देउवा परिवारको ध्रुविकरण: आरजुकी आमा राप्रपामा पुन: सक्रिय – Nepal Press

देउवा परिवारको ध्रुविकरण: आरजुकी आमा राप्रपामा पुन: सक्रिय

लिङ्देनले बनाए केन्द्रीय सल्लाहकार समिति सदस्य

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासु एवं परराष्ट्रमन्त्री डा. आरजु राणाकी आमा प्रतिभा राणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि सक्रिय बनेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो उनलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरे ।

राणा पहिल्यैदेखि राप्रपामा आवद्ध भएर विभिन्न लाभको पदमा समेत पुगेकी थिइन् । उनी जापानका लागि नेपालकी राजदुत भइन् । पछिल्लो समय निस्क्रिय थिइन् ।

लामो समय राप्रपा केन्द्रीय सदस्य रहेकी राणा पहिलो संविधानसभामा राप्रपाबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत बनिन् ।

२०७४ सालमा राणा जापानका लागि नेपाली राजदूत नियुक्त भइन् । कमल थापा परराष्ट्रमन्त्री भएका बेला राप्रपाबाट प्रतिभासहित निरञ्जन थापा र भरत रायमाझीलाई राजदूत बनाएका थिए । सरकार परिवर्तनपछि थापा र रायमाझी फिर्ता बोलाइए पनि प्रतिभा भने फर्किनु परेन । देउवाको राजनीतिक आडमा उनले राजदुतको ४ वर्षको पुरै कार्यकाल व्यतित गरेकी थिइन् ।

२०७८ सालमा राजदूतको कार्यकाल सकिएपछि भने राणा पार्टीमा सक्रिय रहिनन् । अहिले फेरि राप्रपा केन्द्रीय सल्लाहकारका रूपमा सक्रिय राजनीतिमा फर्किएकी हुन् ।राणासँगै ललितपुरका बद्री सिलवाल, धादिङका गणेशबहादुर अधिकारी र रौतहटका जगदिशलाल श्रीवास्तवलाई पनि केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएकाे छ ।

छोरी आरजु शक्तिशाली परराष्ट्रमन्त्री भएका बखत फरक पार्टीमा प्रतिभाको राजनीतिक पुनरागमन भएको हाे । राप्रपा अहिले संसदको प्रतिपक्षमा छ ।

प्रतिभाका बुबाको नाम पनि शेरबहादुर हो ।उनका बुबा शेरबहादुर मल्ल नेपाली सेनाका जर्नेल थिए । उनी राजा महेन्द्रका शाही पाश्र्वर्ती (एडीसी)समेत थिए ।


प्रतिक्रिया

One thought on “देउवा परिवारको ध्रुविकरण: आरजुकी आमा राप्रपामा पुन: सक्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर