माधव नेपाललाई डोहोर्‍याउने रामकुमारी नेकपा एसमा किन हारिन् ? – Nepal Press

माधव नेपाललाई डोहोर्‍याउने रामकुमारी नेकपा एसमा किन हारिन् ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष रामकुमारी झाँक्री पराजित भएपश्चात धेरैले तीन वर्ष अगाडिको दृष्य सम्झिए । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दर्ता गर्न जाँदा रामकुमारीले माधव नेपालको हात समातेर लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

नयाँ पार्टी निर्माणमा यसरी नेपाललाई बलियो हात दिएकी झाँक्री अहिले उनै नेपालको दरिलो साथ नपाउँदा उपाध्यक्ष बन्न वञ्चित भइन् । पार्टीबाहिर खासै परिचित नरहेकी जयन्ती राईले झाँक्रीलाई हराउँदै महिला उपाध्यक्षको कोटामा निर्वाचित भएकी छन् । र, यो निर्वाचनले नेकपा एकीकृत समाजवादीभित्र सुषुप्त अवस्थामा रहेको गुटबन्दीलाई एकैपटक छताछुल्ल बनाइदिएको छ ।

खासमा दुई महिना अगाडि भएको महाधिवेशनले पार्टीको पदाधिकारी चयन गर्नुपर्ने थियो । तर, अध्यक्ष, महासचिव र सम्मानित नेतामात्रै घोषणा गरेर महाधिवेशन प्रतिनिधिहरुलाई घर पठाइयो । पदाधिकारी र पोलिटब्युरो चयनको अधिकार महाधिवेशन प्रतिनिधिबाट खोसेर केन्द्रीय समितिमा प्रत्यायोजन गरियो । सोही केन्द्रीय कमिटीमा भएको मतदानमा झाँक्रीले उपाध्यक्षमा हार व्यहोरेकी हुन् । पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी छन् ।

मंगलबार भएको निर्वाचनमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल खेमाबीच खुलेआम गुटगत प्रतिस्पर्धा भएको थियो । महासचिव भुसाललाई सम्मानित नेता झलनाथ खनालको पनि साथ रह्यो ।

१७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि भएको निर्वाचनमा अध्यक्ष नेपाल र महासचिव भुसाल पक्षधरले आ-आफ्नो टीमको नाम लिष्ट बाँडेका थिए । निर्वाचित पदाधिकारीमा महासचिव भुसालको लिस्टबाट ७ जना विजयी भएका छन् ।

भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भए । ज्वाला र जोशी दुवैको लिस्टमा थिए । त्यस्तै उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाहमात्र निर्वाचित भइन् ।

सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित भएका छन् भने गणेश विक दुवै पक्षको टीममा थिए । घनश्याम भुसालको टीममा परेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित भए ।

पोलिटब्युरोमा पनि माधव नेपाल पक्षले बेग्लै लिस्ट बाँडेको थियो भने भुसालको पनि फरक छ । रामकुमारी झाँक्रीसहित धेरै नेता दुवै लिस्टमा छन् । रामकुमारी उपाध्यक्षमा जयन्ती राईसँग फराकिलो मतान्तरले हारिन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मतमात्रै पाइन् ।

पछिल्लो समय झाँक्री महासचिव भुसालको पक्षमा थिइन् । तर, पनि भुसालको प्यानलमा अटाउन सकिनन् । अर्कोतर्फ माधव नेपालको प्यानलमा पनि सुरूमा उनको नाम थिएन । फलतः दुवै पक्षका केन्द्रीय सदस्यहरू उनलाई मत हाल्ने/नहाल्ने अलमलमा परेका थिए ।

माधव नेपालसँग रामकुमारीको सम्बन्ध

पार्टी विभाजनपछि नेकपा एसकी ‘आइकोनिक फिगर’ बनेकी झाँक्रीलाई नेपालले सचिवको जिम्मेवारीबाट पुरस्कृत गरेका थिए । लगत्तै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री पनि बनाए ।

०७८ असोज २२ गते मन्त्री बनेकी रामकुमारीको कार्यकाल लामो भएन । ०७९ असार १२ गते उनले पदत्याग गर्नुपर्‍यो । पार्टीले आफूहरूलाई नसोधी सरकारबाट फिर्ता बोलाएको भन्दै नेतृत्वसँग रुष्ट थिइन् । माधव नेपालसँग उनको दूरी बढेको त्यहीँबाट हो । मन्त्री पदबाट राजीनामा दिँदा रुँदै बाहिरिएकी झाँक्री त्यसपछि पार्टीमा खासै सक्रिय भइनन् । त्यसता अध्यक्ष नेपालसहित नेताहरुको खुलेर आलोचना गर्दै हिँडेकी थिइन् ।

झाँक्रीलाई गएको निर्वाचनमा पार्टीले गुल्मी २ बाट प्रतिनिधि सभाको टिकट दिएको थियो । सत्ता गठबन्धनको साथ हुँदा पनि एमालेका गोकर्ण विष्टसँग पराजित भइन् ।

विस्तारै एमालेप्रति नरम बन्दै गइरहेकी झाँक्रीले पार्टीको जिम्मेवारीमा ध्यान दिन छोडिन् । सचिवको महत्वपूर्ण ओहदामा रहँदा कुनै काम नगरी पार्टीको नेतृत्वमाथि नै प्रश्न उठाउँदै हिँडेको आरोप उनीमाथि लागेको थियो । पार्टीका केन्द्रीय सदस्यहरू उनलाई भोट हाल्न सकारात्मक नहुनुको प्रमुख कारण यही मानिएको छ ।

स्रोतका अनुसार अध्यक्ष माधव नेपाल झाँक्रीलाई पदाधिकारीमा ल्याउन चाहन्थे । तर, नेपालको कोर टीमका सोमप्रसाद पाण्डे, मोहन गौतमलगायत लुम्बिनीका नेताहरूले उनलाई हराउन भूमिका खेलेको स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘अध्यक्षको चाहनाविपरीत विभिन्न लिस्ट बाँडिएको थियो । त्यहाँ उहाँ निकटकै नेताहरुले खेलेको देखिएको छ । झाँक्रीजी लुम्बिनीमा मात्रै नभएर देशभर प्रभाव भएको लोकप्रिय नेतृ हुनुहुन्छ । उहाँलाई रोक्न लुम्बिनीकै नेताहरु लागेको देखिन्छ । यहाँ गुटभित्र पनि अर्को गुटले काम गरेको हुनुपर्छ ।’

संस्थापन पक्षबाट बाँडेको एउटा लिस्टमा झाँक्रीको नाम नभए पनि अर्कोमा राखेको अर्का एक नेताले बताए ।

ती नेताले थपे, ‘महाधिवेशनमा पुगेपछि गुटबन्दी देखियो । उहाँ दुवैपट्टिको साझा बन्नुपर्दा जयन्तीजीलाई फाइदा पुगेको हो । उहाँ हार्नुको पछाडि यसअघि उहाँले पार्टीको महत्वपूर्ण भूमिका पाउँदा पनि एमालेप्रति नरम भएर बोल्दै हिँड्नुले पनि काम गरेको देखिन्छ ।’

झाँक्रीलाई हराउने राई यसअघि पनि उपाध्यक्ष नै थिइन् । हाल राष्ट्रियसभा सदस्य समेत रहेकी राई पार्टीभित्र लो प्रोफाइलको अनुभवी नेताको रूपमा परिचित छिन् ।

त्यसो त पार्टी नेतृत्वविरुद्ध खनिँदै हिँडेकी झाँक्री एमालेमा फर्किने चर्चा पनि नभएको होइन । उनी अहिले पनि एमाले नेताहरूसँग बाक्लो संवादमा भएको बताइन्छ ।

एमालेद्वारा दशैँतिहारको अवसरमार आयोजित चियापान कार्यक्रममा एक वर्षअघि च्यासल पुगेकी झाँक्री ।

माधवनिकट अर्का एक नेताले बाहिर लोकप्रिय भएपनि पार्टीभित्र आफ्नै बोलीको कारणले झाँक्रीले हारेको तर्क गरे ।

ती नेताले भने, ‘पार्टी बनाउन लाग्नुपर्ने बेलामा उहाँ पार्टी नेतृत्वको आलोचना गर्दै हिँड्नुभयो । त्यसैले अहिले विकल्पमा राईजस्तो अनुभवी नेतालाई रोजेका हुन् । त्यहाँ कुनै गुट भन्दा पनि आफ्नै कारणले हार्नुभएको हो ।’

मन्त्रीबाट हटेपछि एमालेको पक्षमा बोल्दै हिँडेको ती नेताको आरोप छ ।

उपमहासचिवमा पराजित भएका जीवनराम श्रेष्ठले पनि पार्टीभित्र चर्को गुटबन्दी देखिएको दाबी गरे ।

उनले नेपाल प्रेससँग भने, ‘गुटबन्दी त प्रष्टै देखियो । संस्थापन पक्षबाटै लिष्ट बाँडियो । अनेक खालका फोन गरेर फलानोलाई जिताउ, उसलाई हराउ भन्दै क्याम्पेनहरु भए, गुटबन्दी त स्पष्ट देखियो । दुभार्ग्यपूर्ण नै रह्यो ।’

संस्थापन पक्षबाट आचारसंहितको उल्लंघन गरेर लिष्ट बाँडेको उनले बताए ।

श्रेष्ठले थपे, ‘अध्यक्षलाई चाहे अनुसार कम्फर्टेबल हुने ढंगबाट मान्छे ल्याउने काममा विशेष भूमिका भयो । मुख्यगरी त्यहाँको गतिविधि हेर्दा अध्यक्षबाट यस्ता खालका गतिविधि गराइएको देखियो । लिष्ट बाँड्नदेखि सबै कुराहरू त्यहीँबाट भएको हो ।’

पोलिटब्युरो सदस्य सुदेश पराजुली भने निर्वाचनपछि अब पार्टीलाई एकताबद्ध बनाउन सबै जुट्नुपर्ने बताउँछन् ।

उनले भने, ‘अब निर्वाचनमा निर्वाचित, सहभागी र सिंगो केन्द्रीय कमिटी एकमना एकताकासाथ निर्वाचनको परिणाम जसको पक्षमा आएपनि पार्टी निर्माणमा जुट्न आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर