दोस्रो विवाह गरेर ५ वर्षसम्म बाहिर राखेपछि श्रीमतीको हत्या – Nepal Press

दोस्रो विवाह गरेर ५ वर्षसम्म बाहिर राखेपछि श्रीमतीको हत्या

एलिशाका भाइलाई समिरको म्यासेज- अञ्जानमा मारेँ, सजाय खेप्न तयार छु

हेटौडा । तीन दिनअगाडि (भदौ १० गते) हेटौँडा उपमहानगरपालिका-१० स्थित रत्ना होटलमा मृत भेटिएकी २३ वर्षीय एलिशा न्यौपानेलाई उनकै श्रीमानले हत्या गरेको खुलेको छ । एलिशाका श्रीमान समिर खान (एलिशाका आफन्तले भनेको नाम) फरार छन् ।

भदौ ९ गते समिरले एलिशालाई आफ्नो घरमा बोलाएका थिए । सोही राति होटलमा लगेर हत्या गरी फरार बनेको प्रहरी अनुसन्धानबाट देखिएको हो । होटलको सीसीटीभी फुटेजमा समिर र एलिशा एकसाथ होटलमा प्रवेश गरेको तर रात ९ बजे समिर एक्लै निस्किएको देखिएको छ । समिरले वियरको बोटलले हानेर हत्या गरेका थिए ।

अर्को बलियो सबुत भनेको समिरले एलिशाका भाइलाई पठाएको म्यासेज हो । जुन म्यासेजमा उनले आफ्नो हातबाट एलिशाको मृत्यु भएको र आफू सजाय भोग्न तयार रहेको बताएका छन् । दुईजनाको झगडाका क्रममा हानाहान भएको र अञ्जानमा एलिशाको ज्यान गएको उनको दावी छ । यो म्यासेज उनले केहीबेरमा अनसेन्ड गरेका थिए ।

समिरले लेखेको म्यासेज :

बस अन्जानमा ज्यान गयो गल्तीले हात हालाहाल गर्दा । म यो कुराले पागल भइसकेँ । मलाई त्यो टाइम झलझल आँखामा आइराखेको छ । पहिले राम्रो कुरा भाको थ्यो । पछि पहिलेको कुरा निस्केर डिस्कस भयो । मुख छाडाछाड अनि दुवै जनाले हात हालाहाल भयो । उसले नि हान्यो मैले नि हानेँ ।  अनि हान्दा खेर ज्यान गयो । मैले कति उठाउन खोजेँ । तर ज्यान गइसकेको रहेछ । आइएम सरी भाइ । जे भए पनि मेरो हातबाट त गाको छ नि ! मैले कहिले माफ पाउँदिन आफैंबाट । म आफैं चौकी पनि आउँदैछु । जे-जे सजाय भोग्नुपर्छ म भोग्छु । त्यो राम्रो वा नराम्रो जे थ्यो मेरो हातबाट त पाप भयो नि ! म हेटौंडा आइराछु ।

पहिल्यै विवाहित समिरले एलिशासँग दोस्रो विवाह गरेर बाहिरै राखेका थिए ।

पाँच वर्षअघि उनीहरूले भागी विवाह गरेको आफुहरुले थाहा पाएको एलिशाका फुपाजु गणेशबहादुर खत्रीले बताए । सानैमा एलिशाकी आमाले दोस्रो विवाह गरेकी र बुबाको पनि कुलतको कारण मृत्यु भएकोले आफुले नै हुर्काएर पढाएको उनले जानकारी दिए ।

‘बिहेपछि भने खासै सम्पर्क थिएन,’ उनले भने, ‘एक-दुई वर्षसम्म घरमा आउजाउ रहे पनि विगत ३ वर्षयता नियमित सम्पर्क टुटेको थियो ।’

खत्रीका अनुसार आक्कलझुक्कल फोनमा कुरा हुँदा एलिशाले कहिले काठमाडौंमा त कहिले पोखरामा होटल खोलेर बसेको बताउने गर्थिन् । एलिशाले श्रीमानको अर्की पत्नी रहेको पछि मात्रै थाहा पाएको पनि उनको भनाइ छ । त्यसपछि उनीहरुको सम्वन्धमा दरार आएको थियो ।

‘खानले पहिले नै विवाह गरेका रहेछन्, यो कुरा छोरीलाई पछि थाहा भएछ र उनीहरुबीच खटपट सुरु भयो,’ खत्रीले भने ।

हत्या भएको दिन एलिशा र समिरको परिवारबीच ठूलो झगडा भएको प्रमाण प्राप्त भएको छ । नेपाल प्रेसलाई प्राप्त भ्वाइस रेर्कड र भिडिओ रेर्कडमा उनलाई घरका आफन्तले नै मार्ने धम्की दिएका छन् । त्यसै राति होटलमा हत्या भएको थियो ।

नेपाल प्रेसलाई प्राप्त रेकर्डमा एलिशाले ‘मेरो कहाँ को छन् र जाउँ ? भन्दा एक महिलाले जहाँबाट उठाएर ल्याएको हो, त्यहीँ लगेर मारिदिनू’ भनेकी छन् ।

केही समयअघि वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेकी एलिशालाई प्रेमीले नेपाल ल्याएको उनको आफन्तहरूले जनाएका छन् ।

आरोपीलाई चाँडै पक्राउ गर्छौंः प्रहरी

मकवानपुर प्रहरीले अनुसन्धानको क्रममा रहेकोले अहिले नै सबै कुरा सार्वजनिक गर्न नमिल्ने जनाएको छ । मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले अनुसन्धानबाट धेरै ‘क्लु’ पत्ता लागिसकेको बताए । हत्यामा संलग्नलाई चाँडोभन्दा चाँडो पक्राउ गरिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *