संसदमा प्रश्नः ८ वर्षदेखि शिक्षण अस्पतालमा रहेको अजित मिजारको शवमा सरकारको ध्यान खै ? – Nepal Press

संसदमा प्रश्नः ८ वर्षदेखि शिक्षण अस्पतालमा रहेको अजित मिजारको शवमा सरकारको ध्यान खै ?

काठमाडौं । ८ वर्षदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको अजित मिजारको शवमा सरकारको ध्यान गएको छ कि छैन भन्दै संसदमा सांसदले प्रश्न उठाएका छन् ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकको बिशेष समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले यस्तो प्रश्न गरेका हुन् ।

सांसद शर्माले प्रश्न गर्दै भने, ‘करिव ८ बर्षदेखि काभ्रेपलाञ्चोकका अजित मिजारको शव त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा छ । यो बारेमा सरकारको ध्यान गएको छ कि छैन ? यसमा सरकारको दृष्टिकोण के हो ?’ अन्तरजातीय प्रेम विवाह गरेकै कारण ८ वर्ष अघि काभ्रेपलाञ्चोकको पाँचखालका अजित मिजारको धादिङमा पुर्याएर हत्या गरिएको थियो ।

सांसद शर्माले संविधानमै भएको व्यवस्था सरकारले कार्यान्वयन गर्न चुकेको भन्दै मन्त्रिमण्डदलदेखि राजनीतिक नियुक्ती तथा संवैधानिक नियुक्तीलाई समावेशी सिद्धान्तमा टेकेर गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘संविधानमा भएको व्यवस्था अहिलेको सरकारले कार्यान्वयन गर्नमा ध्यान दिएको छ । म गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छु । अहिले बनेको मन्त्रिमण्डलहुदैँ राजदूत नियुक्तिदेखि संवैधानिक आयोगमा सिफारिस गर्दा पनि सरकारले समावेशी सिद्धान्त लागू गरेको छैन । अहिलेको सरकार गठन हुने वित्तिकै पनि एक जना दलित समुदायबाट प्रदेश प्रमुख रहेका तिलक परियारलाई नै पहिलो निसाना बनायो ।’

सांसद शर्माले आरक्षण व्यवस्था दयाँ, मायाँ र कृपा मात्रै भएकाले यसले जातीय छुवाछुत अन्त्य हुन नसक्ने भन्दै समाजवादी धारले मात्रै जातीय छुवाछुत अन्त्य हुने तर्क गरे ।

उनले भने, ‘आरक्षण भनेको दयाँ माया र कृपाले दिने कुरा हो । यसले जातीय छुवाछुत मुक्त हुदैँन । अर्को एकाध व्यक्तिलाई नेतृत्वमा पुर्याएर पनि दलित समुदायको मुक्ति हुदैँन । दलितको छुवाछुत मुक्त गर्ने भनेको समाजवादी धाराले हो । आर्थिक, सामाजिक र राजनैतिक समस्या मुख्य हो । त्यो समस्या सम्बोधन गर्ने काम पनि समाजवादी धाराले गर्छ । समाजवादी धाराबाट मात्रै दलितमुक्ती आन्दोलनलाई अघि बढाउन सक्छौ ।’

विशेष समयमा नै सत्तारुढ दल नेपाली काँग्रेसका सांसद पदम परियारले पनि अजित मिजार लगायत सैयौँ दलित समुदायले जातकै कारण ज्यान गुमाउनु परेकोप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सरकारको ध्यानाकर्षण गराउदैँ भने, ‘नेपालको इतिहासमा हजारौ दलित समुदायले देश बनाउका लागि रगत पसिना बगाएका छन् । तर जात प्रथाकै आधारमा ज्यान गुमाउनुपरेको तितो अवस्था छ । दलित समुदायलाई जसरी जातका आधारमा उच र निज भनेर हेरिएको छ । यो सामाजिक अपराध हो भनिरहदाँ पनि कायमै छ । राज्यले यथोचित व्यवहार नगर्दा यस्ता घटना दोहोरिरहेका र सदनमा उठाइरहनुपरिरहेको छ । सरकारलाई समग्र राज्य र नेपाली समाजलाई जातका आधारमा गरिने विभेद कलंक हो भनेर विशेष पहल गर्न सरकारलाई अनुरोध छ ।’

सांसद परियारले सरकारलाई राज्यसका सबै संरचनालाई समावेशी बनाएर नमुना बनाउन ध्यानाकर्षण गराउनुका साथै राज्यले ल्याउने हरेक कार्यक्रम दलितमैत्री हुनुपर्ने र दलित समुदायले पनि राज्यका कार्यक्रमलाई अफनत्व महशुस गर्नुपर्ने बनउन आग्रह गरे । उनले सिन्धुपाल्चोकमा दलित समुदायको एक किशोरीलाई आत्मत्या गर्न बाध्य पार्ने शिक्षकलाई हदैसम्मको कारवाही गर्नका लागि सदनमार्फत गृहमन्त्रीको ध्यानार्षण पनि गराएका छन् ।

उनले भने, ‘सिन्धुपाल्चोकमा १५ वर्षका सन्ध्या रोक्का भन्ने छात्रालाई विद्यालयको शिक्षकले अनैतिक सम्बन्ध राखेर आत्महत्या गर्न बाध्य बनाएका छन् । शिक्षक मिलन कार्कीलाई प्रहरीले पक्राउ त गरेको छ । तर न्यायोजित रुपमा अनुसन्धान तथा कारवाही हुन्छ कि हुदैँन भन्नेमा शंका छ । उक्त घटनाको गम्भिर अनुसन्धान गर्न र हदैसम्मको कारवाही गर्नका लागि सदनमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।’

बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले अन्तरजातीय विवाह तथा प्रेम गरेकै कारण अहिलेसम्म २१ जना दलित समुदायका व्यक्तिले ज्याउन गुमाउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘नेपालमा अहिलेसम्म २१ जना दलित समुदायको व्यक्तिले अन्तरजातीय विवाह तथा प्रेम गरेकै कारण ज्यान गुमाउनु परेको छ । भर्खरै म्याग्दीका मिना परियारलाई अन्तरजातीय प्रेमपछि गर्भवती बनाएर हत्या गरिएको छ । २०६८ सालमा दैलेखका सेते दमाईलाई छोराले अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएको छ । २०६८ मा नै सप्तरीमा शिवशंकर दासको अन्तरजातीय विवाहका कारण हत्या गरिएको छ । २०७९ सालमा झुमा विश्वकर्मा र तनहुँका गिता परियारको पनि अन्तरजातीय प्रेमकै कारण हत्या गरिएको छ । यो विषयमा सरकार गम्भिर बन्नुपर्छ र यसमा दलित समुदायले मात्रै नभएर सबै समुदायका महिलाले पनि आवाज उठाउनुपर्छ ।’

सांसद सुनारले म्याग्दीको बेनी नगरपालिका ९ तोरीपानी घर भएका १९ वर्षका मिना परियारलाई अन्तरजातीय प्रेमपछि हत्या गरिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउदैँ हत्यारालाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् ।

उनले भने, ‘मिना परियार कक्षा ११ मा पढ्थिइन् । उनको स्थानीय छिमेकी राम खत्रीसँग हिमचिम थियो । तर, एक्कासी २०८० पुष १६ गते सवा ११ बजे राति घटबाटै वेपत्ता भएकोमा गत साउन २७ गते जंगलमा गाडीएको अवस्थामा शव फेला परेको छ । उनको कपडा र सुनको सिक्रीबाट मिना परियार भएको पहिचान खुलेको छ । पोखरा अस्पतालका अनुसार धारिलो हतियार प्रयोग गरेर नै हत्या गरेको खुलेको छ । प्रेमीका २१ वर्षीय छिमेकी खत्रीसहित ५ जनाई हत्या अभियोगमा बुवा चन्द्र परियारले साउन ३० गते जाहेरी दर्ता गरिसक्नुभएको छ । हत्यारालाई जन्मकैदको सजायको यसै सदनमार्फत जोडदार माग गर्दछु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर