गौरी मल्लले बिर्सिन नसकेको त्यो थप्पड
वर्षेनी तीजको बेला बजारमा नयाँनयाँ गीत आउँछन् । एक तीजको गीत अर्को तीजमा हराउँछन् या त पुराना हुन्छन् । तीजमा बज्ने एकमात्र गीत छ, जो कहिल्यै पुरानो भएन । बरु, तीजैपिच्छे रौनक बढाउँदै यो गीत बजिरहन्छ-
गाऔं स्वर खोलेर दिदी र बहिनी
नाचौ न मिलेर दाम्लिई सैनी
तिजको रहर आयो बरिलै……
२०४५ सालमा नेपाली कथानक चलचित्र ‘कन्यादान’ प्रदर्शनमा आएदेखि नै यो गीतले नेपाली समाजको अनेकौं पुस्तालाई नचाउँदै आयो ।
चन्द्र पात्रोले भदौ शुक्ल तृतीयालाई हरितालिका तीजको मितिका रुपमा निर्धारण गरे पनि नेपाली समाजमा त्यसको एकडेढ महिना अगावैबाट रमझम शुरु हुने गरेको छ । त्यस क्रममा शालिन, सान्दर्भिक र लोकप्रिय गीतका रुपमा यसको प्रयोग हुँदै आएको छ ।
कुनै बेला थियो, योबाहेक तीजमा बजाउन गीत पाइनै मुस्किल ! त्यसो त नेपाली ग्रामीण समाजमा परापूर्वकालदेखि नै पर्व आधारित भाकाको अभाव कहिल्यै भएन । तीजका लागि पनि ठाउँपिच्छे स्थानीय भाकाका संगीतमा महिलाहरु नाच्थे । व्यवसायिक संगीत बजारमा तीजलाई प्रतिनिधित्व गर्ने सर्वाधिक लोकप्रिय गीत चाहिँ यही नै भयो । यसले तीजलाई गीतका नाममा मात्र हैन, तीज संस्कार, यसले आत्मसात गर्दै आएको मौलिक परम्परालाई पनि बोलेको छ ।
नौडाडा काटेर गएका चेली
भाग्यले भेट भएछौं फेरि
को कहाँ पुग्ने हो केही थाहा छैन
आगुम भेट फेरि हुने हो होइन
जतिबेला यो गीत रेकर्ड भई बजारमा आयो, त्यसबेलासम्म पनि यति चल्छ र आजसम्म यसले उत्तिकै नचाउँला भन्ने कल्पना गरेका थिएनन्, चलचित्र कन्यादानका निर्माता विनोद शेरचनले । भन्छन्, ‘मैले त प्रकाश थापाको प्रेसरमा यो फिल्मको कथा, गीतलाई ठीकै छ भनिदिएको थिएँ, यस्तरी चल्छ जस्तो लागेकै थिएन ।’
२०४४ सालताका विनोद पोखरामा सामान्य व्यापार गर्थे । नेपालमा रंगीन चलचित्र बन्ने क्रम शुरु भइसकेको थियो । निर्देशक प्रकाश थापाले बनाएको चलचित्र सन्तानको लोकप्रियता उत्कर्षमा थियो । त्यही देखेर ३०-३१ वर्ष उमेरका विनोदमा नेपाली चलचित्र निर्माणको सोख सवार भयो । उनका नातेदार तथा कलाकार कुलदीप शेरचनले फिल्म बनाउने भए प्रकाश थापासँग भेटाइदिने वाचा गरे ।
काठमाडौंमा निर्देशक थापासँग विनोदको भेट हुँदा दुई कथा सुनाए । एउटा ‘कन्यादान’ र अर्को थियो ‘अधिकार’ । बम्बईया चलचित्रको प्रभाव परेका विनोदले कन्यादानको कथा मन पराएनन् । किनभने त्यो बाल विवाहविरुद्ध थियो । चलचित्र भनेको हिरो-हिरोइनको रोमान्स, नाचगान र डाङ्डुङ (फाइट) भन्ने मान्यता राख्थे, तर प्रकाश थापाले आधा घण्टा लगाएर बाल विवाहविरुद्धको चलचित्र बनाउनुपर्ने कुरामा उनलाई मनाएरै छाडे ।
‘त्यसले चलचित्र व्यवसाय, समाज र भावी पुस्ताका निम्ति राम्रो योगदान हुने भन्नुभयो, म व्यापारीले कुरा बुझे पो’, उनी भन्छन्, ‘त्यत्तिको डाइरेक्टर सा’बले भनिसकेपछि मैले केही भन्नै सकिनँ, ल त हुन्छ नि भनिदिएँ ।’
त्यसपछिका सम्पूर्ण प्रक्रियामा निर्देशक थापा नै निर्णायक रहे । त्यसको पटकथा, संवाद, कलाकार, संगीत, प्राविधिकसम्मको छनोटका क्रममा निर्देशक थापाले जे-जे भने, शेरचनले त्यही-त्यही मानिरहें ।
‘यो फिल्म बनाएर डुब्न त डुबिने भयो (घाटा), कतिमा डुब्ने भन्नेमात्रै कुरा थियो’, शेरचन भन्छन्, ‘तर काम गर्दै जाँदा डुबिँदैन कि भन्ने पनि लागेको थियो ।’
अहिलेसम्म चल्तीमा रहेको गीत ‘तीजको लहर आयो बरिलै’ उनले शुरुमा हार्मोनियममा सुने, मुम्बईमा । त्यसबेलासम्म उनी हार्मोनियममा गीत सुन्न अभ्यस्त भइसकेका थिएनन् । त्यही रेकर्ड भयो । त्यसपछि सुन्दा गीत उनलाई पनि मनपर्यो ।
शेरचनलाई संगीतकार, गीतकार, गायक, गायिकका विषयमा केही मतलब थिएन । किनभने सबै जिम्मा निर्देशक थापाकै थियो । उनैले मनोहरि सिंहलाई संगीतकारका रुपमा छनोट गरेका थिए । उक्त गीतका गीतकार चेतन कार्की शेरचनकै शहर पोखराका बासिन्दा । नचिनेको हैन, तर बोल्न डराउँथे ।
‘उहाँ एकदमै प्रतिष्ठित व्यक्ति भएकाले उहाँसँग सीधै बोल्न अप्ठेरो मान्थ्यौं’, शेरचनले भने, ‘उहाँले लेखेको गीत मेरै फिल्मको हो भन्ने थाहा पाएपछि राम्रो काम गर्न लाग्यौ, स्याबास भन्नुभयो ।’
संगीतकार मनोहरि सिंह निर्देशक प्रकाश थापा जस्तै नेपालका मूलवासी, तर मुम्बईको चलचित्र नगरीमा हुर्किएका । निर्देशक थापा धनकुटा, मुगाका थिए । सानै उमेरमा मुम्बई गएर चलचित्रसम्बन्धी अध्ययन र काम गरी स्वदेश फर्किएका थिए ।
संगीतकार सिंह चाहिँ ललितपुर थातथलो भएका व्यक्ति । ‘मट्टारे’, अर्थात् इमाडोल भेगका भुसाल परिवारका सदस्य थिए । उनका बुबा भीमसिंह भुसाल रोजगारीका सिलसिलामा कोलकाता पुगे । यही क्रममा मनोहरि त्यहाँको चिनचुवामा जन्मिए, उतै संगीत सिके । मुम्बईमा भारत वर्षका मूर्धन्य संगीतकार आरडी बर्मनको सहायकका रुपमा काम गर्ने अवसर पाए । उनी सेक्सोफोन वादकका रुपमा प्रख्यात छन् । बाँसुरी, मेन्डोलियन र सहनाई वादनमा पनि उनी निपुण थिए । उनले थुप्रै नेपाली गीतमा संगीत भरे ।
मनोहरिले नै छानेका थिए, ‘तीजको लहर आयो बरिलै’ का गायिकाद्वय दीपा झा र पूर्णिमा श्रेष्ठ । त्यसबेला दीपालाई ‘गहतराज’ थरले चिनिन्थ्यो, पछि पति उदितनारायणको थर लेख्न थालिन्, ‘झा’ । पूर्णिमालाई त्यसबेला ‘सुषमा’ नामले चिनिन्थ्यो ।
मनोहरिले संगीतकारका रुपमा कन्यादानभन्दा पहिला काम गरेको चलचित्र सन्तान थियो । त्यसमा ‘हिमाललाई साक्षी राखी आऊ मीठो वाचा गरौं’ सहितका सबै गीत चलेका थिए ।
मनिषा कोइराला, प्रकाश अधिकारी अभिनित चलचित्र ‘फेरि भेटौंला’मा पनि उनकै संगीत छ । त्यसमा ‘मोहनी मायाको हो कि’, ‘सिरीसिरी बतासैले, नीलो आकाशैले’ सहितका गीत बजारमा निकै चले ।
नेपाली चलचित्रमा मनोहरिको अर्को उल्लेख्य योगदान हो, पार्श्व संगीत (व्याग्राउण्ड म्युजिक) को शुरुवात गर्नु । उनले चलचित्र जीवनरेखामा पहिलो पटक पार्श्व संगीत शुरु गरे ।
चलचित्रकर्मी तथा संगीत विश्लेषक प्रकाश सायमी भन्छन्, ‘त्यसअघिका नेपाली चलचित्रमा पाश्र्व संगीत हाल्ने चलन थिएन ।’
त्यसो त मनोहरिले प्रेमध्वज प्रधानका गीतहरुको संगीत संयोजन (एरेन्जमेन्ट) पनि गरे । ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआऊ है’ सहितका गीत उनको संगीत संयोजनमा तयारी भई मुम्बईमा रेकर्ड भएका थिए ।
अनेक योगदानमध्ये संगीतकारका रुपमा मनोहरिको पहिचानलाई ‘तीजको लहर आयो बरिलै’ ले स्थापित गरेको दाबी सायमीको छ । ‘नेपालमा कुनै नाचगानको गीतले यसरी तीन दशकसम्म एकैनाश बजार पाउनु चानचुने कुरा हैन’, सायमी भन्छन्, ‘यसमा संगीत जत्तिकै बलियो शब्द छ । तीज पर्व के हो भन्ने कुरालाई गीतभित्रै बोलिएको छ । चेतन दाइ जीवनप्रति कुनै कुरामा सन्तुष्ट हुनुहुन्थ्यो भने त्यो यही गीतमा थियो ।’
गौरीले खाएको थप्पड
चलचित्र कन्यादानको सम्पूर्ण सुटिङ पोखरामा भएको थियो । त्यसमध्ये ९० प्रतिशत सुटिङ पुम्दीभुम्दी आसपासमै भयो ।
‘तीजको लहर आयो बरिलै’ गीतको छायांकन पनि त्यही भयो । ‘अरु गीतका लागि बजार-बगैंचातिर जानुपर्यो, त्यो गीत चाहिँ एकै ठाउँमा खिच्यौं’, निर्माता शेरचन भन्छन्, ‘मौसम चाहिँ बेस्सरी गर्मीको थियो, असार-साउनको ।’
गीतमा गौरी मल्ल र समूहको नाच छ । विनोदलाई लागेको थियो, कलाकारमा पनि हिरोइन चाहिँ अप्ठेरा हुन्छन् । महँगा कुरा माग गर्छन् । गौरी चाहिँ सोचेभन्दा ठीक उल्टो पाए ।
‘त्यस्तो गर्मीमा दिनभरि नाच्दा पनि चिसो खाम्, यस्तो चाहियो, उस्तो चाहियो नभन्ने’, शेरचन सम्झिन्छन्, ‘हामीले पंखाको व्यवस्था गरेका थियौं, त्यसले पनि दिउँसो त तातो हावा फाल्थ्यो, गौरीजी आफैं कुनै चिजले मुखमा हम्किएर आनन्द लिनुहुन्थ्यो ।’
भर्खरभर्खरको चलचित्र जीवन भएका कारण दुःखलाई पनि दुःखका रुपमा नलिएको भन्छिन्, नायिका गौरी मल्ल । त्यही गीतको सुटिङका क्रममा हो, उनले जीवनकै सबैभन्दा बढी दुख्ने थप्पड खाएको ।
सुटिङका क्रममा नृत्य निर्देशक वसन्त श्रेष्ठका मायालु शैलीका गाली र त्योभन्दा बढी सासूको भूमिकामा रहेकी शुभद्रा अधिकारीले हानेको थप्पड कहिल्यै बिर्सिन्नन् । ‘तर ती दिन एकदमै प्रिय थियो, आज पनि सम्झिँदा आनन्द लाग्छ’, उनी भन्छिन्, ‘यस्तो गर्मी थियो, तर गर्मीको महसुस नै हुन पाएन । पोखरा न हो, जति गर्मी भए पनि एकछिनमा पानी परिहाल्थ्यो ।’
चलचित्रको कथाअनुसार गौरी बाल विवाह भएकी पात्र थिइन् । पोखराबाट स्याङ्जातर्फ जाने बाटोभित्रको गाउँ पुम्दीभुम्दीस्थित ठूलीबिडीमा सुटिङको सेट लगाइएको थियो, जहाँ गौरीका पतिको घर थियो । गीतको सुटिङ पनि त्यही भयो ।
पतिको निधन भइसकेपछि गौरी एकल (विधवा) भइन् । सेतो सारी लगाई टोलाएर बसेकी थिइन् । तीजको रमझममा टाढाटाढाका दिदीबहिनी भेला भएको दृश्यले उनलाई कल्पनामा डुबाउँछ । यस्तो कल्पना गर्छिन् कि ती दिदीबहिनीमध्ये एक जना आफैं हुन् र उनी गीतमा नाच्छिन्, तर नाच्दानाच्दै टोलाएर बसेकी उनको ध्यान भंग हुन्छ, सासूले हानेको थप्पडबाट ।
सासूलाई एक जना साथीले उनी टोलाएर बसेको देखाइदिन्छिन् । परम्परागत समाजको रुढी चिन्तनअनुसार विधवा महिलाले मनोरञ्जनका कुनै पनि गतिविधिमा भाग लिनुहुँदैन भन्ने मान्यता राखिन्थ्यो । तीजको रमझममा भाग लिनु त अपराधै ठहर्थ्यो, हेर्नुसम्म पनि ‘पाप’ मानिन्थ्यो । गौरी सेतो वस्त्रमा त्यही ‘पाप कार्य’ मा सरिक भएको भन्दै सासूको भूमिकामा रहेकी शुभद्राले थप्पड हानेर ‘घर जा’ भनेकी थिइन् । संवाद थियो, ‘घरको काम छाडेर कहाँ हिँडेकी ?’
यो गीत विशुद्ध चलचित्रको कथानकसँग सम्बद्ध थियो । अर्थात्, चलचित्रको कथालाई अगाडि बढाउने दृश्यसहितको । त्यसैले बीचबीचमा संवाद र अन्य दृश्य पनि खिचिएको थियो । यसमा नृत्य निर्देशकको मात्रै काम पर्दैन, मुख्य निर्देशक पनि चाहिन्छ । त्यसैले त्यहाँ प्रकाश थापा पनि थिए । गौरीलाई थप्पड हान्ने दृश्यांकनको रोचक पक्ष थियो, पहिलो थप्पडले उनलाई नदुख्नु । गौरीलाई थप्पडले दुःखेन, त्यसैले उनको अनुहारबाट दुःखेको भाव (एक्सप्रेसन) पनि आएन । त्यसपछि प्रकाश थापा कराउन थाले, ‘कट-कट ।’ अर्थात्, टेक ओके भएन । अनि अर्को निर्देशन दिए, ‘यस्तो पनि थप्पड हुन्छ, मज्जाले हान न ।’
त्यसपछि शुभद्राले गौरीको गाला सुम्सुम्याइन् र भनिन्, ‘आम्मै नि, यति कलिलो, मायालाग्दो गालामा कसरी थप्पड हान्नु ? नाइँ सक्दिनँ म त !’
गौरीले भनिन्, ‘हैन दिज्यू, मज्जाले हानिस्यो, अलिअलि दुःखाइ खप्छु ।’
त्यसपछि शुरु भयो अर्को टेक । प्रकाश थापाले ‘स्टार्ट साउन्ड’ भनेपछि क्रमैसँग क्यामेरा रोलिङ भयो र ‘एक्सन’ भन्नासाथ शुभद्राले यसरी चड्कन हानिन् कि गौरीले एकछिनसम्म आँखा पनि राम्ररी हेर्न सकिनन् ।
‘मेरो त गिदी नै थर्थराएर दुःख्यो नि । अहिले पनि त्यो सुटिङ सम्झिँदा गिदी नै हल्लिए जस्तो हुन्छ’, गौरी भन्छिन्, ‘शुभद्रा दिज्यूले मेरै अनुरोधमा बेस्सरी हानिसेको हो, त्यसैले गुनासो गर्नुपर्ने त कुरै छैन ।’
२०७६ साउन ३२ गते ७२ वर्षको उमेरमा निमोनियाका कारण निधन भएकी शुभद्रालाई सम्झिँदै गौरी भन्छिन्, ‘उहाँ हाम्रो सच्चा अभिभावक नै हुनुहुन्थ्यो ।’
यो गीत समाविष्ट चलचित्रका निर्देशक प्रकाश थापाको २०६१ जेठ १३ गते निधन भयो । सन् २०१३ मा संगीतकार मनोहरि सिंहको निधन भयो । विश्वव्यापी महामारी कोभिडका कारण २०७८ जेठ २ गते गीतकार चेतन कार्कीको निधन भयो ।