गुनासोबाट बाहिर निस्कन निजी क्षेत्रलाई उपप्रधानमन्त्री पौडेलको आग्रह (भिडिओ) – Nepal Press

गुनासोबाट बाहिर निस्कन निजी क्षेत्रलाई उपप्रधानमन्त्री पौडेलको आग्रह (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन् । सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने भन्दै उनले अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको बताए ।

यसको प्रमाण पछिल्ला सरकार गतिविधिले पनि प्रमाणित गरिसकेको उनको भनाइ छ । गुनासोमात्रै नभइ समाधान खोज्न लाग्नुपर्ने भन्दै पौडेलले निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन आग्रह गरे ।

राजनीतिक अस्थिरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थिर सरकार बनाउनुपरेको उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पौडेलले वर्षमा तीनपटक अर्थमन्त्री फेरिने अस्थिरताको अवस्थाले मुलुकको अर्थतन्त्र लगायतका क्षेत्रमा नकारात्मक असर परेको बताए ।

अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी रोकिने भन्दै उनले वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको र पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी बढ्न नसकेको अवस्थालाई सवै मिलेर अन्त्य गर्नुपर्ने बताए ।

अहिलेको मौद्रिक नीति लचिलो रहेको र अर्थतन्त्रको समस्या समाधानका लागि केही योगदान पुग्ने पौडेलको विश्वास छ । अर्थतन्त्रलाई गतिशील बनाउन सरकार निजी क्षेत्रलाई साथमा लिएर सशक्त ढंगले अघि बढ्न तयार रहेको उनले बताए ।

त्यस्तै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रको मनोवललाई उच्च राख्न केही आधारशीला तयार भएको भन्दै यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने विश्वास जनाए । चालू आर्थिक बर्षको सुरूमै पूँजीगत खर्च राम्रो देखिएको, राजस्व संकलन सकारात्मक, कर्जा प्रवाहले समेत राम्रो संकेत देखाएको अधिकारीको भनाइ छ ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयर, घरजग्गालगायतका क्षेत्रमा देखिएका सकारात्मक संकेतलाई दिगो बनाउनुपर्ने जोड दिए । निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने कामले अर्थतन्त्रमा असर पर्न सक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *