गोसाईंकुण्ड दिव्यादि दिव्य, भव्याति भव्य, सभ्याति सभ्य – Nepal Press
नियात्रा

गोसाईंकुण्ड दिव्यादि दिव्य, भव्याति भव्य, सभ्याति सभ्य

२०८१ भदाै ८,

यो कुनै महान ऐतिहासिक दिन हैन । इतिहासको लागि ऐतिहासिक दिन नभएको दिन पनि सामान्य व्यक्तिको लागि भव्याति भव्य, सभ्याति सभ्य, देव्याति देव्य र ऐतिहासिक हुन्छ । देखिएका इतिहासका घटनाभन्दा सामान्य व्यक्तिका लागि घटेको सामान्य घटना निजत्वमा ऐतिहासिक हुन्छ ।

हो, यस्तै कुरा लेख्दैछु । ममात्रै पहिलो पल्ट गएको पनि हैन र मेरोमात्रै अन्तिम पल्ट पनि यो हैन । यो मितिमा पहिलो पल्ट गोसाईंकुण्ड मैले पाइलो राखेको दिन हो । गोसाईंकुण्ड लाखौं मान्छे लाखौं पल्ट गए होलान् । लाखौंलाख मान्छे जान बाँकी होलान् । हजारौं लेख निक्ले होलान् । यो लेख ती जान बाँकी मान्छे र गएका मान्छेको लागि हो ।

रसुवाको धुन्चेसम्म आफ्नै गाडीमा गएँ । साथमा थियो उही ट्राभलर अशोक । नुवाकोटबाट धुन्चेसम्मको बाटो हेर्दा लाग्थ्यो, म सातौं शताब्दीको बाटोमा गाडी चलाइरहेछु । धेरै मान्छे पहिरोले पुरेर मरे यो बाटोमा । तैपनि बाटो उस्तै र उत्रै थियो । पहिरोबाट बगेको ढुंगाले गाडी थिच्ला भन्दै गाडी कुदायौं । अशोक मुन्टो निकालेर बाहिर हेर्ने म गाडी चलाउने ! फेरि पानी र बादल एकै पल्ट भएर गाडी त पाँचको स्पीडमा हिँड्नुपर्ने ! राम्चे सुनेको थिएँ । पूर्व कर्साब ज्ञानजंग थापाले भन्नुभएथ्यो- ‘गोसाईंकुण्ड त जाने भन्नुभयो , राम्चेको पहिरोमा होस गर्नु नि !’

कर्साबलाई भन्छु- ‘राम्चे त बजार भइसकेछ ।’

सायद खाजा-खाना पहिरोले रोकिएकालाई खुवाउँदा खुवाउँदै बजार बन्यो । अहिले राम्रै रैछ राम्चेलाई कर्साब !

०००

टोखा, छहरे, वर्षाले सडकै रातो हुनेगरी बगेको खहरे, नुवाकोट, कालिका, राम्चे, ग्राङ, ठाडे, सोले हुँदै धुन्चे साढे चार घन्टामा पुगियो । बाटोमा हरियो धान, वर्षाले बढेको नदी, केरुङबाट आउँदै गरेको ईभी भ्यान, बीवाईडी गाडीको लस्कर देखियो । एकै दिन यत्रा गाडी कसले चढ्ने होला भनेर चिन्तन पनि गरियो नेपाली अर्थतन्त्रको ।

समग्रमा धेरै पैसा नलाग्ने र रमाइलो हुने पर्यटकीय रुट रहेछ गोसाईंकुण्ड । केही परेमा आपतकालीन नम्बर भनेर दिएको छ । त्यसमा फोन गरे मद्दत मिलिहाल्छ ।

मान्छे नै सबैभन्दा सहृदयी प्राणी हो र क्रूर पनि । सहृदयी मान्छे भेट्दा क्या मज्जा हुन्छ ! यस्तै मान्छे भेटियो धुन्चेमा, रसुवाका वरिष्ठ पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने । हामीले ट्रेकिङ लट्ठी ल्याउन भुलेछौं । उहाँले दुई जनासँग मागेर हामीलाई दिनुभयो । हिमालय स्प्रिङ वाटरमा गाडी राख्न पाए आउँदा बाटो छोटो पर्थ्यो भनेको, त्यो पनि मिलाइदिनु भयो । उहाँ कवि पनि हुनुहुँदो रहेछ । गाडी राखेर बाहिरिएपछि उहाँले कवितामा गोसाईंकुण्ड गाउनुभयो ।

समस्या
स्वाश भनौं प्राणवायु अथवा पुग्दैन अक्सिजन
स्वाँस्वाँ हुन्छ त्यसै हुँदा बुझ कुरा वाकवाकी लागिकन
वान्ता हुन्छ कि लाग्छ धेर रिंगटा बेस्कन दुःखी टाउको ।
ग्लेनी बन्छ शरीरमा बलगति बन्दा बिरामी छिटो

उपचार
रित्तो पेट नराख्नु छिनछिनै खानु रुचेको जति
लागे चक्कर केही लिएर हरियो सुध्नु सफा कागती
वीरेनुन मरिच ज्वाँनु अदुवा अथवा पाचक
खानु पेट दुःखे कि त लसुन नै चपाउनु बेस छ

छन्द नमिले पनि मन मिलेको उहाँको बोली सम्झँदै माथि लाग्यौं । सबैभन्दा पहिला आयो घट्टेखोला, जसलाई सानो गोसाईंकुण्ड भनिँदो रहेछ । कलकल आवाज, दूध जस्तै खोला र सानो महादेवको मन्दिर, छेउमै पसलहरू । गेटमै नक्सा थियो । नक्साले अत्यायो । बाटोमा मान्छे अत्याउने भेटिएकै थिए । उनीहरूले भन्थे । उक्लिएको उक्लियै । उक्लिएको उक्लियै । पहाड कट्यो, अझै आउँदैन । जति पहाड चढ्यो त्योभन्दा अर्काे पहाड आउँछ । नक्साले पनि तेर्सो देखाएन । धुन्चेबाट घट्टेखोला ४५ मिनेट । घट्टेखोलाबाट खेन्दी एक घन्टा । त्यहाँबाट देउराली दुई घन्टा । त्यहाँबाट धिम्सा डेढ घन्टा, अनि चन्दनबारी एक घन्टा ।

चन्दनबारी पुग्दा धुन्चेको २००० मिटरबाट ३२५० हाइट हुनेरहेछ । चन्दनबारीबाट दुई घन्टा हिँडेपछि चोलाङपाटी । त्यहाँबाट दुई घन्टा हिँडेपछि लौरीबिना, अनि बुद्ध मन्दिर एक घन्टा हुँदै गोसाईंकुण्ड पुग्न लौरीबिनाबाट साढे दुई घन्टा र ४३८० मिटर । हरेक स्टेशनमा खाजा र खानाको मूल्य फरक थियो । घट्टेखोलामा चियाको २५ पर्थ्यो भने गोसाईंकुण्ड पुग्दा ८० रुपैयाँ । भात खाएको र सुतेको ५७५ सुरुमा थियो भने गोसाईंकुण्डमा १ हजार ६०० रुपैयाँ । समग्रमा धेरै पैसा नलाग्ने र रमाइलो हुने पर्यटकीय रुट रहेछ गोसाईंकुण्ड । केही परेमा आपतकालीन नम्बर भनेर दिएको छ । त्यसमा फोन गरे मद्दत मिलिहाल्छ ।

आफ्नै सास हेर्दै स्वाँ स्वाँ गर्दै आफैंलाई हेर्दै हिँड्दै गयौं । लौरीबिना त साँच्चै लौरीबिना हिँड्नै नसक्ने रहेछ । म त हिँड्नै सकिनँ । मार्दी, पुनहिल र पाथीभराको त्यत्रो उकालो एकै छिनमा चढेको मलाई त निकै गाह्रो भयो । ममात्रै हैन, सबैलाई गाह्रो हुँदोरहेछ ।

०००

हिँडन गएको हिँड्नै पर्‍यो । घट्टेखोलाबाट अगाडि बढ्नेबित्तिकै सेतो दूध जस्तो नदीको कञ्चन पवित्रता देखियो । आँखा र जिउँलाई एकै पल्ट आनन्द आयो । ककराको बाटोबाट हिँड्दै काठे पुल तर्दै, झोलुङ्गे पुलमा हल्लिँदै, त्यो पुलमा राखिएको प्रेयर फ्ल्यागको रंगसँग रंगिदै उक्लियो खेन्दी ।

काठमाडौंबाट हिँडेर कालिकास्थान भन्दा तलै खाएको माम विस्तारै पेटमा मर्दै थियो । खेन्दीमा केहीबेर सुस्ताउँदै चढियो देउराली । दुई घन्टाको उकालो चढेपछि भोक लाग्यो । खाजा रोटी, तरकारी र चिया खाइयो । यहाँको पैसाको निर्धारण गरेर बोर्डमै टाँसिएको थियो । सुतेको, बसेको र खाएको जति माथि स्टेशन चढ्दै जान्छ, उत्ति महँगो ।

बाटोमा भेटिएका यात्राका अपरिचितसँगको मधुर मुस्कान र मीठो आवाजले पनि हिँडाइमा मज्जा आएको थियो । अब कति लाग्छ फलानो ठाउँ पुग्न ? जाने र आउनेको एकै प्रश्न थियो । त्यसपछि हामी नेपाली न पर्‍यौं- तपाईं कहाँदेखि ? के के गर्नुहुन्छ ? सात पुस्तै भ्याएसम्म सोध्ने र हाँस्दै भन्ने यात्रा वार्ताले यायावर झैं लाग्दै थियो । वर्षा ऋतु न पर्‍यो । आकाश एकैछिनमा धुम्मिने र पानी पर्ने भैहाल्छ । यसो रोकिएर एक कप चिया खाँदाखाँदै दर्के पानी परिगो । रेनकोट नाम मात्रका हुन्छन् । तैपनि लगाउनै पर्‍यो । धिम्सा पुग्दा रेनकोटबाट पानी छिरेर लुगा भिजेछ । लुगा सुकाउँदै त्यही बस्ने निधो गरियो ।

थाकेको शरीर खाना खाएर एकै छिनमा निदाइयो । भोलि बिहान चिया खाजा खान चन्दनबारी जाने भनेर सात बजेतिर हिँडियो । थाके बस्ने, भोक लागे खाने हाम्रो अलिखित आचारसंहिता थियो । चन्दनबारीमा खाजा खाइएन । चोलाङपाटी गएर चौरीको दूध होटल तिब्बतमा खाइयो । लौरीबिनाले अत्याइरहेको थियो । एक छिन बसेर सिमसिम पानीमा रेनकोट लगाउँदै हिँडियो लौरीबिना, एकै पल्ट खाना खाने भन्दै । हेर्दाहेर्दै लौरीबिना आइहाल्यो । सकेसम्म लौरीबिनाको टुप्पोमा खाना खाऔं, अलिकति भए पनि बाटो छोटिन्छ भन्ने लाग्यो । माया होटल एन्ड लजमा खाना खाँदै कुरा गरियो । ग्याल्जेन लामा सञ्चालक रहेछन् । भन्दै थिए- ‘यो एरियाकै पहिलो होटल हो यो, सन् १९८५ मा मेरो बाबाले चियाको ३० रुपैयाँ हुँदा विदेशीले ३० डलर दिँदा लिनु भएनछ, नेपाली नै दिनुस् भन्नुभएथ्यो रे !’

कथा सुन्दै भात खाँदै मज्जा आयो । यताको टमाटर जस्तो उताको कुन्नि के नाम बिर्सेको अचारको स्वाद अहिले पनि जिब्रोमा बसिरहेछ । हामी त यात्री थियौं, हिँड्नु थियो । खाना खाएपछि एकछिन बसेर हिँड्यौं ।

०००

आफ्नै सास हेर्दै स्वाँ स्वाँ गर्दै आफैंलाई हेर्दै हिँड्दै गयौं । लौरीबिना त साँच्चै लौरीबिना हिँड्नै नसक्ने रहेछ । म त हिँड्नै सकिनँ । मार्दी, पुनहिल र पाथीभराको त्यत्रो उकालो एकै छिनमा चढेको मलाई त निकै गाह्रो भयो । ममात्रै हैन, सबैलाई गाह्रो हुँदोरहेछ । फेरि मनोविज्ञान पनि कस्तो भने आफ्नो साथी अगाडि लाग्यो भने आफूलाई झनै थिचे झैं हुने, अगाडि बढ्नै नसक्ने । मलाई त एकदमै गाह्रो भए झैं भयो । लेक लाग्छ भनेको थिएँ । लेक नलाग्ने औषधि खाना खाँदै खाएको थिएँ । चिसो हावा चलेको छ । बादलले ढपक्कै ढाकेर त्यो चिसोले थिचेर सासै फेर्न गाह्रो भयो । बादलको चिसो, बादलकै सास फेर्दा र ठाडो उकालो हिँड्दा मलाई त एकदमै गाह्रो भए झैं भयो । अगाडि आउने मान्छेले लौ अदुवा चपाउँदै जानुस् भनेर दिनुभयो । चपाएँ । पेटले हैन, खुट्टाले हिँड्नु पर्ने, खुट्टा अगाडि सार्नै मान्दैन । पछाडि जान पाए हुन्थ्यो झैं गर्छ । दश पाइला पछि रोकिँदै हिँड्दै गरें । एक जना स्वयम्भूको युवा भाइ लगभग २३ वर्षका भेटिए । ‘दाइ म त जान्न, यति गाह्रो त जीवनमा भएको थिएन, फर्कें म’ भन्दै थिए । उक्लँदै उक्लेनन् ।

उकालो र ओरालो आफू उभिएकै ठाउँमा हुन्छ । उक्लँदै गरेकोले कति लाग्छ भनेर ओरालो ओर्लंदै गरेकोलाई सोध्छ । राम्रै मान्छे छ भने त ठीकै छ, नत्र अब यति घन्टा लाग्छ भनिदिन्छ, मान्छे लत्रक्कै पर्छ । तैपनि जे त होस् भनेर हिँड्न त हिँडिहाल्छ ।

आफूलाई कुन बेला बौद्ध गुम्बा आउला र त्यसपछि तेस्रो बाटो आउँछ भनेका छन्, अनि हिँडौला भैरहेको थियो । विस्तारै बिरालाको चालमा हिँड्दै रोकिँदै, रोकिँदै हिँड्दै गरेर उकालो चढें ।

बादलले लौरीबिनामा मान्छे नदेखेर ए फलानु भनेर बोलाउनुपर्ने ! केही कहीँ देखिँदैन । बादलको लुकामारीमा आफैं बादलमा लुकियो । भात खाएर गाह्रो भयो मलाई भनेर भन्दैथ्यो एक जना । एक जना नखाएर गाह्रो भयो भन्छ । हावाको आवाज नै अर्कै । कानै चिसो हुने ! मुखमा र हातमा बादलले ल्याएको बाष्प पारिदिन्छ । चिसो हुन्छ, भिजे झैं हुन्छ । लौरीबिना बन्जर छ । कहीँ केही बस्ने ठाउँ नै छैन । पानी परेपछि त झनै हिँड्नै सकिँदैन ।

उकालो र ओरालो आफू उभिएकै ठाउँमा हुन्छ । उक्लँदै गरेकोले कति लाग्छ भनेर ओरालो ओर्लंदै गरेकोलाई सोध्छ । राम्रै मान्छे छ भने त ठीकै छ, नत्र अब यति घन्टा लाग्छ भनिदिन्छ, मान्छे लत्रक्कै पर्छ । तैपनि जे त होस् भनेर हिँड्न त हिँडिहाल्छ । यस्तै भएको थियो । बल्लतल्ल गुम्बा आयो । एक्साइटेड भएको ठाउँ पुग्दा त सामान्य लाग्यो । गोसाईंकुण्डबाहेक मलाई हरेक डेस्टिनेशन किन हो, यस्तै लागेको थियो । दुईचार घर अनि सकियो त्यो डेस्टिनेशन ।

२०७७ साल असोज महिनामा बुद्ध मन्दिरदेखि गोसाईंकुण्डसम्म २.५८ किमि रेलिङ बनाएको रहेछ कालीबक्स गणले । धन्न सेना छ र राष्ट्र छ झैं लाग्यो । सेनामा कीरा नलागोस् भनेर प्रार्थना नै गरें । सुन्दैछु, सेनामा पनि भ्रष्टाचारको कीरा लाग्दैछ रे ! कम्तीमा त्यहाँ त्यस्तो नहोस् भन्ने लागिरह्यो ।

हिँड्न नसक्नेले रेलिङ समाउँदै हिँड्दै थिए । बल्ल बुद्ध मन्दिर आयो । मज्जाले भिडियो बनाएँ । अलि अगाडि गएँ । झरनाहरू देखिँदै थिए । तालहरू देखिए । अलिक फ्रेस भयो । थकाइ बेस्मारी लागेको थियो । यात्रामा अरुले बोलेको मनमात्रै पर्दैन, थाक्दै र भोक लाग्दै आएपछि रिस पनि उठ्छ । यस्तै हुन खोज्दै थियो । साथी पनि निकै अघि थियो । बल्लतल्ल गोसाईंकुण्ड उकालोको क्लाइमेक्स सकेपछि गोसाईंकुण्ड आयो ।

डाँडैडाँडा काट्दै पुगेको गोसाईंकुण्ड अलौकिक लाग्यो । दिव्यादि दीव्य, भव्याति भव्य, सभ्याति सभ्य लाग्यो । शिवको महिमा, नीलो ताल, एक हैन दुई वटा । विशाल पहाड । त्रिशूलबाट बगेको नदी । ठूला हिमाली चराहरू । छोइरहुँ, बसिरहुँ झैं लाग्ने अद्भूत गोसाईंकुण्ड ! जहाँको यात्राले अनेकौं नचिनेका मान्छेहरू चिनिए झैं भयो । गोसाईंकुण्डको मादकताले यो लेख्दा छोइरहेछ । विस्तारै कम हुँदै जाला, तर जीवनभर सम्झिरहने यात्रा शरीरको लागि र दिमागको लागि बनेको छ । सबैको बन्नेछ ।

डाँडैडाँडा काट्दै पुगेको गोसाईंकुण्ड अलौकिक लाग्यो । दिव्यादि दीव्य, भव्याति भव्य, सभ्याति सभ्य लाग्यो । शिवको महिमा, नीलो ताल, एक हैन दुई वटा । विशाल पहाड । त्रिशूलबाट बगेको नदी । ठूला हिमाली चराहरू । छोइरहुँ, बसिरहुँ झैं लाग्ने अद्भूत गोसाईंकुण्ड !

यात्राको क्रममा देखिएका चराको आवाज, सुसाएको खोला, नुहाएका रुखहरू, फूलको सुगन्ध, मान्छे जस्तै रुखहरू, रुख जस्तै मान्छेहरू, हिमाली खाना, सुताइ, चौरीको दूध, लेकका भेंडा, जंगलमै भएका गाईहरू, सेतो दूध जस्तै बगेको खोला, प्रदूषण नभएको नील गगन, भुवादार बादल, दुःखेको खुट्टा, चिसो मौसम, हिमाली कुकुर अनेक दृश्यमा आइरहेका छन् ।

०००

त्रिशूलीको उत्पत्ति त्रिशूल धारामा गएर सुरु हुने रहेछ । महादेवले कालकुट विष सेवन गरी निल्नु न ओकल्नु भएपछि पर्वत फोेरेर तीन वटा त्रिशूल पहरामा हानेपछि जन्मेछ त्रिशूल धारा । त्यही पानीबाट महादेवले शीतल प्राप्त गरेपछि हरेक मनुवा पनि आफ्नो जीवनमा शीतल खोज्दै गोसाईंकुण्ड पुग्छ । पीडामा भएको सिर्जनाबाट गोसाईंकुण्ड, भैरव कुण्ड हुँदै धेरै कुण्ड र झरना हुँदै जन्मिएको हो त्रिशूली र जन्मे धेरै कुरा ।

यो संसार आश्चर्यचकित छ । अप्रत्याशित छ । अचम्मको छ । कहिले को प्रकृतिको यो भव्यतामा कसरी परिचित हुन्छ, त्यो फरक कुरा हो । गोसाईंकुण्ड गएपछि अचम्मै लाग्यो । पहाडमा त्रिशूल खोपिएको छ । मुनिमुनिबाट पानीका तीन धारा आएका छन् । अनि त्यही तीन धारा नै गोसाईंकुण्डलगायतका कुण्ड र अनेकौं खोलाको उत्पत्तिको रुप हो ।

प्रकृतिको त्यो दिव्यता सम्झें । अनि सम्झें आफूलाई र अरुलाई । कालकुट विष पिएर छटपटिएको महादेवबाट यत्रो सिर्जना भयो । हामी कहाँ छौं ? के गरिरहेका छौं ? हाम्रो सिर्जना के छ ? हामी जीवनमा के गरिरहेका छौं ? मलाई गोसाईंकुण्डले धेरै बेर प्रश्न गरिरह्यो ।

त्रिशूल धारामा बिहान जानुअघि तीन वा पाँच चोटि गोसाईंकुण्डमा चोपलिनु पर्ने रहेछ । यस्तो जाडोमा के चोपलिनु लागिरहेको थियो । बोडेबाट आएका कार्की, राई र बुढाथोकी भाइहरूले ‘ह्या दाइ ! कहाँ हुन्छ डुबुल्की मार्नू, हामी छौं’ भनेपछि लौ त भनेर एक डुबुल्की मारेको, करेन्ट लागे झैं भयो । तीन पल्ट डुबुल्की मारेपछि बिहानको जाडो त कहाँ भाग्यो भाग्यो । त्रिशूल धारामा त्रिशूल चढाएर महादेवको मन्दिरमा दर्शन गरेर फेरि अर्काे दिशाबाट गोसाईंकुण्ड हेरें । जति हेर्‍यो, उति आकाश जस्तै नीलो, गहिरो, गहकिलो गहन । असाध्यै सुन्दर ! ठूला पहाड र त्यो बीचको दुई कुण्ड कति मनमोहक, गजबै ठाउँ रहेछ । फेरि ढुंगामै फुलेका फूलहरूले पनि जगमग जगमग पारिरहेका ! फोटो खिच्ने, भिडियो बनाउने ! सारङ्गी, गितार र टुंगाना बजाइयो । संगीत पनि हृदयको तार हो, प्रकृतिको आधार हो । यसमा एकछिन रमाइयो । गीत गाए भाइहरूले । यस्तो रमाइलो लाग्यो कि सम्झना सदैव रहिरहनेछ ।

भर्खरै सकिएको जनै पूर्णिमा मेलामा यसपाला पोहर जस्तो मान्छे आएनन् भनेर होटलवालाहरू भन्दै थिए, तर त्यहाँ गएर हेर्दा गोसाईंकुण्ड मैलदै रहेछ । नुहाएर छाडेका भित्री वस्त्रहरू, चिज बल्स र चकलेटका खोलहरू, पानीका बोतलहरूले गोसाईंकुण्डमा प्रदूषण फैलिएला है भन्दै थियो । बजेट आएपछि आफैं सफा हुन्छ, हामीले गरेर हुँदैन भन्दै थिए होटलवालाहरू ।

गोसाईंकुण्ड मैलदै रहेछ । नुहाएर छाडेका भित्री वस्त्रहरू, चिज बल्स र चकलेटका खोलहरू, पानीका बोतलहरूले गोसाईंकुण्डमा प्रदूषण फैलिएला है भन्दै थियो । बजेट आएपछि आफैं सफा हुन्छ, हामीले गरेर हुँदैन भन्दै थिए होटलवालाहरू ।

अहिले पनि बिजुली सबै ठाउँमा पुगेको छैन गोसाईंकुण्ड एरियामा । कारण ट्रान्सफरमर बोकेर लैजाने मान्छे नभेटेर रे ! छुटाएको तीन लाखमा बोक्नेले एक लाख र बीचको दलालले दुई लाख झ्वाम पारेपछि काम गर्नेलाई दिक्क लागेर बीचमै ‘बरु पैसा चाहिँदैन, यहाँसम्म बोकेको’ पनि भनेर हिँडेछन् । त्यसैले तीन महिनाअघि आउने बिजुलीको लाइन अझै आएको रैनछ । पवित्र ठाउँको अपवित्र कथा सुन्दा नरमाइलो लाग्यो ।

ढुंगामा यसै फुलेका फूलहरूको बुच्का देख्दा ती हामीलाई प्रकृतिले दिएको बुक्की झैं लाग्ने । गोसाईंकुण्ड तिब्बतीहरू चौरी चराउँदै आएर बसेको ठाउँ हो । उनीहरूको संस्कार-संस्कृति तिब्बतसँग मिल्छ । बौद्ध धर्मका बढी भेटिन्छन् । उनीहरू व्यापारमा छन् । उनीहरू गोसाईंकुण्डमा नुहाएर फोहरी नहुने भन्छन् ।

काठमाडौंका नेपालभाषीहरूको लागि सिलु तीर्थ मानिने गोसाईंकुण्डमा नेपालभाषी दम्पती जानै नहुने कथा रहेछ । सर्वाेच्च अदालतको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ आफ्नो श्रीमान उहिल्यै गए पनि आफू अहिलेसम्म नगएको कारण सँगै जान नहुने कथाले हो भन्नुहुन्थ्यो । पति २०३९ सालमै गए पनि सँगै जान नहुने भनेर उहाँको सिलु तीर्थ छुट्यो । छुटेको छुट्यै भइरहेछ ।

एक लोक कथा यस्तो रहेछ (लामो कथालाई छोटोमा)-

नेपालभाषी एउटी नवविवाहित जोडीमा श्रीमान साथीहरूसँग मिलेर गोसाईंकुण्ड जाने भएछन् । यो कुरा थाहा पाएर श्रीमतीले आफू पनि सँगै जाने भन्दै जिद्दी गर्छिन् । श्रीमानले गोसाईंकुण्ड सँगै गए आफूहरू छुट्टिनुपर्ने र ज्योतिष देखाउँदा पनि त्यही भनेको भनेर श्रीमतीलाई बताउँछन्, तर, श्रीमतीले जिद्दी छोड्दैनन् । साथीहरूसँग गोसाईंकुण्ड लागेका श्रीमानलाई थाहै नदिई उनी पछि पछि लाग्छिन् । बीचमा आफ्नो श्रीमतीलाई देखेर श्रीमानले फर्कन धेरै पटक सम्झाउँछन्, आफूहरू छुट्टिनै पर्ने बताउँछन् । तैपनि श्रीमती पछि पछि लाग्दै गोसाईंकुण्डसम्मै पुग्छिन् । गोसाईंकुण्डमा नुहाउने क्रममा राजाले श्रीमतीलाई हरण गरेर लग्छन् र श्रीमान एक्लै घर फर्कन्छन् ।

यही लोक कथाअनुसार नेपालभाषीहरूमा सिलु तीर्थमा दम्पती जानु हुँदैन भन्ने प्रचलन थियो । मैले सम्झें । उतिबेला त कुनै औषधि थिएन, होटल थिएनन् । जानु आउनु, त्यो अनकन्टार बाटोमा बहुत गाह्रो थियो । एक जना गए पनि अर्को परिवारको लागि बाँकी रहन्छ भनेर यो कथा बनेको होला भन्ने लाग्यो । त्यो लोक कथा बनेको सयौं वर्षपछि मेरो मिल्ने साथी वरिष्ठ अधिवक्ता ज्योतिराम फुँयाललगायतलाई १४ वर्षअघि लुटपाट भएको भन्दै थियो । धन्न हामीलाई केही भएन । कथा त्यस्तो भए पनि धेरै दम्पती गएर ओर्लंदै गरेको र जाँदै गरेको भेटें ।

पहाड जाँदा र खोला हेर्दा लाग्छ- कति निश्चल, निर्मल कञ्चन छ । अनि हामी मान्छे कति कञ्चन, निर्मल र निश्चल छौं ? कि नाममात्रै छ ? गोसाईंकुण्डका सानाभन्दा साना कुराले पनि मलाई प्रश्न गरिरहेका छन् ।

०००

अग्ला पहाड र सग्ला नदी हेर्दा देशका भीआईपी र भीभीआईपीहरू पहाडी सेतो कञ्चन नदीको एक अञ्जुली पानी जस्तो र पहाडको एक सानो ढुंगा झैं पनि लागेन । मान्छेहरू धेरै भेट्दै हिँड्दा मान्छेमात्रै हैन, खोला पनि मैलँदो रहेछ । त्रिशूलीको मुहान गोसाईंकुण्ड कति कञ्चन ! मान्छेले मान्छे भेट्दै जाँदा मान्छे मैलिए झैं खोलाले पनि खोला भेट्दै जाँदा खोला मैलँदो रहेछ । दूध जस्तो घट्टेखोला त्रिशूली बनेर माटो र मान्छे बगाउँदै लगेपछि कति फोहरी भयो भन्ने लाग्यो ।

त्यहाँ बसेर धेरै कुरा सम्झिएँ । ‘रात बस्दै नबस्नु’ बाटोमा एक जनाले भन्नुभएको थियो । एक जना अस्ति भर्खर लेक लागेर सुतेको सुत्यै भए । यस्तै सुनिएको थियो । राम्रोभित्रको नराम्रो यही थियो गोसाईंकुण्डको । हिँड्न कठिन, सास फुल्ने चिसो ! हात गोडा आफ्नो हुन् कि अरुका झैं हुने, तातोमा मात्रै बसिरहुँ लाग्ने ! तलको भन्दा पैसा पनि महँगो । तीन वटा होटलमा एकको मात्रै पालो रहेछ । त्यही होटलबाहेक अरुले मान्छे राखे, मारामार पर्ने रहेछ । चिया पनि खुवाउन अरुले मान्दो रहेनछ ।

बसियो रात होटल तिब्बतमा । तातोपानी खाएको खायै, तातोमा बसेको बस्यै गरेर । खाना खाएर सुतियो । राति सिरक तीन वटा खाप्न पर्‍यो । पानी त छुनै नसक्ने, चिसोले लत्रक्कै पार्दाेरहेछ । तीन दिनदेखि घाम लागेको थिएन, पानी परिरहेको छ । केको लागि तपाईं जानुभएको भन्दै थिए । बादलले एकै छिनमा गोसाईंकुण्ड ढपक्कै ढाक्छ भन्दै थिए । ती सब कुरा हावा भए । जब हामीले बेलुका पनि फोटो खिच्यौं । बिहान पनि घाम लाग्यो ।

०००

पहाड जाँदा र खोला हेर्दा लाग्छ- कति निश्चल, निर्मल कञ्चन छ । अनि हामी मान्छे कति कञ्चन, निर्मल र निश्चल छौं ? कि नाममात्रै छ ? गोसाईंकुण्डका सानाभन्दा साना कुराले पनि मलाई प्रश्न गरिरहेका छन् । गोसाई (गृहस्थको रुपमा रहने सन्न्यासी) यो नामका मान्छे जीवनमा धेरै पल्ट भेटेको थिएँ, गोसाईंकुण्ड पहिलो पल्ट । गोसाईंकुण्ड पुगेपछि साँच्चै भव्य, सभ्य, दिव्य र आनन्द लाग्यो ।

प्रकृतिको मनोरम सुरम्यता सुनेर घर फर्कें । प्रविधिमा हेरें- एप्पल फोनले देखायो । भाद्र ७ गते १३,२७७ पाइला । ८ गते १६,९२८ पाइला । ९ गते २०,१९६ पाइला । १० गते १९,७८८ पाइला । घर आएँ । आँखामा फोटोभन्दा बढी बसेको छ गोसाईंकुण्ड । मनको तार वर्षाको सितार झैं बजेको छ । दिमाग ध्यान गरेर फर्के झैं भएको छ । गोसाईंकुण्डमा परेका मेरो पाइला पछ्याउँदै फेरि कहिले जान्छु ? त्यो समयलाई थाहा छ, मलाई थाहा छैन ।


प्रतिक्रिया

2 thoughts on “गोसाईंकुण्ड दिव्यादि दिव्य, भव्याति भव्य, सभ्याति सभ्य

  1. म पनि पुगेको छु ! हजुरका शब्दले भन्दा मन जित्ने दिव्य भव्य छ गोसाइँकुण्डको सेरोफेरो ।कुनै नियात्राले पुग्दैन । यात्रा नै चाहिन्छ । आहा !!

  2. म पनि धेरै पहिला पुगेको थिए । यहाको यो यात्रा वर्णन पढेर आफ्नो यात्रा सम्झेर ताजगी महशुस भयो । रमाइलो लाग्यो सन्स्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *