रङको समाजशास्त्र – Nepal Press

रङको समाजशास्त्र

हरियो रङले साउन महिना छपक्कै बनेको थियो, तर भदौ सुरु भएपछि तीजले नेपालीहरुलाई छपक्कै छोपेको छ । भदौ लागेपछि चाडपर्व पनि सुरु भए । जनैपूर्णिमा गयो । कृष्ण जन्माष्टमी मनाइसकेपछि अब तीज आउँदैछ । तीजपछि दशैँ, तिहारलगायतका पर्व आउने लहरमा छन् ।

अहिले तीजका विभिन्न कार्यक्रममा राता रङहरुले ढपक्कै ढाकिएर महिला दिदीबहिनीहरु हिँडिरहेका छन् । सँगै पुरुषहरु पनि तीजबाट अछुतो रहँदैनन् । पछिल्लो समय त झण्डैझण्डै महिला समान पुरुषहरुको पनि तीजमा उपस्थिति हुने गरेको छ, तर तीज भड्किलो बनेर गएको तीतो यथार्थ हो । गरगहनाको प्रदर्शनदेखि खर्च गर्ने तरिकासम्ममा मान्छेहरुले आफ्नो सामाजिक हैसियत देखाउने अवसरहरुको रुपमा लिन थालेका छन् । यो तीज जस्तो पवित्र पर्वमा थोपरिएको सबैभन्दा ठूलो दुःख हो ।

यथार्थमा तीज रङहरुको पर्व पनि हो । गएको साउन हरियो रङको पर्व थियो । सँगै होलीलगायत धेरै रङ विशेष पर्वहरु छन् । यसरी हेर्दा कहिले हरियो, कहिले रातो रङहरु पर्व वा महिनाको विम्ब बोकेर आइरहन्छन् । रङले बोक्ने विम्ब सामाजिक दृष्टिकोणमा झल्किन्छ । विभिन्न समुदायका विश्वास, पद्धतिहरुमा झल्किन्छन् । जस्तो: हिन्दू समाजले सेतो रङलाई दुःखको विम्ब ठान्छ । क्रिश्चियन धर्म अङ्गाल्नेहरु सेतो रङ विवाह उत्सवमा लगाउँछन् । समाज, समुदायअनुसार रङले बोक्ने फरकफरक अर्थ छ, बुझाइ छ ।

अहिले तीजका विभिन्न कार्यक्रममा राता रङहरुले ढपक्कै ढाकिएर महिला दिदीबहिनीहरु हिँडिरहेका छन् । सँगै पुरुषहरु पनि तीजबाट अछुतो रहँदैनन् । पछिल्लो समय त झण्डैझण्डै महिला समान पुरुषहरुको पनि तीजमा उपस्थिति हुने गरेको छ, तर तीज भड्किलो बनेर गएको तीतो यथार्थ हो ।

वस्तुका रङको विम्बमा फरकफरक मान्यता, सङ्केत भए पनि मानिसको रङ बारेको धारणा वा सुन्दरतामा रङको आवरण मानिसहरुबीच संसारभर उस्तै किन हुन्छ ? मान्छेको रङले कस्तो विम्ब बोक्छ त ?

मान्छेको रङलाई लिएर विभेद गरिएका दुःखलाग्दो इतिहास छ । रङलाई लिएर युगौंदेखि विभेदमा परेकाहरुले गरेका ऐतिहासिक आन्दोलन र क्रान्तिहरु पनि इतिहासको दस्तावेजमा सुरक्षित छन्, तर अहिले पनि रङलाई लिएर गरिने विभेदको श्रृङ्खला रोकिएको छैन । अमेरिकामै काला जातिका मान्छेहरुले अहिले पनि विभेद भोगिरहेका घटनाहरु सार्वजनिक हुन्छन् । एसियन चेहरा भएका मान्छेहरुले अमेरिकामा भोगेको विभेदले पनि ठूलो चर्चा पाएको थियो ।

अमेरिकामात्रै होइन, संसारभर मान्छेको रङलाई लिएर गरिने विभेदको श्रृङ्खला अहिले पनि निरन्तर छ । झनै विकासोन्मुख देशरुमा रङलाई लिएर गरिने विभेदको फेहरिस्त डरलाग्दो छ । नेपालमै पनि मान्छेको रङलाई लिएर गरिने विभेदका श्रृङ्खलाहरु प्रशस्तै छन् ।

पत्रकार सुरेश बिडारीले केही समयअघि फेसबुकमा स्टाटस लेखेका थिए- ‘कालो वर्ण, दाह्री पालेको मान्छेलाई काठमाडौंमा भैया भन्दा रहेछन् ।’ उनले सार्वजनिक बसमा एक महिलालाई सीट छोड्दा खुट्टा हटाउने आग्रह गर्दा बिडारीलाई ती महिलाले गरेको ‘भैया’ सम्बोधन र आफ्नो वर्णलाई जोडेर स्टाटसमा व्याख्या गरेका थिए । सुरेश मकवानपुरको चिसो पहाडी ठाउँ चित्लाङमा जन्मिए । पत्रकारिताको कर्म नेपालको तराईमा गरे । अनुहार कालो वर्णका छन् । सुरेशको स्टाटस देखेपछि तीन महिनाअघि चीनमा भेटिएकी रुवान्डाकी साथी सोलाङ्गे टेट्रोको याद आयो ।

अफ्रिकी देश रुवान्डाकी नागरिक उनी सरकारी कर्मचारी हुन् । हामी सँगै पेकिङ विश्वविद्यालयको एक महिने कोर्ष पढिरहेका थियौं । हामी बस्ने होटल र कलेजबीचको दुरी करिब १० मिनेटमा थियो । दैनिक हिँडेर विश्वविद्यालय आउजाउ गर्दा घाममा हामी छाता ओढ्ने गर्थ्यौं, तर सोलाङ्गेले कहिल्यै छाता ओढिनन् । एकदिन उनी र म सँगै कलेजबाट निस्किएका थियौं । मैले छाता खोलें । उनले अङ्ग्रेजीमा भनिन्- ‘हामीलाई त हाम्रा लागिमात्रै घाम उदाए जस्तो लाग्छ ।’

मानिसको विकासक्रममै थियण्डरथल मानव प्रजाति जर्मनीमा भेटिएको र होमो सेपियन्स अफ्रिकामा भेटिएकोले गोरा प्रजाति र काला वर्णका मानिसका प्रजाति नै फरक हुन् भन्ने मानवशास्त्रीको तर्क एक समय चर्चित भएको थियो, तर मानवशास्त्रीहरुले नै अन्वेषणबाट यो तर्क गलत भएको सावित गरिसकेका छन् ।

उनको जवाफपछि मेरो मुखबाट अनायसै प्रश्न निस्कियो- ‘तिमीलाई आफ्नो रङप्रति हीनताबोध छ ?’ प्रश्न सोधिसकेपछि ओहो ! मैले यस्तो प्रश्न नगर्नुपर्थ्यो भन्ने लाग्यो मलाई । उनले लामो जवाफ सीधै दिइनन् । मात्रै भनिन्- ‘छैन ।’

त्यसपछि हामी दुबै चुप भयौं । उनीसँग आफ्नो रङसँग जोडिएको अनुभूति पक्कै हुँदो हो । किनकि केही वर्ष सैनिक सेवामा रहँदा भारत आएको प्रसङ्ग पनि उनले सुनाएकी थिइन्, तर हामीलाई विश्वविद्यालयको कार्यक्रममा ज्वाइन हुनुअघि नै यस्ता विषयमा सचेत हुन लिखित निर्देशन थियो, तर मलाई रङको सामाजिकीकरणको प्रश्नले भने आजपर्यन्त घच्घच्याइरहेको छ । ती रुवान्डाकी साथी वा पत्रकार साथी सुरेशका अनुभूतिले होइन । आफूसँगै हुर्किने क्रममा नजिकका साथी, आफ्ना मान्छेहरुले रङसँग जोडिएका प्रश्नमा गर्ने टिप्पणीका खात अनुभूति छन् ।

‘काली भए पनि राम्री छौ’, ‘तिमी मान्छे त राम्री हो, तर अलि काली !’ यी प्रश्न त मेरा लागि सामान्य झैं भइसकेका थिए, छन् । अझ कसैले त कस्तो इन्डियन जस्तो देखिन्छौ है भन्थे । म सधैं यी विषयलाई ‘ए’, ‘अँ’ भन्दै इग्नोर गर्दै आएँ । अलिअलि बुझ्ने भएको मेरो बच्चालाई आफन्तहरुले सिकाएका रङको विभेदका प्रसङ्ग त भनिसाध्य नै छैन । उनीहरुसँग बच्चा हुँदा भन्ने रहेछन्- ‘त्यस्तो काली आमाको यति गोरो छोरा कसरी भयो ?’

बल्लबल्ल बोली फुट्न लागेको छोराले मलाई धेरै पटक ‘मामु कालो, म गोरो’ भन्ने गर्न थाल्यो । मेरो बच्चाले यस्तो कुरा कसरी सिक्यो ? आफूले कहिल्यै उच्चारण नै नगरेको कुरा बच्चाको मानसिकतामा राम्रो/नराम्रोको परिभाषाको रुपमा कसरी घुसाइँदो रहेछ भन्ने कुरा त्यतिबेला नै स्पष्ट भइसकेको थिएँ म । उसलाई आफ्नै तरिकाले सिकाएँ- ‘मान्छेको माया त मुटुमा हुन्छ । अबदेखि कालो र गोरो नभन ल ।’ तोते बोल्ने मेरो छोराले ‘हस् मामु’ त भन्यो, तर, उसले जीवनभरलाई ‘कालो नराम्रो, गोरो छाला राम्रो’ भन्ने सिक्यो । मैले उसलाई सिकाएको थिइनँ । मेरा आफन्तले मसँग नै मेरा छोरालाई दाँजेर सिकाएका थिए ।

सुन्दरता मानिसको दृष्टिकोणको कुरा हो । मानिसलाई हेर्ने धारणा कसरी निर्माण गरिन्छ, त्यसैगरी सामाजिक वर्गीकरणको दृष्टिकोण निर्माण हुनेरहेछ । यसैलाई मानकको रुपमा समाजले धारण गर्ने रहेछन् ।

मानिसको विकासक्रममै थियण्डरथल मानव प्रजाति जर्मनीमा भेटिएको र होमो सेपियन्स अफ्रिकामा भेटिएकोले गोरा प्रजाति र काला वर्णका मानिसका प्रजाति नै फरक हुन् भन्ने मानवशास्त्रीको तर्क एक समय चर्चित भएको थियो, तर मानवशास्त्रीहरुले नै अन्वेषणबाट यो तर्क गलत भएको सावित गरिसकेका छन् ।

सुन्दरता मानिसको दृष्टिकोणको कुरा हो । मानिसलाई हेर्ने धारणा कसरी निर्माण गरिन्छ, त्यसैगरी सामाजिक वर्गीकरणको दृष्टिकोण निर्माण हुनेरहेछ । यसैलाई मानकको रुपमा समाजले धारण गर्ने रहेछन् । बलिया र शक्तिमा रहेकाले आफूलाई मनपरेका विम्बहरुलाई नै राम्रो, सुन्दर वा सही भन्ने मान्यताको विकास गर्दै गए । शक्तिले समाजलाई प्रभावित गरेको त हामीले मानव समाजको विकासक्रमको इतिहासबाट नै थाहा पाउँदै आएका छौं ।

शक्तिमा भएका मानिसले जबरजस्त गरेको तर्क मूलधारको रुपमा समाजले स्वीकार गर्दै आयो । जस्तोः कालो नराम्रो, गोरो वर्णका मान्छे राम्रा । महिला कमजोर, पुरुष बलशाली । ब्राह्मण चोखो, दलित बिटुलो । विश्वभरि उदाएका यी र यस्ता विभेदका विविध मान्यता नेपाली समाजमा अझ जबरजस्त छन्, परिवर्तन भइसकेका छैनन् । यही समाजभित्र भएका विभेदका विम्ब कहिले पत्रकार सुरेशलाई झैं सम्बोधनमा देखिन्छ त कहिले व्यवहारमा । त्यतिमा मात्रै सीमित छैन रङको विभेद । यो त सत्ताको अभ्यासदेखि शक्ति हातमा लिने संघर्षसम्म पाइन्छ । समाजभित्र रहेको विषाक्त बुझाइ यति जबरजस्त हुँदोरहेछ कि गलत तरिकाले बालबालिकामा समेत जबरजस्त घुसाउन यही समाजका मानिसलाई हतार हुनेरहेछ ।

मानिसको सामाजिकीकरणको प्रक्रियामा परिवारका बाबुआमाको मात्रै हात हुँदैन । उसको आफन्त, छिमेक, साथी, सामाजिक संस्थाहरु जबरजस्त सामाजिकीकरणका प्रक्रियामा सामेल हुने रहेछन् । जसले असलमात्रै होइन, गलत अभ्यास पनि मानिसलाई सिकाउने प्रयत्न गर्ने रहेछ । त्यसैले मानिसको रङप्रति गर्ने टिप्पणी वा बनाइने दृष्टिकोण पनि गलत सामाजिकीकरणको त्यो प्रक्रिया हो, जसले गलत बुझाइ विकास गर्न व्यक्तिलाई प्रेरित गर्छ, गरिरहेको छ । यसलाई अन्त्य गर्न सिङ्गो समाज र यहाँभित्रका सामाजिक संस्थाहरुले नै भूमिका खेल्नु जरुरी हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *