत अभिव्यक्त गर्ने परम्परागत शैली हो, तर अब तीजका गीतहरु सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसकिने गरी विकृत भएको र कलाकारहरुसमेत व्यापारिक बनेका छन् । तीज आउनु तीन महिना अघिदेखि नै युट्युबमा गीतका भिडियो सार्वजनिक हुन्छन्, तर ती गीतहरु तीजको मौलिकता जोगाउनेभन्दा पनि भ्युज कमाउने उद्देश्यबाट प्रेरित छन् ।

सडक छेउमा आजभोलि स्टेज बनाएर औपचारिक कार्यक्रम हुने गर्छन्, जसले तीजको प्यास मेटाउँदैन । केवल औपचारिकतामा मात्र सीमित भएको छ तीज । हाम्रो गाउँमा मात्र होइन, देशभरि नै तीजको रौनक र मौलिकता हराएको छ ।

यो वर्ष तीजको अवसरमा सार्वजनिक भएका गीत ‘मायाको पोको चोखो छ चोखो बिहे अघि दिन्न म लरीलरी लै’, ‘रननन रन्काउँदै ए होई मादलु घन्काउँदै’, ‘हेर्नीले हेर्छ मलाई सुन्नेले सुन्छ’, ‘टिकटकमा भाइरल भा हल्लाएरै हो’, ‘चियर्स बियर’लगायतका गीतहरु सार्वजनिक भए ।

छाडा, अश्लील र द्विअर्थी शब्द भएका यस्ता गीत मोबाइलमा अचानक बज्यो भने पनि सार्वजनिक स्थानमा लज्जित हुनुपर्ने अवस्था भएपछि कसरी छोरीका अगाडि गीत हेर्दै रमाइलो गर्नु ? नयाँ कलाकारमात्र होइन, स्थापित कलाकारहरु पनि भाइरल र भ्युजका पछि कुद्दा तीजको मौलिकता छाडापनमा परिवर्तन भएको छ ।

त्यसो त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तीज पर्वलाई मर्यादित बनाउन र पर्वको मौलिकता झल्काउने गीत प्रस्तुत गर्न कलाकारहरुलाई सार्वजनिक आग्रह गर्दै आएको छ । संस्थाका अध्यक्ष रीता थापा मगरले यस्ता गीतहरुको निगरानी गरेर कलाकारसँग स्पष्टीकरण सोध्ने गरेको बताए पनि छाडा गीत सार्वजनिक हुने प्रक्रिया भने रोकिएको छैन ।

कलाकारिताको क्षेत्रमा स्थापितहरुले नै अपाच्य गीत गाउन थालेपछि प्रतिष्ठानलाई पनि अप्ठेरो परेको छ । अपाच्य गीत र अश्लील भिडियो भएका गीतका सर्जकलाई गीत सच्याउन र भिडियो हटाउन प्रतिष्ठानले आग्रह गरेको भए पनि फेरि उनै कलाकारले उस्तै प्रकृतिका गीत सार्वजनिक गर्न भने छोडेका छैनन् । ‘विस्तराले पोल्यो’ भन्ने गीतले अश्लीलता फैलाएको भन्दै चौतर्फी आलोचना भएकै बेला सोही टीमले फेरि त्यस्तै प्रकृतिको अर्को गीत ‘जवानीले पोल्यो’ सार्वजनिक गर्‍यो ।

यस्ता गीतहरुमा तीज आयो भन्दै कसरी नाच्ने ? यो वर्षको तीजमा सधैं झैं विष्णु माझीको गीत सार्वजनिक भएपछि मात्र तीज आए जस्तो भयो । उनको गीत सार्वजनिक भएपछि भने सामाजिक सञ्जालहरुमा एक प्रकारको तरंग उत्पन्न भयो । गीत सार्वजनिक भएपछि लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष थापा मगरले एक उदाहरणीय कृतिले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा त्राण दिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइन् ।

समय र समाज परिवर्तनसँगै तीजका गीतमा नयाँपन देखिनुलाई स्वाभाविक मान्न सकिएला, तर नयाँपनको नाममा विकृति फैलाएर संस्कृतिमाथि हमला गर्ने अधिकार भने कसैलाई छैन ।

भाइरल हुन र युट्युबमा भ्युज कमाउन अश्लीलता पस्कँदै गीतमा द्विअर्थी शब्द राख्नेहरुले मौलिकताको शक्ति कति हुन्छ भन्ने कुरा विष्णु माझीको गीत हेर्न सुझाव दिनुपर्ने देखियो । लोक दोहोरी प्रतिष्ठानका अनुसार माझीको गीत सार्वजनिक हुनुअघि बजारमा तीज गीतको ३०० भिडियो सार्वजनिक भएका थिए, तर मौलिकता पस्किएको गीत सार्वजनिक हुनासाथ सबैलाई पछाडि पारिदियो ।

तीज गीतमा अश्लीलताले पराकाष्ठा नाघेपछि यो वर्ष तीज भड्किलो भयो भन्दै संसदमा समेत प्रश्न उठाइयो । राष्ट्रियसभाका सांसद पदमबहादुर परियारले पछिल्लो पटक सार्वजनिक भएका गीतले समाजमा गलत असर पार्ने भन्दै यस्ता गीत नियन्त्रण गर्नुपर्ने माग गरे ।

समय र समाज परिवर्तनसँगै तीजका गीतमा नयाँपन देखिनुलाई स्वाभाविक मान्न सकिएला, तर नयाँपनको नाममा विकृति फैलाएर संस्कृतिमाथि हमला गर्ने अधिकार भने कसैलाई छैन । मेरो १० वर्षकी छोरीलाई अहिले सार्वजनिक भएका तीज गीत देखाएर मैले तीजको मौलिकता, परम्परा र संस्कृतिका बारेमा के भन्ने, के सिकाउने ? उसको तीजको मौलिकताबारेको जिज्ञासालाई कसरी जवाफ दिने ?

त्यसैले तीजको मौलिकता जोगाउन, यसको धार्मिक सांस्कृतिक महत्वलाई बचाइराख्न हाम्रो पुस्ता सचेत रहन आवश्यक छ । हामीले तीजका बारेमा गलत भाष्य निर्माण गरिदिँदा हाम्रा सन्ततिले पनि त्यसैलाई अनुशरण गर्नेछन् ।

लोक संस्कृतिमा लागेका सर्जकहरुले गल्ती गरेर समाजमा गलत असर गर्ने सिर्जना सार्वजनिक गरे पनि दर्शक/स्रोताले पनि खबरदारी गर्नु आवश्यक छ । हामी दर्शक, स्रोता, सञ्चारमाध्यम र सर्जकले विकृति फैलाउने खालका गीतमा रोक लगाउने र प्रोत्साहन नगर्ने हो भने केही हदसम्म गीत/संगीतको विकृति हट्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *