२८औं मुख्य सचिव एकनारायण अर्याल- योग्यतामा अब्बल, क्षमतामा सबल
काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकले एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । लीलादेवी गड्तौला उमेर हदका कारण अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । योसँगै अर्यालले २८औं मुख्यसचिवको रूपमा निजामती प्रशासनको कमाण्ड सम्हालेका छन् ।
निजामती सेवा ऐनअनुसार उनले अबको १५ महिना (२०८२ मंसिर २४) सम्म मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन् । यदि ६० वर्षे उमेर हद कायम भए अर्यालले अर्यालले मुख्यसचिवको पूरै कार्यकालमा रहने छन् ।
‘योग्यतामा अब्बल, क्षमतामा सबल’ अर्याल निजामती क्षेत्रका इमान्दार, निडर प्रशासकका रूपमा परिचित छन् ।
अर्याललाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले प्रत्यक्ष अनुभूत गर्ने सेवामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्नुपर्ने भन्दै कार्यसम्पादनमा राष्ट्रसेवकको सफलताले नागरिकमा सन्तुष्टि आउने साथै देशमा सफल हुने भएकाले सफलताको शुभकामना दिएका छन् ।
को हुन् एकनारायण ?
स्याङ्जाको करेनडाँडा-४ का एकनारायण अर्याल २०४६ माघ ४ मा नायव सुब्बाबाट सरकारी सेवा प्रवेश गरेका हुन् । नासुमा ५ वर्ष सेवा गरेपछि उनी खुला प्रतिस्पर्धाबाट २०५१ फागुन ४ गते शाखा अधिकृतमा सिफारिस भए । सहसचिवसम्म निरन्तर खुला प्रतिस्पर्धाबाटै सिफारिस भएका थिए ।
प्रशासन सेवा समूहका उनको पहिलो पदस्थापन जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको थियो । अर्याल २०८० फागुन ३० देखि गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । गृहमन्त्रालय आउनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि उनले सचिवको जिम्मेवारी सम्हाले ।
२०५८ माघ ६ गते उपसचिवमा सिफारिस बनेका उनी ९ वर्षपछि २०६७ फागुन १९ गते खुला प्रतिस्पर्धाबाटै सहसचिव सिफारिस भए । त्यसको ९ वर्षपछि २०७६ फागुन १८ गते अर्याल सचिवमा बढुवा भए । अहिलेसम्म निजामती सेवामा अर्यालले ३४ वर्ष ७ महिना बिताइसकेका छन् ।
अर्यालको अगुवाइमा भएका यी उदाहरणीय काम
अर्यालले उपसचिव भइसकेपछि निजामती किताबखानामा काम गरे । सबै कर्मचारीको सिट्रोल र कर्मचारीको सम्पत्ति विवरण निर्माण गरी विद्युतीय अभिलेख राख्ने प्रणाली उनैले सुरू गरेका हुन् । मकवानपुर, तनहुँ र काठमाडौंको सीडीओ भएका उनले मकवानपुर रहँदा उत्कृष्ट प्रजिअको रूपमा नागरिक अभिनन्दन पाएका थिए । काठमाडौंमा सीडीओ हुँदा २०७२ को महाभूकम्प विपद् प्रतिकार्य व्यवस्थापनको उत्कृष्ट काम गरेकाले निजामती सेवा पुरस्कार पाएका थिए । गृहमा सहसचिव हुँदा अर्यालले गृह प्रशासन सुधार योजना निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको जानकारहरू बताउँछन् ।
भारतको कोलकातामा महावाणिज्यदूत भएर काम गर्दा अर्यालले इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमको सुरूवात गरेका थिए । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा अर्यालले राजस्व संकलनको लागि अनलाइन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याए । भने, घर निर्माणको लागि नक्सा पास पनि अनलाइनबाट सुरूवात गराए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उनकै कमाण्डमा स्थानीय तहको स्व-मूल्याङ्कन प्रणाली (लिसा) थालियो । त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका एकनारायणले वैदेशिक रोजगार कार्यालय ताहाचलको भिड हटाउन प्रविधिको विकास गरे । वैदेशिक रोजगार सूचना प्रणाली (एफईआइएस) को पूर्ण कार्यान्वयन तथा अनलाइनबाटै श्रम स्वीकृतिको व्यवस्था पनि उनैले लागू गराएका थिए । आन्तरिक रोजगार नीतिको निर्माण र कार्यान्वयन, वैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित रोजगार नीति निर्माण र कार्यान्वयन, हजारौ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्द गरी उल्लेखनिय सुधारका काममा उनकै योगदान मानिन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अर्यालले कार्यालयको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) सर्भे गरी त्यहाँ रहेको दरबन्दी पुनरावलोकन गरेका थिए ।
गृहमा के के गरे प्रशासनिक सुधार ?
प्रधामन्त्री कार्यालयपछि अर्यालले गृह मन्त्रालयमा २०८० फागुन ३० गते देखि २०८१ भाद्र १४ गतेसम्म १७१ दिन सचिवको जिम्मेवारी सम्हाले । गृह मन्त्रालयमा बसेर अध्यागमन प्रशासनमा विभिन्न सुधारका काम गरे । जसमा अध्यागमन प्रशासनलाई अत्याधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउनका लागि कार्य सुरुवात गरे भने अध्यागमन सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी, सूचना प्रविधिमैत्री एवम् विश्वसनीय तथा उच्च सुरक्षा सहितको जोखिम रहित अन्तराष्ट्रिय स्तरको समकक्षतामा पुर्याउने गरि अध्यागमन प्रशासन सुधार योजना तयार गरे ।
यस्तै चीनतर्फको प्रस्थान र आगमन अनुमतिलाई प्रविधिमैत्री बनाए । साथै उनकै नेतृत्वमा कोरोला र टिंकर सीमा नाकामा अध्यागमन कार्यालय स्थापना र संचालनको लागि निर्णय गरी तयारी अवस्थामा रहेको छ ।
त्रिभुवन विभानस्थलको अध्यागमनको भिड हटाउन आगमन र प्रस्थान कक्षतर्फ ८ वटा डेस्क थप भएको छ । अध्यागमनको बेरुजु फर्छ्यौटलाई प्राथिमकतामा राखेर असुल उपर र नियमित गर्ने काम भएको, साप्ताहिक प्रगति मन्त्रालयमा पठाउने व्यवस्था गरिएको, उठान हुने फाइल निर्णय हुने भए गर्ने र नहुने भए नरोक्ने प्रणाली लागू गराए ।
नेपाल प्रहरी र एपीएफ दुवै सुरक्षा निकायबाट राजश्व संकलनमा भएको प्रगतिको साप्ताहिक विवरणको सुरुवात अर्यालले गराएपछि १५ प्रतिशतको सरदरले राजस्व बढेको छ । यी दुवै सुरक्षा निकायका अस्पतालको सुधार एवम् सेवा स्तरोन्नतिको लागि पनि उनले पहल लिएका थिए ।
कैदीबन्दीको माफी मिनाहा तथा कैद कट्टीसम्बन्धी कार्यविधि, बन्दीको उद्यमशिलता विकास गरी सीपयुक्त जनशक्ति निर्माण गर्न कैदी बन्दीका लागि लघु तथा घरेलु उद्यम सम्वन्धी कार्यविधि निर्माणको काम पनि उनकै पालामा भयो । आन्दोलन, हड्ताल विरोध प्रदर्शनका क्रममा हुने क्षतिको मूल्यांकन तथा परिपूरणसम्बन्धी कार्यविधि जारी, सिंहदरबार प्रवेशलाई सरल, सहज र व्यवस्थित बनाउन अनलाइन प्रणालीको सुरुवात पनि अर्यालले गराए ।
नागरिकता सिफारिसको कार्यलाई सहज र प्रविधिमैत्री बनाउन नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) लाई स्थानीय तहसँग आवद्ध गरी वडा कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा सोझै नागरिकता सिफारिस गरी पठाउने प्रणाली पनि सुरूवात भएको छ । अहिले ५२० वडाबाट यो सेवा सञ्चालनमा आइसकेको छ ।
पूर्वमुख्यसचिव लीलामणि पौडेल संयोजकत्वको गृह प्रशासन सुधार कार्यदलको प्रतिवेदनको कार्ययोजना निर्माण गरी कार्यान्वयन सुरू भएको छ । गृहमन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौतालाई यस आर्थिक वर्षबाट लागू हुने गरी परिमार्जन गरिएको थियो ।