कोशीमा तेस्राे पटक सत्ता बाहिर हुत्तियाे माओवादी – Nepal Press

कोशीमा तेस्राे पटक सत्ता बाहिर हुत्तियाे माओवादी

भीम आचार्यको कार्यकालमा ६८ र हिक्मतको नेतृत्वमा ३० दिनमात्रै सत्ता बाहिर

विराटनगर । कोशीमा प्रदेश सरकार बनेको सात वर्षमा तेस्रो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । प्रदेश सरकार बनेको सात वर्ष बित्दा माओवादी अधिकांश समय सत्ताको वरिपरि रहँदै आएको छ ।

एमाले नेता भीम आचार्यको नेतृत्वमा प्रदेश सरकार बन्दा पहिलो पटक माओवादी सत्ता भन्दा बाहिर परेको थियो । मुख्यमन्त्रीको रूपमा आचार्यले ६८ दिन प्रदेश सरकारको नेतृत्व गरे । आचार्य २०७८ साल भदौ २ गते मुख्यमन्त्री नियुक्ति भएका थिए । उनले कार्तिकमा राजीनामा दिए ।

नेकपामा आएको विभाजन र एमालेभित्र देखिएको आन्तरिक गुटबन्दीका कारण तत्कालीन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि एमाले नेता आचार्य मुख्यमन्त्री भएका थिए ।

उनको कार्यकालमा माओवादी सरकार बाहिर रह्यो । उनी मुख्यमन्त्रीबाट हटेसँगै माओवादी पुनः सत्तामा पुगेको थियो ।

दोस्रो पटक भने हिक्मत कार्कीले सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री हुँदा माओवादी ३० दिन सरकार बाहिर बस्नुपरेको कोशी प्रदेशसभाको रेकर्डले देखाएको छ ।

२०८० साल भदौ २२ गते कार्की संविधानको धारा १६८ (३) अन्तर्गत प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले ३० दिनपछि असोज २० गते विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिए । कार्कीको दोस्रो कार्यकालमा माओवादी सरकार बाहिरै रह्यो ।

कोशीमा माओवादी तेस्रो पटक प्रतिपक्षमा पुगेको छ । कोशीमा सरकारमा सहभागी माओवादीका ३ मन्त्री र एक राज्यमन्त्रीले साउन ११ गते राजीनामा दिएका थिए । मन्त्रीहरु राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

नेकपा माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मात्रै वर्तमान मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै माओवादी तेस्रो पटक प्रतिपक्षमा धकेलिएको छ ।

माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मत कार्की तेस्रो पटक वैशाख २९ गते मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेस-एमालेबीचमा सत्ता साझेदारी गर्ने असार १८ गते सहमति भएको थियो । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा माओवादी सत्ताबाट हुत्तिएको हो ।

कोशीमा माओवादीको सत्तारोहण

कोशीमा नेकपा हुँदै माओवादीको सत्तारोहण भएको थियो । प्रदेशसभाको पहिलो निर्वाचनमा माओवादीले एमालेसँगको गठबन्धनमा निर्वाचन लडेको थियो । निर्वाचन सम्पन्न भएसँगै एमाले र माओवादी मिलेर नेकपा बनेको थियो । त्यसपछि माओवादी पहिलो पटक तत्कालीन १ नम्बर प्रदेश सरकारको सत्तामा पुगेको हो ।

कोशीको पहिलो मुख्यमन्त्रीको रूपमा शेरधन राई नियुक्त भएका थिए । राई २०७४ साल फागुन २ गते मुख्यमन्त्रीमा नियुक्त भए ।
नेकपामा आएको विभाजन र एमालेभित्र देखिएको आन्तरिक गुटबन्दीका कारण राईले राजीनामा दिए । उनको राजीनामासँगै सरकारबाट बाहिरिएको माओवादी ६८ दिनपछि पुनः सत्तामा फर्कियो ।

एमालेको एकल सरकारको नेतृत्व गर्दै आचार्य ७८ भदौ २ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी कार्तिक १५ गते मुख्यमन्त्रीबाट हटेका थिए ।

मुख्यमन्त्रीबाट आचार्य हटेसँगै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता राजेन्द्र राई मुख्यमन्त्री भए । राई २०७८ कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुँदा माओवादी पनि सत्तामा पुग्यो । राईलाई माओवादीसँगै नेपाली कांग्रेसले समर्थन गरेको थियो ।

दोस्रो कार्यकालका लागि भएको प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेन । एमाले-माओवादीबीच केन्द्रमा सत्ता गठबन्धन बनेसँगै ४० सीट रहेको नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा २०७९ पुस २४ सरकार गठन भयो ।

संविधानको धारा १६८ (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकारलाई माओवादी, राप्रपा र जसपाको समर्थन रहेको थियो । माओवादी सरकारमै सहभागी भएको थियो ।

केन्द्रमा सत्ता परिवर्तन भएसँगै माओवादी र जसपाले दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा पर्‍यो । कार्की अल्पमतमा परेसँगै २०८० असार १५ गते विश्वासको मत पाउन नसकेपछि सरकारबाट हटे ।

कार्की सरकारबाट हटे पनि माओवादीले भने सरकार छाड्नुपरेन । असार २१ गते नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बन्दा माओवादी पुनः सरकारमा सहभागी भयो । थापा मुख्यमन्त्री बन्दा बहालवाला सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका थिए । उनी माओवादीबाट प्रदेशसभामा विजयी हुँदै सभामुख बनेका थिए ।

माओवादीले सभामुख गुमायाे

सभामुखको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएपछि एमाले सर्वोच्च अदालत गयो । एमालेको रिट निवेदनमा सर्वोच्चले सुनुवाइ गर्दै साउन ११ गते बिहीबार थापालाई पदमुक्त गर्‍यो । थापा पदमुक्त भएकै दिन सभामुख गाैतमलाई राजीनामा गराएर पुनः थापाले मुख्यमन्त्रीको रूपमा दाबी पेस गरे ।

उनी दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भए । दोस्रो पटक थापा मुख्यमन्त्री बन्दा थापा नेतृत्वको दोस्रो सरकारमा पनि माओवादी सहभागी भएको थियो ।

थापालाई पुन सर्वोच्चले पद मुक्त गर्‍यो । २०८० साल भदौ ४ गते प्रदेशसभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले फेरि रिट निवेदन लिएर सर्वोच्च अदालत गएको थियो ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापालाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेपछि सभा चलाउने जिम्मेवारी उपसभामुखलाई थियो, तर उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएकाले बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै अध्यक्ष मण्डलका सदस्य अन्सारीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन् ।

अन्सारीले सभा चलाउँदै थापालाई विश्वासको मत दिएको भन्दै एमालेले रिट निवेदन हालेको थियो । सो रिटउपर सुनुवाइ गर्दै सर्वोच्चले थापालाई २०८० साल भदौ २१ गते दोस्रो पटक मुख्यमन्त्रीबाट बर्खास्त गर्ने आदेश दिएको थियो ।

थापा पद मुक्त भएपछि एमाले संसदीय दलका नेता हिक्तम कार्की २०८० साल भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भए । उनी मुख्यमन्त्री भएको ३० दिनमै माओवादी सत्ता बाहिरमात्रै पुगेन भएकाे सभामुख पद पनि गुमाउनुपरेकाे थियाे ।

ठूलो दलको रूपमा मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि केदार कार्की मुख्यमन्त्रीको रूपमा असोज २७ गते नियुक्त भए । कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कांग्रेसका ८ र एमालेका ४० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनी २०८० असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनी मुख्यमन्त्री बन्दा केही दिन माओवादी सत्ता बाहिर रहे पनि केन्द्रको निर्णय भन्दै केदारले माओवादीलाई सरकारमा सहभागी गराए । सोही कारण एमाले सरकारबाट बाहिरियो । केदार नेतृत्वको सरकारमा माओवादी २०८१ साल वैशाख २९ गतेसम्म सत्तामै रहयो । वैशाख २९ गते कार्की मुख्यमन्त्रीबाट हटे पनि माओवादी भने पुनः सत्तासीन भयो ।

एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन हुँदा माओवादीले ३ मन्त्रालयको भाग पाएको थियो ।


प्रतिक्रिया

One thought on “कोशीमा तेस्राे पटक सत्ता बाहिर हुत्तियाे माओवादी

  1. सत्ताबाट बाहिरिन पर्दा प्रचण्ड छटपटाएका छन् । संसदमा उनले बोलेकोबाट त्यो स्पष्ट हुन्छ । कोशीका माओवादी पनि बरबराउन थालिसके । एउटाले त योगेशलाई हतियारको तस्करी गरेको पनि भन्न भ्यायो । काठमाडौको संसदमा पनि एउटा प्रमाणित मूर्ती चोरले योगेशलाई त्यहि आरोप लगायो । आफैं चोरले अरूलाई जे पनि भन्छ । उ त भरसक धेरै चोर होउन र आफ्न‍ दाग कम होस् भन्ठान्छ । कोशीको माओवादी चाहिँ के चोर रहेछ केही जानकारी पाउन पत्रकार महोदय । १० वर्षे हिंसाको बेलामा त कति चोरे चोरे माओवादीले । दुनियाका पैसा गर गहना चोरे । त्यो लुटेको पैसाले अझै कयौं मोज गर्दैछन् । अहिले पनि पूरै माओवादी सुन तस्करी गर्दा रहेछन् भनेर त प्रमाणित नै भयो । त्यो पनि रविले गरेका हुन् । नारायणकाजिले त बचाएका थिए माओवादीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर