बुद्धिमायाको बर्कत: ६०० महिलालाई रोजगारी, उत्पादन विदेशमा निर्यात
चितवन । कक्षा ७ मा पढ्ने १६ वर्षीया किशोरी र १४ वर्षीय किशोर प्रेममा पर्छन् । किशोरावस्थाको प्रेम स्वेच्छाले विवाहमा परिणत हुन्छ । राप्तीपारि पदमपुर बाढीको जोखिममा परेपछि भर्खरै सारिएका नयाँ बस्ती नयाँ पदमपुरका किशोरकिशोरी थिए उनीहरु ।
बस्ती नै व्यवस्थित नभएको समय थियो त्यो । नयाँ बस्तीमा खानेपानीको हाहाकार थियो । नयाँ बसाइ, मानिसहरुको जीवनले लय लिइसकेको थिएन । दैनिक जीविकोपार्जनको बाटो खोज्दै थिए बस्तीका अधिकांश मानिस ।
बस्तीका अधिकांश परिवार आदिवासी थारु तथा जनजाति समुदायका थिए । उनीहरु बिहान-बेलुकाको जोहो गर्दै आफ्ना सन्तानलाई विद्यालय बल्लबल्ल पठाउँथे । अभिभावकले जसोतसो हुर्काउँदै गरेका बालबालिकाले जीवन कसरी बुझून् !
रहरले गरेको विवाहपछि जीवनका रथ सँगसँगै लैजानुपर्ने दायित्व दुई किशोर काँधमा आयो । दुई जनाको परिवार बिहान–बेलुका श्रम गरेरमात्रै पेट भरिने आर्थिक अवस्थाको थियो, तर घर व्यवहारमै किशोरी अल्झिइन् ।
दुई वर्ष उमेरले जेठी भएर पनि हो कि, ज्याला मजदुरी गरेर श्रीमान पढाउनुपर्छ भन्ने दायित्वबोध भयो उनलाई । उनले आफ्नो भागमा परिवारको जिम्मेवारी लिइन् । नजिकको जङ्गलमा दाउरा खोजेर दाम्पत्य जीवनलाई एकसाथ बढाउन तयार भइन् । किशोरलाई चाहिँ किशोरीले जिद्दी गरेरै पढाइ छुटाउन दिइनन्, तर पारिवारिक योजना नबनाउँदै उनीहरु सन्तानका बाबुआमा बने । बिहे गरेको एक वर्षमै छोरी जन्मिइन् । त्यसपछि श्रीमानको पढाइ छुट्यो । वयस्क भइनसकेका दम्पतीको दुःखका दिन सुरु भयो ।
यो कथा चितवनको कालिका नगरपालिका- २ का दम्पती बुद्धिमाया र राजकुमार घलेको हो । उनीहरु २०६० सालमा किशोर उमेरमै विवाह सम्बन्धमा गाँसिएका थिए । ‘ती दुःखका दिन सम्झँदा भकानो छुट्छ’, बुद्धिमाया सम्झिन्छिन्, ‘दुई वर्ष सानो श्रीमान । बिहेको एकै वर्षमा छोरी जन्मियो । घरमा बुढो भएका सासूससुरा थिए । के खाउँ के लाउँ भन्नुपर्ने परिवारको अवस्था थियो ।’
अनि बनिन् उद्यमी
विवाहको २१ वर्षअघिका ती दिन सम्झिँदा कहाली लागे झैं हुन्छ बुद्धिमायालाई । उनले संघर्ष रोजिन् । मजदुरी गरिन् । त्यहीबेला प्रकृति संरक्षण कोषले दिएको एउटा तालिम उनको परिवारको आर्थिक अवस्था बदल्ने संवाहक बन्यो ।
राप्तीपारिबाट सारिएको बस्तीका बासिन्दालाई जीवन सहज होस् भनेर १० दिनको तालिम सञ्चालन भएको थियो । चर्खाबाट धागो बुन्ने तालिम थियो त्यो । थाहा पाएर तालिम लिन गइन् बुद्धिमाया, तर उमेर सानो भएकोले उनले सहजै तालिम, सीप तथा समूहहरुमा बस्न पाइनन् ।
‘मलाई जीवनमा केही त गर्नुपर्छ जस्तो लाग्थ्यो । कसैले हेपेर बोलेको सहनै सक्दिनँ’, उनले सुनाइन्, ‘त्यही भएर महिला समूह, वन समूहहरुमा बस्न जान्थें, तर सानो भनेर राख्नै मान्दैनथे ।’
विस्तारै उनले आफ्नो अवस्था बदल्ने संकल्पलाई निरन्तरता दिँदै गइन् । श्रीमान परिवारको आर्थिक अवस्था अलि उठाउन खाडी मुलुक गए । उनी भने छोरी हुर्काउँदै गाउँमै संघर्ष गर्न थालिन् ।
तालिमपछि चर्खासहित सीप पाए गाउँका महिलाले । त्यसपछि काठमाडौंको धागो उद्योगसँग सम्पर्क गरेर कपास ल्याएर धागो बनाउने काममा केही महिला सहभागी हुन थाले ।
बुद्धिमाया अगुवा बनिन् । उनका अनुसार काठमाडौंबाट उद्योगले पठाएको कपासलाई पदमपुरका महिलाहरु धागो बनाउँथे । महिलाका घरघरमा कपास पु¥याउने र धागो काठमाडौं पठाउने जिम्मेवारी बुद्धिमायाले लिइन् ।
उनले भनिन्, ‘दिदीबहिनीलाई कपास पठाएर धागो संकलन गरेबापत प्रतिकिलो ६ रुपैयाँ पाउँथें ।’
उनले त्यही कामबाट विस्तारै आफूलाई उद्यमी बन्नेतर्फ प्रेरित गर्दै लगिन् । ‘त्यतिबेला मसँग पैसा थिएन, तर उद्योग सुरु गर्नुपर्छ । आफ्नो अवस्था सुधार्नुपर्छ भन्ने लाग्दै गयो’, बुद्धिमायाले भनिन् ।
त्यति नै बेला गाउँमा महिलाले धागो बनाउन छोड्न थालेका थिए । बुद्धिमाया स्थानीय सामुदायिक वनको सदस्य थिइन् । उनले वनसँग एउटा प्रस्ताव राखिन्- ‘फेरि ऊनबाट धागो बनाउन सुरु गरौं ।’
गाउँका मानिसहरुको अवस्था तालिम दिएरमात्रै पुग्ने थिएन । उनीहरुलाई मेसिन नै आवश्यक थियो । प्रकृति संरक्षण कोषसँग फेरि सामुदायिक वनले तालिम र मेसिनको लागि प्रस्ताव गर्यो । उनीहरुको प्रस्ताव स्वीकृत पनि भयो ।
‘पुनः महिलाहरु उद्यमशीलतामा जोडिए । म गाउँगाउँमा कहिले वनको, कहिले बायो ग्याँस कम्पनीको सहजकर्ता भएर महिलाहरुसँग जोडिइरहेको थिएँ । फिल्डमा जाने भएकाले काम थाल्न सजिलो भयो’, उनले भनिन् ।
त्यतिबेला अलिअलि गरेको कामबाट ३ लाख रुपैयाँ जम्मा गरेकी थिइन् बुद्धिमायाले । राजकुमार पनि विदेशबाट फर्किएका थिए । २०७१ सालमा त्यही ३ लाख रुपैयाँले बुद्धिमाया दम्पतीलाई व्यवसायी बनाउने बाटो तय गर्यो ।
‘मसँग तीन लाख रुपैयाँमात्रै थियो’, उनले भनिन्, ‘त्यही डिपोजिट राखेर काठमाडौंको युनिस धागो उद्योगसँग कच्चा सामग्री पठाइदिन अनुरोध गरें । खै उहाँहरुले कसरी विश्वास गर्नुभयो । मलाई २० लाखको सामना पठाइदिनुभयो ।’
६०० महिलाले पाए काम, विदेशबाट फर्काइन् श्रीमान
बुद्धिमायाको त्यतिबेला उत्पादन उद्योग थिएन । ऊनबाट धागोमात्रै बनाएर काठमाडौंको मागअनुसार पठाउँथिन् । विस्तारै उनले महिलाहरुलाई यो सीपमा जोडिन् । धागो बनाउन तालिम दिन थालिन् । महिलाको घरघरमा धागो बनाउने मेसिन पुर्याउन सघाइन् ।
अहिले कालिका नगरपालिकाको सबै वडाका महिला उनीसँग जोडिएका छन् । भरतपुर महानगरको २९ नम्बर वडा र इच्छाकामनाको पनि एउटा वडामा तालिम दिएर मेसिन बाँडेको उनले बताइन् ।
उनीसँग जोडिएका महिलाहरुले घरैमा बसेर फुर्सदमा धागो बनाउन सक्छन् । उनीहरुले कम्तीमा ५ हजारदेखि ४० हजारसम्म रकम लिने गरेको बुद्धिमाया बताउँछिन् । २०७५ सालदेखि भने गलैँचा, ढाकाको कपडा, धागोलगायतका सामग्री उत्पादन गर्न थालेकी छिन् । उत्पादनलाई विदेशी बजारमा पुर्याएकी छन् ।
‘मेरो उद्योगमा ढाकाको कपडा, नेपाली गलैँचा, गिफ्ट, धागो उत्पादन हुन्छ’, बुद्धिमायाले भनिन्, ‘अहिले कम्तीमा २० लाख बराबरको सामग्री हरेक महिना विदेश निर्यात गर्छु । अझै मागअनुसार उत्पादन गर्न सकेको छैन ।’
आफ्नो उद्योगबाट उत्पादित सामग्री चीन, अमेरिका, अस्ट्रेलिया, जर्मनीलगायतका देशमा निर्यात हुँदै आएको बुद्धिमायाले बताइन् । उनी थप्छिन्, ‘अझै पनि मागअनुसार सामान पठाउन सकेको छैन । अस्ट्रेलियाको अर्डर पठाउन नसकेर माग नै खारेज भयो ।’
उनका अनुसार ६०० जना महिला जोडिए पनि अझ यसमा थप महिलाहरुलाई संलग्न गराउन सकिन्छ, तर गाउँगाउँमा महिलाहरुलाई तालिम दिएरमात्रै पुग्ने अवस्था छैन । ‘उनीहरुलाई दिनदिनै कमाएर बेलुका खानेकुरा जुटाउने खर्च, धागो बनाउने मेसिन दिएमात्रै तालिमपछि उद्यममा लगाउन सकिन्छ, तर राज्यले त्यसरी सोचेको छैन’, उनले भनिन् ।
विदेशबाट फर्किएका राजकुमार पनि अहिले उद्योगमै जोडिएका छन् । प्रमुख श्रीमती हुन्, श्रीमान व्यवस्थापन हेर्छन् । दक्ष कामदार उद्योगमा आएर काम गर्छन् ।
डेढ सयको हारहाहारीमा त्यस्ता काम गर्ने मानिसहरु उनीसँग जोडिएका छन् । घरमै बसेर ऊनबाट धागो बनाउने महिलाहरु थुप्रै छन् । स्थानीय तह तथा सरकारको निकायलाई महिलालाई तालिम र मेसिन दिनुस् रोजगारीको ग्यारेन्टी म दिन्छु भन्ने गरेकी छन् उनले ।
आफूसँग जोडिएकामध्ये पाँच जनामात्रै पुरुष रहेको उनले बताइन् । अहिले मासिक १६ लाख हाराहारीको त धागोमात्रै खरिद गर्ने उनले जानकारी दिइन् ।
उनी भन्छिन्, ‘महिलालाई उद्यममा लगाएर नेपाली उत्पादन विदेशी बजारमा पुर्याउन सरकारले संवेदनशील भएर सोच्नुपर्छ । सीप र साधन दिए महिलाले देशकै आर्थिक अवस्था सुधार्न सक्छौं ।’