नेकपा एसभित्र कसरी भुमरीमा परिन् रामकुमारी ? आफैंले गरिन् पराजयको यस्तो विश्लेषण – Nepal Press

नेकपा एसभित्र कसरी भुमरीमा परिन् रामकुमारी ? आफैंले गरिन् पराजयको यस्तो विश्लेषण

‘पार्टीलाई यदि माओवादीसँग ध्रुवीकरण गरियो भने मसहित धेरै नेताहरू एमालेमा जान्छौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी महाधिवेशनको डेढ महिनापछि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिँदै गर्दा चर्चामा आइन् नेतृ रामकुमारी झाँक्री । उनी पदाधिकारीमा निर्वाचित हुन नसकेपछि कसैले सहानुभूति जनाए त कसैले कटाक्ष गरे ।

नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका निभाएकी झाँक्री उपाध्यक्षमा लडेकी थिइन् । तर, जयन्ती राईसँग पराजित भइन् । यो पराजयले उनको राजनीतिक करिअरमै एउटा धक्का लागेको छ । कतिपयले अब उनले बाटो बदल्नसक्ने अनुमान पनि गरेका छन् ।

झाँक्रीले पत्रकार जगदीश खरेलसँगको एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो हारको कारण खोतल्न खोजेकी छन् । उनले गरेको विश्लेषणलाई बुँदागतरूपमा उल्लेख गरिएको छ ।

माधव नेपालको भूमिका

झाँक्रीले खुलेर सार्वजनिकरूपमा नभनेपनि अध्यक्ष माधवकुमार नेपालको अरुचिकै कारण आफू पराजित भएको संकेत गरेकी छन् । पार्टीको महाधिवेशनबाट नै आफूलाई अध्यक्ष नेपालले उपाध्यक्ष भएर काम गर्नुपर्छ भनेर आश्वासन दिएको उनले बताइन् । तर, निर्वाचनका बेला ‘क्याम्पेन’ गरेर नै आफूलाई पराजित गराउन नेताहरुको भूमिका रहेको उनको भनाइ छ ।

झाँक्रीले भनिन्, ‘माधव नेपाल लगायतको टीमले महाधिवेशनको बेला तिमी उपाध्यक्षमा लड्नुपर्छ भन्ने सन्देश दिएको थियो । अध्यक्ष र महासचिवका लागि चुनाव नहुने, अरुमा हुने अवस्था आयो भने लड्नुपर्ला भनेर तयारी गरेको थिएँ । तर निर्वाचनमा चिट नै चोराएर मतदान भएपछि परिणाम यस्तो आयो ।’

‘भोट नआएकाले हारेँ’ भन्दै रेडिमेड जवाफ दिए पनि झाँक्रीले चुनावमा शीर्ष नेताहरुको टीमले ‘म्यानुपुलेट’ गरेकै कारण पराजय व्यहोर्नुपरेको उल्लेख गरिन् । पार्टी दर्ताको समयदेखि नै माधव नेपालको साथमा बलियो खम्बा भएर उभिएको मान्छेको हात अहिले अध्यक्षले किन छाडे ? भन्ने प्रश्नमा उनले ‘कसैको निगाहमा पर्न चाहन्नँ’ भनिन् ।

घनश्यामलाई अध्यक्ष मान्न तयार नहुनु

एमालेबाट विभाजन भएर नेकपा एस बनेको एक वर्षपछि पार्टीमा आएका घनश्याम भुसालले सुरूमा नै महामन्त्री पद पाएका थिए । महाधिवेशनमा उनले अध्यक्षको च्याखे थापे पनि सफल भएनन् । तर, त्यसो हुन सकेन् । झाँक्री भन्छिन्, ‘हामीले नै अहिले अध्यक्षमा नलड्नुस्, माधव नेपाललाई नै यो कार्यकाल अध्यक्ष दिउँ भनेका थियौँ ।’

भुसाल र उनको टीमले पटक-पटक आफूलाई आउन आग्रह गरे पनि आफूले नमानेको झाँक्रीको भनाई छ । जित्ने अवस्था नभएको र हार्नकै लागि किन चुनाव लड्नु भन्ने सन्देश आफूले भूसाललाई दिएको उनले बताइन् ।

उनले भनेकी छन्, ‘महाधिवेशनको चर्चा धनश्याम दाइ आउँदा चल्दै थियो । महाधिवेशन सर्दै आएको थियो । असारमा हुन्छ जस्तो पनि लागेको थिएन । धनश्याम अध्यक्षको क्यान्डिडेट तर जित्ने अवस्था थिएन । मलाई लागौँ भन्नुभएको थियो । मैले जित्ने ग्राउन्ड देखिनँ, त्यही भएर माधव नेपाललाई नै अध्यक्ष बनाउन भूमिका खेलेँ ।’

लिस्टमा थिएन नाम

निर्वाचनमा केन्द्रीय सदस्यहरूलाई भोट माग्नका लागि उम्मेदवारहरूको नामसहितको चीट नै बाँडिएको थियो । यो समाचार नेपाल प्रेसले ब्रेक गरेको थियो । झाँक्रीले पनि अध्यक्ष र महासचिवको टीमबाट चीट बाँडेर आफूलाई भोट नहाल्न क्याम्पेन भएको स्वीकार गरिन् ।

उनले भनिन्, ‘मतदान हुनुभन्दा पहिलेबाट नै चीटहरू पास गरेको भन्ने कुरा आयो । मिस टार्गेट छ भन्ने थाहा पाएँ । भोटिङ हुनुभन्दा पहिले नै थाहा पाएँ । केही मान्छेहरूले लिस्ट बनाइरहेका छन्, तिम्रो नाम छैन भन्ने कुरा गरिरहनुभएको थियो । तर, मैले कुनै मान्छेलाई पनि सोधिनँ मेरो नाम किन छैन भन्ने । कुरा गर्न आवश्यक ठानिनँ । लिस्ट नै बनाएर हराउने टार्गेट भए किन कुरा गर्ने ?’

चीट वितरण भएको कुरा केन्द्रीय कमिटी बैठकले नै अनुसन्धान गर्न कमिटी बनाउने निर्णय गरिसकेकाले पुष्टि हुने उनको भनाइ छ ।

केन्द्रीय सदस्य खल्तीबाट आए

महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय सदस्य चयन भएका थिए । केन्द्रीय सदस्य चयनका लागि नेकपा एसले अध्यक्ष, महासचिव र सम्मानित नेतालाई जिम्मेवारी दिएको थियो । झाँक्री तीन शीर्ष नेताहरूले चयन गरेका केन्द्रीय सदस्यहरुले आफ्नो टीमले वितरण गरेको चिटअनुसार नै मतदान गरेको बताइन् ।

उनले भनिन्, ‘केन्द्रीय कमिटी तीनजना नेताहरूले छानेको हो । डेढ महिना लगाएर उहाँहरूले छान्नुभएको थियो । सर्वसम्मत गर्नुहोला लागेको थियो । एक्कासी चुनाव भयो । मनोनीत केन्द्रय सदस्यहरू हुन् । शीर्ष नेताहरूले ल्याएका उनीहरू म्यानुपुलेट मान्छे हुन् ।

कसका कति छन् भन्ने थाहा छ । मेरो टीमले पनि दिदीको नाम प्रोजेक्सन गरेकाले मैले हार्छु भन्ने त थाहा पाएँ नि ! घनश्यामलाई अध्यक्ष बनाउनुपर्छ भनेर लागिनँ । माधव नेपालले नै महिला उपाध्यक्षमा उठ्नुपर्छ भन्नुभएको थियो । महाधिवेशनको बेला माधव नेपालले पनि जयन्ती राईको चीट पठाउनुभयो ।’

जिम्मेवारी नपाउनु र सक्रिय नहुनु

पछिल्लो समय रामकुमारी झाँक्रीलाई संगठन निर्माणका लागि पार्टीमा खासै जिम्मेवारी दिइएको थिएन । झाँक्रीले कुनै जिम्मेवारी नभएका कारण कार्यकर्ताहरूसँग नजिक हुन नसकिएको बताइन् । कार्यकर्ताहरूसँग घुलमिल नहुँदा पनि आफू निष्कृयजस्तै देखिएको उनको भनाइ छ । आफूलाई आएका ११२ मत व्यक्तिगत भएको उल्लेख गर्दै उनले अरु मतहरू टीमको मत नै भएको बताइन् । आफ्नो भनिएको टीमबाट समेत आफूलाई मत नआएको गुनासो गरिन् ।

एमालेप्रति उदार !

झाँक्रीले केही समयता एमाले नेताहरूसँग निकटता बढाएको विषयमा नेकपा एसभित्र र बाहिर पनि चर्चा भयो । त्यो पनि उनको पराजयको कारण हो भनेर धेरैले टिप्पणी गरेका छन् । झाँक्री एमाले नेताहरुसँग निकट भएको विषयलाई राजनीतिक रुपमा मात्रै हेर्नुपर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘माओवादीसँग एकता गर्नुभन्दा एमालेसँग नै बेटर हुन्छ । एमाले नै ओरिजन हो नि भन्नु मेरो पोलिटकल स्टेटमेन्ट हो । यो पार्टी माओवादीसँग ध्रुविकरण गर्ने बाटोमा गयो भने मलगायत हामी सबै एमालेमा नै जान्छौँ । एमालेसँग म उदार हुनु र उहाँहरु माओवादीसँग उदार हुनु एउटै होइन र ?’

झाँक्रीले योभन्दा पनि खतरा दिन आउन सक्छन् भनेर पार्टी छाड्नुपर्ने हुनसक्ने संकेत पनि गरिन् । एमाले नेताहरूसँगको निकटताका कारण शीर्ष नेतृत्वले अविश्वास गरेको उनको ठम्याईँ छ ।

उनले उपाध्यक्षमा निर्वाचित जयन्ती राई आफूभन्दा सिनियर व्यक्ति भएको भन्दै शुभकामना पनि दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर