शेयर बजारमा बुलिस ट्रेण्ड सकिन लागेको हो ? – Nepal Press

शेयर बजारमा बुलिस ट्रेण्ड सकिन लागेको हो ?

काठमाडौं । विगत डेढ महिनादेखि उत्साह छाएको शेयर बजारमा पछिल्ला केही दिन यता लगातार घटिरहेको छ । यो साता शेयर बजारमा उच्च गिरावट आएको छ ।

यो साता शेयर बजारमा चार दिन कारोबार भयो । सोमबार (भदौ १०) कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएपछि उक्त दिन कारोबार खुलेन ।

४ कारोबारमा एक कारोबार बाहेक बाँकी तीन कारोबारमा शेयर बजार घटेको छ । यो साता अधिकतम १९ अर्ब ६४ करोड बराबरको कारोबार भयो भने न्युनतम कारोबार बिहीबार १२ अर्ब ६ करोडको कारोबार भयो ।

बजार बढेको बेला लगानीकर्ता नाफा बुक गर्न तिर लाग्दा बजारमा केही दबाव परेको देखिन्छ ।

सामान्यतया न्युनतम बिन्दुबाट २० प्रतिशत भन्दा बढीले बजार बढ्यो भने शेयर बजारमा बुलिस रन सुरु भएको मानिन्छ । यस्तै, उच्चतम विन्दुबाट बजार २० प्रतिशतसम्मले तल झर्छ भने त्यसमा वियरिस ट्रेण्ड सुरु भएको मानिने प्राविधिक विश्लेषकहरु बताउँछन् ।

साताको अन्तिम कारोबार दिनपनि बजार घटेर बन्द भएको छ । बिहीबार शेयर बजारमा ३६.८३ अंकको गिरावट आएको छ । शेयर बजार पछिल्लो उच्चतम बिन्दुबाट (३०००.८१) ९ प्रतिशतभन्दा बढीले घटिसकेको छ । यही रेसियोमा घटबढ हुने हो भने बजारको वियरिस ट्रेण्ड टाढा छैन ।

शेयर बिश्लेषक डा. केशव श्रेष्ठ बजार केही घटेपनि पुन: बढ्न थाल्ने बताउँछन् । उनका अनुसार केहीदिन बजार कहिले तल कहिले माथि गर्ने र पुनः उकालो लागेर बजार ३२ सयको लाइन क्रस गर्नेछ । बजारमा बुल रन अझै रहेको र बुल रनको ट्रेण्ड तत्काल नहुने उनको भनाइ छ ।

अर्का विश्लेषक मुक्ति अर्याल बजार बियरिस तिर नगएको बताउँछन् । केही बढ्नु र केही घट्नु स्वभाविक भएको बताउँदै अर्याल भन्छन्, ‘सगमाथामा यात्रा गर्दा कतै उकालो र कतै ओरालो आएजस्तै अहिलेको बजार हो । अहिलेको घटाइमा आतिहाल्नुपर्ने अवस्था छैन ।’

यद्यपि, बजार यति नै पुग्छ भनेर कसैले ठोकुवा गर्न भने सक्तैन । तर प्रविधि विश्लेषणमार्फत बजार कतिको आसपासमा रहेर फेरि फर्कन्छ भने देखाउने प्रयास हुन्छ । सामान्यतया बजार बुल रनमा प्रवेश गरिसकेपछि यस अघिका रेकर्डहरु तोडेको इतिहास विगतमा देखिएकाले यसपटक पनि रेकर्ड तोकेर मात्र बजार ओर्लने विश्लेषण भइरहेको छ ।

यो साता लगानीकर्ताको सम्पत्ति २ अर्ब ३० अर्ब २९ करोड रुपैयाँले घट्न पुगेको छ । बजार उच्चतम विन्दुमा हुँदा पुँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ भन्दा बढी पुगेको थियो । साउन ३१ गते बजारले ३०००.८१ विन्दु छोएको थियो ।

त्यतिबेलै बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब पुगेको थियो । यो बजार पुँजीकरण भनेको सेयर कारोबारको इतिहासमा हालसम्मकै उच्च हो । सबैभन्दा बढी कारोबार पनि यहि दिन २९ अर्ब ३० करोड रुपैयाँ बराबरको भएको थियो ।

कारोबार रकमको आधारमा पनि यो इतिहासकै उच्चतम कारोबार थियो । तर इन्डेक्समा भने एतिहासिक रेकर्ड कायम गर्न सकेको छैन । यो साता नेप्से १४५ अंकले घटेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर