एमालेसँग मिलेर सरकार बनाउन कांग्रेसले ठूलो जोखिम मोलेको छ : मन्त्री पाण्डे
रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाली कांग्रेसले ठूलो जोखिम मोलेको दाबी गरेका छन् । उनले एमालेसँग मिलेर सरकार बनाउनु भनेको आफैमा ठूलो जोखिम भएको बताए ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले भने, ‘एमालेसँग मिल्नु पनि छ, सरकार चलाउनु पनि छ, २०८४ सम्म टिकाउनु पनि छ । ८४ मा उसैसँग प्रतिस्पर्धा पनि गर्नु छ । उसैसँग प्रतिस्पर्धा गर्नका लागि कांग्रेस एकताबद्ध भएर राम्रो गर्नुपर्छ । मेयरसाबले राम्रो गर्नुपर्छ । म मन्त्रीले राम्रो गर्नुपर्छ । वडा सदस्य, वडाअध्यक्ष र अरू मन्त्रीहरूले राम्रो गर्नुपर्छ । हाम्रा पार्टीका साथीहरुले राम्रो गर्नुपर्छ ।’
कांग्रेसका सह–महामन्त्री समेत रहेका पाण्डेले २०८४ मा एमालेसँगको प्रतिस्पर्धा कसले राम्रो गर्यो भन्ने सन्दर्भमा काँग्रेसले राम्रो गरेको हो भन्ने कुरा देखाउने गरी बेलामा काम गर्नुपर्ने बताए । त्यो दिशामा पार्टीका निकाय र जनप्रतिनिधि केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
उनले लुम्बिनी विकास कोषको कर्मचारी, पदाधिकारी र छेउको बासिन्दा हुनु पनि पुण्यको काम भएको बताए ।
उनले भने, ‘पुण्य कमाएर त्यो थलोमा जाने, त्यो थलोमा जन्मने, त्यो थलोको भूमिका निर्वाह गर्ने, पाप कमाएर निस्कनुपर्यो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन । त्यसैले तपाई हामी सबैले पुण्यकै बाटो खोजौँ, रोजौँ । पुण्यको सञ्चार कहीँ हुन्छ भने त्यो थलो लुम्बिनी हो । भावनाले नै मानिस निर्देशित हुन्छ ।’
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान मात्र नभई अब आन्तरिक उडानहरू पनि थप्नुपर्ने बताए ।
‘काठमाडौंको विमानस्थल जसरी चलायमान छ । यति धेरै लगानी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ । यसलाई किन चलायमान नगर्ने,’ उनले भने ।
विश्वका विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीहरू बुद्ध जन्मस्थल लुम्बिनी आउन खोजेको र सिधै भैरहवा विमानस्थलमा उनीहरूलाई अवतरण गराउन सकियो उनीहरूका लागि पुण्य प्राप्ति जस्तो हुने बताए । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउनका लागि सरकारले सहुलियत दिने निर्णय गरेको उनको भनाइ छ ।
बुद्धको जन्मस्थल लुम्बिनी भएकाले संस्कृतिको केन्द्रबिन्दुमा लुम्बिनी रहेको मन्त्री पाण्डेले बताए । बुद्ध शिक्षा र बुद्ध दर्शनलाई कुनै जात र धर्म विशेषको रूपमा मान्न नमिल्ने धारणा राखे।
त्यस्तै कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङले स्थलमार्ग हुँदै धेरै पर्यटक भित्रिने बेलहिया नाकालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरू निराश भएको बताए । उनले भने, ‘यो विमानस्थलसँग हाम्रो मन जोडिएको छ । विमानस्थललाई सञ्चालन गर्नैपर्छ ।’
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ९ख० का सभापति घनश्याम चालिसेको स्वागत तथा क्षेत्र नम्बर ३ का सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस सिद्धार्थनगर–१३ का सभापति प्रकाश बहादुर सिंह खड्का, क्षेत्रीय सदस्य रुपमाया पुन, पर्यटन व्यवसायी सञ्जय बजिमय, सिद्धार्थनगर–१० का सभापति विजयनाथ धवल, नेपाल तरुण दलका टीका जि.सी., सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ, युवा नेता पंकज उदासलगायतले भनाइ राखेका थिए ।