नेसपा विवाद: यादव-श्रेष्ठ पक्षले बाबुराम पक्षलाई गरायो सचेत – Nepal Press

नेसपा विवाद: यादव-श्रेष्ठ पक्षले बाबुराम पक्षलाई गरायो सचेत

काठमाडौं । नेपाल समाजवादी पार्टी महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षले आफ्ना पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि अराजनीतिक गालीगलौज बन्द गर्न सचेत गराएको छ ।

नेपाल समाजवादी पार्टी यादव-श्रेष्ठ पक्षले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भाद्र १४ गते प्रवक्ता कृष्ण शर्माको नामबाट वक्तव्य जारी भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वक्तव्यमा पार्टीका अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठमाथि तल्लोस्तरको आरोप लगाइएको भन्दै सो आरोप खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ । महासचिव रमेशप्रसाद यादवको हस्ताक्षरमा जारी विज्ञप्तिमा आफ्ना अध्यक्ष र सहअध्यक्षमाथिको अराजनीतिक गालीगलौज बन्द गर्न सचेत गरिएको छ ।

नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कि नगर्ने भन्ने विवाद हुँदा नेपाल समाजवादी पार्टी दुई खेमामा बाँडिएको छ । दुई अध्यक्ष रहेको नेसपामा डा. बाबुराम भट्टराई पक्षधर माओवादी केन्द्रसँग एकता नगर्ने पक्षमा छ भने अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षधर माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा छ ।

दुवै पक्षले छुट्टाछुट्टै पार्टीका गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । यसै सन्दर्भमा शुक्रबार डा. भट्टराई पक्षले प्रेस विज्ञप्ति जारी गर्दै यादव र श्रेष्ठलाई अनुशासनहीन व्यक्तिको संज्ञा दिँदै दूषित मनसायका साथ पार्टीको नाम, झण्डा र एजेण्डाहरुको दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको आरोप लगाएको थियो ।

सो आरोपको खण्डन गर्दै यादव-श्रेष्ठ पक्षले पार्टी केन्द्रीय समितिको बैठक र निर्णय दुई अध्यक्षको सहमति र उपस्थितिमा गर्नुपर्नेमा अध्यक्ष भट्टराईले २०८० चैत ५ गते अवैधानिक रूपमा एकतर्फी ढंगबाट केन्द्रीय समितिको बैठक बोलाइ पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने घोषणासहित केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको आरोप लगाएको छ ।

त्यस्तै आयोजक समिति घोषणापश्चात् २०८१ जेठ १२ गते पुनः आफैंले महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको केन्द्रीय समितिलाई थपघट गरी २०८१ जेठ १६ गते अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएर अवैधानिक र अराजनीतिक निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

भट्टराई पक्षको उक्त निर्णय अवैध घोषणा गर्न २०८१ असार १३ गते निर्वाचन आयोगमा आफूहरुले निवेदन दर्ता गराएको भन्दै यादव-श्रेष्ठ पक्षले आफूहरु निर्वाचन आयोगको जवाफको प्रतीक्षामा रहेको बताएको छ ।

आवश्यक परे थप कानूनी प्रक्रियामा जान पार्टी तयार रहेको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर