चीनबाट अर्थशास्त्रमा पीएचडी गरेका हाँस गोठाले – Nepal Press

चीनबाट अर्थशास्त्रमा पीएचडी गरेका हाँस गोठाले

रुपन्देही । लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य डा‍. दामोदर भुसाल हाँसपालन गरिरहेका छन् भन्दा धेरैलाई विश्वास नलाग्नसक्छ । राजनीतिलाई उत्पादनसँग नजोडेसम्म अहिलेको अवस्था सुधार हुन्न र नयाँ पुस्तालाई राजनीतिमा जोड्न सकिन्न भन्ने बहस चलाइरहेका भुसाल अहिले आफैं उत्पादन कार्यमा होमिएका छन् । आफूले गरेर देखाएपछि मात्रै अरुले विश्वास गर्ने भएकाले आफै उत्पादन कार्यमा लागेको उनी बताउँछन् ।

डा. भुसाल यसअघि गुल्मीमा लामो समय नेपाली कांग्रेसको क्षेत्रीय सभापति भए । अहिले पनि पार्टीमा निरन्तर काम गरिरहेका छन् । सँगसँगै उद्यमलाई अगाडि बढाइरहेका छन् । अर्थशास्त्रमा पीएचडी गरेका दामोदर कृषि क्षेत्रबाटै समृद्धि खोज्ने अभियानमा छन् ।

अध्ययनको क्रममा चीनमा बस्दा सिकेको सीपअनुसार उत्पादन कार्यमा लागेका भुसाल कृषिबाट आत्मनिर्भर हुन बहुउपयोगी खेती प्रणाली अपनाउनुपर्ने बताउँछन् । आफू पनि त्यसैमा लागेका छन् उनी ।

भुसालले चीनमा धान खेतमा हाँस र माछापालन गरेको देखेको स्वदेशमा आएर यही प्रणालीमा खेती सुरु गरेको बताउँछन् । ‘एकातिर धान खेती र त्यससँगै हुने हाँसबाट मुनाफा अलग्गै हुने भएकाले यो विधि निकै उत्तम छ’, उनको विश्लेषण छ । भुसालले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा थालेको बहुउपयोगी उत्पादन विधि अरु स्थानीयले पनि अनुशरण गर्न थालेका छन् ।

‘धानखेती र हाँसपालन एकै पटक गर्न सकिने विषय मैले चीनमा पढ्न गएको समयमा देखें, त्यो सम्भव रहेछ, एकै लगानीमा डबल आम्दानी हुनेमात्र होइन, धानमा पनि २० देखि ३० प्रतिशतसम्म उत्पादन बढाउन हाँसपालनले सहयोग पुराउने रहेछ’, डा. भुसालले भने ।

उनी सन् २०२० मा अध्ययन सकाएर चीनबाट फर्किएका हुन् । स्वदेश फर्केर यस्तो काम थालेपछि उनका आफन्त र केही साथीहरुले हाँसोमा उडाएको उनी सुनाउँछन् । तर यसबाट आउने प्रतिफल देखेर अरुले पनि बहुउपयोगी कृषि प्रणाली शुरु गरेपछि सबैले प्रशंसा गर्न थालेको उनको भनाइ छ ।

‘खेतमा हाँस चर्न थालेपछि त्यहाँका झारपात, कीरा खाने भएकाले धानमा अन्य रोग लाग्दैन । दिनभर हाँस बसेपछि तिनीहरुले दिसापिसाब नि त्यही गर्ने भए, जसले मलको काम गर्ने । माटो पनि मलिलो हुन्छ’, डा. भुसालले भने, ‘वातावरणीय सन्तुलनका लागि पनि यो निकै महत्वपूर्ण हुन्छ । अहिले सबैतिर माटो धेरै बिग्रेको छ । यो खालको प्रयास भएमा हाँस आयात पनि गर्नुपरेन ।’

यो प्रणालीबाट खेती गर्दा अर्गानिक कृषिजन्य वस्तु उत्पादन हुने उनको भनाइ छ ।

‘मान्छेलाई सम्झाउनै धेरै गाह्रो रहेछ नि, विदेशी मुलुकमा यही प्रणालीबाट कति उत्पादन बढाएका छन्, यहाँ सरकारले पनि यस्ता नीतिलाई प्राथमिकता दिँदैन’, डा. भुसालले थपे, ‘किसानले पनि चेतनाको अभावमा विश्वास कम गर्छन् । यसबाट मैले राम्रो प्रतिफल निकालिरहेको छु । त्यसैले म यो विधिमा ढुक्क छु ।’

उनका अनुसार अहिले आफेनो अभियानबाट प्रभावित भएर तिलोत्तमाको उद्यमशील टोलका धेरै स्थानीयले यही प्रणालीबाट खेती गर्दै आएका छन् । जसले धान उत्पादनसमेत बढेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० उद्यमशील टोलका २६ घरधुरीले धान खेतीसँगै हाँस र माछापालन गर्दै आएका छन् ।

एकातिर धान उत्पादन बढको र हाँस तथा माछाबाट पनि थप आम्दानी गर्न सकिने भएपछि ४ वर्षदेखि डा. भुसालकै बाटोमा लागेको स्थानीय बताउँछन् । उद्यमशील टोलका धान हुर्किरहेको खेतमा अहिले किसानहरु हाँस चराउँदै गरेकोे दृश्य देखिन्छ ।

‘धान रोपेर हुर्केपछि हाँसका बच्चाहरु खेतमा छोडिन्छ, अलिकति सानो छँदा यसलाई बचाउन हेर्नुपर्ने भए पनि केही हुर्किएपछि तिनीहरु आफैं जोगिन सक्छन्’, उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुन भन्छन्, ‘त्यसपछि त खेतमा हाँसले नै खेतालाको काम गर्छन्, धानमा लाग्ने झार, कीराफट्याङ्ग्रा हाँसले खाएर माटोलाई चलाइदिँदा धान उत्पादन वृद्धि हुन्छ ।’

स्थानीय किसान रामबहादुर पुनका अनुसार उद्यमशील टोलका धेरै किसानले अहिले खेतमा हाँस पालेका छन् । उनले खेतमा हाँसपालनले हाँस सँगसँगै धान उत्पादन बढेको बताए ।

कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी राजेन्द्र यादवका अनुसार यसप्रकारको खेती कति जनाले गरेको भन्ने तथ्यांक नभए पनि यस्तो प्रणालीबाट किसानलाई दोहोरो फाइदा हुन्छ ।

बहुउपयोगी कृषि प्रणालीका अगुवा डा. भुसाल रेमिट्यान्सलाई उद्यमशीलतामा कसरी लैजान सकिन्छ भन्ने विषयमा खोज अनुसन्धान गरेकाले पनि यस्ता आधारभूत विषयलाई सचेतनाका रुपमा अघि बढाएको बताउँछन् ।

‘सामाजिक उद्यमशीलता बढाउँदै लैजानुपर्ने छ, देशभित्रै कुनै सम्भावना छैन भनेर ठूलो ऊर्जावान शक्ति बाहिर गइरहेको छ । यस्तो समयमा केही जानेका विषयमा सुरुवात नगरे सबैलाई चिन्ता बढाउनेछ’, उनी भन्छन्, ‘अहिले ठूला व्यवसायमा भन्दा यस्ता साना र तत्कालै नजिता देखिने काम अगाडि बढाउने योजना तीनै तहका सरकारले अघि सार्नुपर्छ ।’

उनका अनुसार यस किसिमको कृषि कार्यले वातावरणीय सन्तुलन कायम गराउनुपर्नेछ, जैविक सन्तुलन कायम गराउनुपर्नेछ । ‘प्रकृति र पर्यटनमा आधारित यस्ता योजनालाई अगाडि बढाउनुपर्दछ भन्ने योजनाका साथ म अगाडि बढेको हुँ’, उनले भने, ‘तत्काल देख्दा मलाई आलोचना गर्न खोज्नेहरु विस्तारै यसको प्रतिफल देखेर राम्रै रहेछ भन्ने तहमा पुगेका छन्, अब यही सचेतनाको खाँचो छ ।’

उनले आफू आवद्ध राजनीतिक पार्टी र अन्य दललाई पनि उद्यमशीलतामा लैजाने अभियान चलाउने बताए । ‘विश्वका धेरै सक्षम देशलाई हेर्न सकिन्छ, छिमेकी चीनलाई हेर्न सकिन्छ, अब राजनीति गर्ने हरेक नेतामात्रै होइन, कार्यकर्ता नै उद्यमी नबनेसम्म देश आत्मनिर्भर बन्न सक्दैन’, उनले भने, ‘अब यो अभियानलाई दबाबको रुपमा अगाडि बढाउनुपर्छ । यो सन्देश सबैले सबैतिर फैलाऔं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर