नेकपा एस बैठक- झलनाथ छुट्टीमा, चुनावमा चीट बाँड्नेलाई कारवाही गर्ने माधव नेपालको आश्वासन – Nepal Press

नेकपा एस बैठक- झलनाथ छुट्टीमा, चुनावमा चीट बाँड्नेलाई कारवाही गर्ने माधव नेपालको आश्वासन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटव्युरो निर्वाचनपछि आयोजित पहिलो बैठकमा शीर्ष नेतृत्वले लिस्ट बाँडेर चुनाव जिताउने र हराउने खेल भएको विषय उठेको छ ।

बैठकमा पोलिटव्युरो सदस्य उर्वादत्त पन्तले उम्मेदवारको लिस्ट बाँडिएको र नेताहरुलाई छानी छानी हराइएको कुरा उठाएपछि श्रीप्रसाद साह,आलोक रायमाझी,शत्रुघन महतोलगायतले पनि सोही विषयमा छानविनको माग गरेका थिए ।

बैठकमा पार्टीको सचिव र पोलिटव्युरो सदस्यमा समेत पराजित भएका भाष्कर काफ्लेले आफ्नो केन्द्रीय सदस्य पद खारेज गरियोस भन्ने प्रस्ताव राखेका छन् । बैठकका एक सहभागीले उनको भनाइ उदृत गर्दै भने–चुनावमा गुट बनाइयो,पार्टीमा जिम्मेवारी पनि दिइदैन । यस्तो केन्द्रीय सदस्य हुनुभन्दा नहुनु बेश भयो,त्यसैले मेरो केन्द्रीय सदस्य पद खारेज गरियोस् ।

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष माधव नेपालकै नाममा गुट बनाएर लिस्ट बाँडिएको बताएका छन् । चिट कसले बाँड्यो भन्ने नाम नलिई उनीहरुले ‘उपमहासचिव हुनुभएको एकजना, एक महिला नेतृ तथा कसैले भान्जा’ भन्ने सांकेतिक नाम लिएको नेताहरुले बताएका छन् ।

उनीहरुको संकेत रामकुमार भट्टराई,कल्याणी खड्का र नितेश पौडेलतर्फ रहेको बैठकमै सहभागी एक सदस्यले बताए । सदस्यहरुले चुनावमा लिस्ट बाँडेर ब्यापक गुटबन्दी गरिएको आरोप लगाएपछि अध्यक्ष नेपालले चिट प्रकरणमा छानविन समिति बनाउँने र त्यस्तो गर्नेमाथि कारवाही हुने आश्वासन दिएका छन् ।

बैठकको शुरुमै अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालले व्यक्तिगत कामका लागि दुई तीन दिनको छुट्टी मागेको जानकारी गराएका थिए । नेपाल संसद बैठकमा गएपछि बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बैठक चलाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर