महिला प्रधानमन्त्रीबारे आरजूको तर्क- मलाई होइन, आफ्नै पार्टीको लागि भन्नुभएको होला – Nepal Press

महिला प्रधानमन्त्रीबारे आरजूको तर्क- मलाई होइन, आफ्नै पार्टीको लागि भन्नुभएको होला

‘आगामी निर्वाचनसम्म गठबन्धन चल्छ, अबको प्रधानमन्त्री देउवा’

कैलाली । कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली केही समय पहिले महिला प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति एमालेकै लागि भनेको बताएकी छन् ।

प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति आफू केन्द्रित नभएको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यूथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुस्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उनले भनेका थिए ।

प्रधानमन्त्रीज्यूले महिला प्रधानमन्त्री बनाउने भन्ने विषय तपाई लक्षित रहेको टिप्पणी भइरहेको छ नि पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो । प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नु पर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो । म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । उहाँको आफ्नै पार्टीको क्याडिडेट भएको जस्तो लाग्छ । हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै जाने समेत बताइन् । उनले २ वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछिको कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति भएको उनले बताइन् ।

उनले मुलुकले पाएको उपलब्धि संस्थागत गर्न कांग्रेस एमालेको सरकार बनाएको देउवाले बताइन् ।

कति जनाले दुई ठुला पार्टी मिल्दा अनौठो मानेका छन् । तर, नेपालमा संकट आउँदा कांग्रेस र एमाले मिलेर सरकार बनाएको इतिहास पनि छ उनले भनिन्, राजनीतिक रूपमा हामीले पाएको उपलब्धि संस्थागत गर्नु पर्छ ।

अस्थिरतताका कारण मुलुक सङ्कटामा परिरहेको भन्दै उनले स्थिरताको लागि दुई ठुला दल मिलेको बताइन् । मन्त्री देउवाले आफ्नो भारत भ्रमणमा पनि सुदूरपश्चिम प्रदेशका विभिन्न विषय उठाएको बताइन् ।

‘गौरिफन्टा नाकाको स्तरोन्नति गर्न भारत सरकार गम्भीर देखिएको छ ’ उनले भनिन्, ‘फाप्ला रङ्गशाला, यहाँका ठुला पुल र झोलुंगे पुल बनाउने विषयमा पनि कुरा भएको छ ।’

नेपाललाई विदेशी मुलुकहरूले पनि सहयोग गर्न चाहेको भन्दै उनले नेपाली पक्षबाटै ढिलाइ भइरहेको बताइन् । इजरायलबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीको खोजी र रिहाइको लागि सरकार लागिरहेको उनले बताइन् ।

‘विपिन जोशीको रिहाइको लागि हामी लागि रहेका छौँ । राजदूतहरू आउँदा मैले सधैँ त्यही कुरा उठाइरहेको छु’ उनले भनिन्, ‘अस्पतालबाट निस्किएको भिडिओ आएको छ उनी जीवित रहेको हामीलाई पनि विश्वास छ हामी खोजी गरी नेपाल ल्याउने गरी पहल गरिरहेका छौँ ।’

देउवाले गेटा मेडिकल कलेजका लागि पर्याप्त बजेट विनियोजन गरेको समेत उनको भनाइ थियो । गौरा मनाउन हिजो धनगढी पुगेकी देउवा आज काठमाडौँ फर्किएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर