घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध – Nepal Press

घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध

भरतपुर । गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए ।

यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए ।

अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन ।

घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् ।

उनले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताइन् । यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर