एन्फाले देशव्यापी ग्रासरुट कार्यक्रम सन्चालन गर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघले आगामी तीन बर्षसम्म देशव्यापी रुपमा ग्रासरुट कार्यक्रम सन्चालन गर्ने भएको छ।
एन्फा कम्प्लेक्समा मंगलबार र बिहिवार बसेको संघको सातौं कार्यसमिति बैठकले यसै बर्षदेखि आगामी तीन बर्षसम्म देशव्यापी रुपमा ग्रासरुट कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्ड लसहितको फुटबल रंगशाला निर्माण गर्न अतिआवश्यक रहेको भन्दै जग्गा प्राप्तिका लागेर सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
नयां रंगाशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गर्ने र जग्गा प्राप्तीको लागि संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ ।
दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि ३ लाख अमेरिकि डलर बजेट विनियोजन गरिएको प्रवक्ता शाहले बताए । यस्तै एन्फा महिला लिग भाद्र १६ गते देखि दशरथ रंगशलामा गर्ने निर्णय भएको छ ।
महिला तथा पुरुष राष्ट्रिय टिमका फुटबल खेलाडीको मासिक तलब ३० हजार र फिफा रेफ्रिको २० हजार कायम गरिएको छ । भने संघका महासचिवको तलब २ हजार अमेरिकी डलर कायम गरिएको प्रवक्ता शाहले जानकारी दिए । बैठकले पुरुष राष्ट्रिय फुटबल टिममा प्रो लाइसेन्सप्राप्त प्रशिक्षकको नियुक्ति प्रकृया सुरु गर्ने निर्णय गरेको छ ।