दलितलाई १४ प्रतिशत आरक्षण दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई (भिडिओ) – Nepal Press

दलितलाई १४ प्रतिशत आरक्षण दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक क्षेत्रमा दलितलाई १४ प्रतिशत सीटमा आरक्षण दिनुपर्ने बताएका छन् । उनले समाजमा जाति प्रथाको सिर्जना गैरदलितले गरेको भन्दै अब त्यसको निराकरण पनि गैरदलितले नै गर्नुपर्ने बताए ।

शनिबार काठमाडौंको माइतीघरमा जारी दलितका लागि दलित अभियानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले दलित समुदायमाथिको जातीय विभेदमात्रै नभई राजनीतिक, आर्थिक र सामाजिक रुपमा भएका सबै विभेदको निराकरण गर्नेगरी राज्यले कानून बनाएर पहल लिनुपर्ने बताए ।

उनले भने, ‘हामीले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं । मैले त पहिले पनि दलितलाई १४ प्रतिशत आरक्षण दिएर जाऔं भनेको हुँ । अब पनि दलितलाई राजनीतिक क्षेत्रमा प्रस्ट रुपमा १४ प्रतिशत आरक्षण दिएर जानुपर्छ ।’

गएको २५ दिनदेखि उक्त अभियानका संयोजक खगेन्द्र सुनार नेतृत्वमा युवाले माइतीघरमा धर्ना बसेर दलित समुदायको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले शनिबार सोही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अधिकारका लागि पहिलो पाइला दलित समुदायले नै चाल्नुपर्ने बताए ।

उनले भने, ‘जो पीडित छ, उसले उठेर मलाई अधिकार चाहियो भन्नैपर्छ । त्यसपछि उत्पीडित समुदायको अधिकारका लागि हामी जस्ता समाजका अगुवाले पनि साथ दिनुपर्छ । यो जातीय विभेद भनेको दलितले बनाएको होइन, त्यसकारणले दलितले मात्रै समाधान गर्न सक्ने कुरा पनि होइन । यसमा गैरदलितको पनि साथ हुनुपर्छ । धार्मिक सांस्कृतिक रूपमा बनेका मान्यतालाई तोडेर समाजलाई अगाडि बढाउन सक्नुपर्छ ।’

दलितका लागि दलित अभियानले गएको २५ दिनदेखि संविधानबमोजिम दलितलाई अधिकार दिनुपर्ने भन्दै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ । संयोजक सुनारले शरीरमा नेल लगाएर प्रदर्शन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर