दिव्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार दार्जिलिङका पुनियानीलाई प्रदान – Nepal Press

दिव्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार दार्जिलिङका पुनियानीलाई प्रदान

काठमडौं । राजनीतिज्ञ दिव्यबिक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार’ भारतको दार्जिलिङ सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई प्रदान गरिएको छ ।

शुक्रबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच नगद ३० हजार रुपैयाँ र सम्मान पत्रसहित उक्त पुरस्कार पुनियानीलाई प्रदान गरिएको हो । नेपाल भारतका कवि साहित्यकारहरूको बृहत उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई स्वागत गर्दै कवि सुन्दर कुरूपले दिव्यबिक्रम नेम्बाङ लोकतान्त्रिक योद्धा र साहित्यकार भएको बताए । दिव्यबिक्रम नेम्बाङको योगदान माथि बोल्दै साहित्यकार प्रकाश थाम्सुहाङले नेम्बाङ शिक्षासेवी पनि भएको बताए ।

पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्रा. अस्मिता बिष्टले राजा पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन् । पुनियानीले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण बरालले दिव्य विक्रम नेम्बाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने बताए ।

कार्यक्रममा भारतलगायत नेपालका कवि चन्द्र गुरुङ, प्रदिप मेन्याङ्बो, लिला अनमोल, सुनिता तामाङ अभागी थेगुवा, अमित थेबे, राजकुमार सुब्बा, सेलिङ केसी लगायतले आफ्नो रचनावाचन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर