प्रकाशको पर्खाइमा परिवार, वैशाखी टेक्ने बुवालाई छोरा सहारा बन्ने आशा (भिडिओ)
षडानन्दका मेयर सुरेन्द्र उदास भन्छन्- नागरिकता घरमै दिलाउँछौं
काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ को भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित घरमा केही दिनयता आउजाउ बाक्लिएको छ ।
प्रकाशका बाउआमा र परिवारलाई भेट्न उनीहरूलाई सहयोगको प्रतिवद्धता जनाउन दलका नेता-कार्यकर्तादेखि जनप्रतिनिधिको लर्को लागिरहेको छ ।
८० वर्ष नाघेका बाबु लोकबहादुर वैशाखीको सहाराबिना थिग्रिनसम्म सक्दैनन् । आमा पनि ७५ को हाराहारी पुगिन् । माया मारिसकिएको छोरा फर्किएर आएकोमा उनीहरूमा खुसीको सीमा छैन । सँगसँगै, आफ्नो उपचार र घरखेतीको आशा पनि जागेकाे छ ।
बुवाले कहिलेकाहीँ सपनामा देख्ने गरेकाले छोरा आउने झिनो आस चाहिँ कताकता थियो भने ।
बुबाआमाका अनुसार प्रकाश अहिले ४३ वर्षका भए । ७/८ वर्षमै कान्छी दिदीसँग काठमाडौं गएका उनी ११ वर्षजतिको हुँदाबाट बेखबर भएको आमा सुनाउँछिन् ।
छोरा त फर्क्यो तर गरीखाने ठाउँ नभएको नागरिकता पनि नबनाएको भन्दै फर्किएको उनले सुनाइन् । पोहोर दशैँमा आउँदा प्रकाशले भेडा, गोरु किनेको, बिरुवामा सिँचाइका लागि पाइप किनेको आफूहरूलाई पनि राम्रो ख्याल गरेको उनले बताइन् ।
कृष्णकुमार राईको जग्गामा टाटीको सानो घर बनाएर उनीहरू बसेका छन् । आफ्नो नामको जग्गाजमिन कहीँ नभएको लोकबहादुरले बताए । सोलुखुम्बुबाट झापा हुँदै भोजपुरतिर उक्लिएका रहेछन् प्रकाशका बाबुआमा ।
‘घरमा समस्यै समस्या रछ । नागरिकता पनि छैन, गरी खाने ठाउँ छैन । थ्याच्च बस्ने ठाउँ पनि छैन कसरी बस्नु भन्दै मन कुँडियार गयो । दशैँअगाडि आउँछु भन्दै गाको थियो । अहिले चाहिँ अब आइहाल्छु भन्दैछ’, बाबु भन्छन् ।
बुबा लोकबहादुर मिडियाले छोरालाई ल्याइदेको भन्छन् । तर, कसले ल्याइदेको यकिन भन्न सक्दैनन् ।
‘मिडियाले ल्याइदेको हो कहाँको हो को हो थाहा भएन । अझै पनि भिडिओमा आइरहन्छ’, उनले सुनाए ।
नागरिकता घरमै दिलाउँछौं : मेयर
उनको नागरिकताका लागि प्रधानमन्त्रीले पनि चासो देखाएका छन् । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास बुधबार दिउँसो प्रकाशको घर पुगेका थिए । प्रकाश आउनासाथ घरैमा नागरिकता दिने उनले बचन दिए ।
बुबाआमाको नागरिकता भोजपुरबाटै बनाएकोले प्रकाशको नागरिकता अझ सजिलै बन्ने उनको भनाइ छ । मेयर उदासले त्यहीँबाट भोजपुरका सीडीओ नरबहादुर थापालाई फोन गरे । सीडीओ थापाले जन्म दर्ता र नाता प्रमाणित कागज बनाउनुपर्ने र आफूलाई खबर गरे घरमै नागरिकता दिन आउने बताएका छन् ।
प्रकाशलाई मन थामेर गाउँमै बाउआमाको सेवा गरेर बस्ने गरी रोजगारीका लागि सहयोग गर्ने मेयरले बताएका छन् । सँगै बुवाको उपचारका लागि नगरपालिकाले पहल गर्नेछ ।
सहयोगको होडबाजी
‘हराएका वर्ष’ हेरेपछि सामाजिक सञ्जालमा प्रकाशलाई सहयोग गर्ने होडबाजी नै चलेको छ । भोजपुरका सांसद सुदन किरातीले आफ्नै संयोजकत्वमा माओवादीको तर्फबाट श्रमदान गरेर एउटा घर, एउटा शौचालय, केही लत्ता-कपडा र ६ महिना खाने (गाँस, बास र कपास ) जस्ता आधारभूत कुरा पहिलो चरणमा बन्दबस्त गने॔ निर्णय गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।
चुमभ्यालीबाट प्रकाशको न्यायपूर्ण बिदाई र भोजपुरको सम्पाङ छाप्लेगाउँमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउन भोजपुरका केही पत्रकार र युवाहरूले पहल गरिरहेका छन् । पत्रकार राजेश राईका अनुसार साहूबाट उचित रकमसहित न्यानो बिदाईका लागि चुमनुव्री गाउँपालिका अध्यक्षसँग समन्वय गरिएको थियो । उनको खाता खुल्नासाथ घर निर्माण र गरीखाने जोहोका लागि षडानन्द नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर अन्य पहल थालिने उनले बताए ।
सहयोग गर्छौं भन्नेहरू धेरै आइरहेको भन्दै । अब आफ्नै नामको जग्गा भए गरीखान सजिलो हुने र शान्तिले प्राण जाने बुवा बताउँछन् ।
उनको पुन:स्थापनामा सहयोग गर्न आफूहरू तयार रहेको भन्दै विभिन्न पेशा-क्षेत्रका व्यक्तिको प्रतिवद्धताको ओइरो छ । तर, सहयोग निस्वार्थ भावले गरिनुपर्ने भन्दै राजनीतिकरण हुनसक्नेप्रति खबरदारीका स्वर पनि सुनिएका छन् ।
प्रकाश बिहीबार चुमभ्यालीबाट बिदाई भएर भोजपुरका लागि बाटो लागिसकेका छन् । छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, प्रहरी चौकीका प्रमुख उनका गोठाले साथी र साहू टासी लामाले उनलाई न्यानो बिदाई गरे ।
चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहूजीले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । यो दुवै रकम प्रकाशको खाता खोल्नासाथ जम्मा गरिने लामाले बताए ।
हिजो राति गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङकोमा बास बसेका प्रकाशलाई आज गाउँपालिकाले नै गाडीमा हालेर काठमाडौं पठाउने तयारी गरेको छ । उनी काठमाडौं आएर भोलिसम्म भोजपुर लाग्ने छन् ।