उद्योगमन्त्रीको एक वर्षे कार्ययोजना : ४ हजार २० पटक बजार अनुगमन गर्ने – Nepal Press

उद्योगमन्त्रीको एक वर्षे कार्ययोजना : ४ हजार २० पटक बजार अनुगमन गर्ने

काठमाडौं । बजार स्वच्छता कायम गर्न उद्योगमन्त्री दामोदर भण्डारीले एक वर्षमा ४ हजार २० पटक बजार अनुगमन गर्ने कार्ययोजना सार्वजनिक गरेका छन् । जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायबाट सो अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने भण्डारीले सार्वजनिक गरेको कार्ययोजनामा उल्लेख छ ।

यस्तै नेपाली बजारमा हुने एकाधिकारका विषयमा पनि एक वर्षभित्र अध्ययन गर्ने योजना लिइएको छ । आगामी ३ महिनाभित्र उपभोक्ता अदालत पनि गठन गर्न सहजीकरण र बजेटको निकासा गरिने भएको छ ।

यस्तै तरकारी तथा फलफूल थोक बजारमा अक्सन मूल्य लागु गर्न तीन महिनाभित्र अध्ययन गर्ने योजना पनि मन्त्री भण्डारीले लिएका छन् ।

मन्त्री भण्डारीले लिएको विभिन्न कार्ययोजनामा उद्योग क्षेत्रका १४ सुधारका क्षेत्रमा विभिन्न क्रियाकलापलाई समावेश गरिएको छ । त्यसमा २२ नीतिगत तथा कानुनी विषय, छ पूर्वाधार निर्माणका विषय, पाँच खानी तथा खनिज उद्योग प्रवद्र्धनका विषय, चार औद्योगिक वस्तुको गुणस्तर निर्धारण सम्बन्धी विषय लगायतका ६४ मुख्य मुख्य क्रियाकलाप समेटिएको छ ।

यसैगरी वाणिज्य क्षेत्रका द्विपक्षीय व्यापार, क्षेत्रीय व्यापार, बहुपक्षीय व्यापार तथा व्यापार सहायता क्षेत्र र व्यापार सहजीकरण एवं निर्यात प्रवद्र्धन तर्फका २४ सुधारका क्षेत्र पहिचान गरी ४८ मुख्य मुख्य क्रियाकलाप समेटिएको छ । साथै आपूर्ति क्षेत्रका १६ सुधारका क्षेत्र पहिचान गरी २९ मुख्य क्रियाकलाप समावेश गरिएको छ । उद्योगमन्त्रीले तीन महिना, एक वर्ष र निरन्तर गरिने कार्यको योजना बनाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *