कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन: अध्यक्ष यादव (भिडिओ) – Nepal Press

कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन: अध्यक्ष यादव (भिडिओ)

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् ।

जसपा नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए ।

बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको बताउँदै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको दाबी गरे ।

‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बर्बाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौं नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग, कलकारखाना ध्वस्त भएका छन्’, यादवले भने, ‘अहिले पनि दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, थारु समुदायलाई यथोचित न्याय हुन सकेको छैन । अहिले पनि यो वर्ग राज्यबाट अपहेलित र अपमानित छ । अहिले पनि संघीय प्रणालीमा सुशासन छैन । मधेशको भूमिमा मधेशीकै शासन र प्रशासन हुनुपर्छ ।’

उनले मुलुकले अहिले कमिसनतन्त्र, लुटतन्त्र तथा भ्रष्टतन्त्रमा ठूलै प्रगति गरेको औंल्याए । भ्रष्टतन्त्र, लुटतन्त्र तथा कमिसनतन्त्रको विकास हुनुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ठूलो भूमिका रहेको उनको आरोप थियो ।

अर्को प्रसंगमा अध्यक्ष यादवले मधेशले प्राप्त गरेको उपलब्धिमात्र नभई देश नै संकटमा फस्ने खतरा रहेको दाबी गरे । साना दलहरुलाई समाप्त पार्ने हिसाबले देशमा समानुपातिक प्रणाली हटाउने षड्यन्त्र चलिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर