वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन असोजमा हुने – Nepal Press

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन असोजमा हुने

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन असोज ३ देखि ५ सम्म हुने भएको छ । असोज ३ मा काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहितको प्रारम्भिक सत्र तथा ४ र ५ मा भक्तपुरको बोडेमा बन्दसत्र गर्न लागिएको पार्टीले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पार्टी कार्यकर्ता, शुभचिन्तक र नेपाली श्रमजीवी जनताको अथक परिश्रम, दृढ संकल्प र क्रान्तिकारी जोसको परिणामस्वरुप पार्टीले प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको पार्टीका नेता धनकुमारी सुनारले जानकारी दिइन् ।

सम्मेलनमा ७७ वटै जिल्लाका प्रतिनिधिको उपस्थिति रहने र सबै उत्पीडित वर्ग एवं समुदायको निर्णायक प्रतिनिधित्व रहने उनको भनाइ छ ।

राष्ट्रिय सम्मेलनले विचारधारात्मक तथा संगठनात्मक मार्गदर्शनलाई अझ स्पष्ट र सुदृढ बनाउँदै नेपालमा वैज्ञानिक समाजवादी क्रान्तिको वैचारिक एवं सङ्गठनात्मक रणनीति विकास गर्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ । पार्टीको प्रथम राष्ट्रिय भेला २०७८ चैत १७, १८ र १९ मा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर