अग्राधिकार शेयर जारी गर्न बैंकहरूको होडबाजी, एनएमबीले ३ अर्बको जारी गर्ने – Nepal Press

अग्राधिकार शेयर जारी गर्न बैंकहरूको होडबाजी, एनएमबीले ३ अर्बको जारी गर्ने

काठमाडौं । अग्राधिकार शेयर जारी गर्न बैंकहरूबीच होडबाजी चलेको छ । अहिलेसम्म ३ वटा बैंकले अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गरेका छन् ।

पछिल्लो पटक एनएमबी बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने घोषणा उसको साधारणसभाबाट गरेको छ । बैंकको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले १ सय रूपैयाँका दरले ३ करोड इकाई (३ अर्ब रूपैयाँ बराबरको) अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।

यसमा ८.२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ । एनएमबी बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात उक्त शेयर जारी गर्नेछ ।

यसअघि नबिल बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने घोषणा गरेको थियो । नबिलले प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यमा ५ अर्ब बराबरको ५ करोड कित्ता अग्राधिकार शेयर बिक्री गर्ने प्रस्ताव नबिल बैंक सञ्चालक समिति बैठकले गत चैतमै गरेको थियो । नबिलले उक्त प्रस्ताव पेश गर्दा भदौ १७ गते विशेष साधारणसभा बोलाएको छ । नबिलले मुनाफा भएको वर्षमा मात्र ८ प्रतिशत लाभांश बाँढ्ने गरी अग्राधिकार शेयर बिक्री गर्ने गरी प्रस्ताव गरेको थियो ।

यस्तै एनआईशी एशिया बैंकले पनि ५ अर्ब बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरिसकेको छ । यसले ८.५ प्रतिशत लाभांश दिने गरी उक्त शेयर जारी गर्न लागेको हो ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफरेन्सियल शेयर भनिन्छ । अग्राधिकार शेयर धनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ ।

साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैँ एउटै हुने सुनिश्चित हुन्छ । यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयर धनीले पनि लाभांश पाउँदैनन् । पुँजीकोष दबाबमा भएका बैंकलाई यस्तो शेयर जारी पश्चात केही सहज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *