भौतिक पूर्वाधारमन्त्रीको घोषणा- पुराना आयोजना पहिलो प्राथमिकता, व्यवसायीको बक्यौता तिरेर असोजदेखि नयाँ थालनी
रुपन्देही । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चारैतिर सुरु भएका आयोजना अलपत्र परेकाले सरकारले नयाँ योजनालाई अघि बढाउने भन्दा पनि पुराना योजनाहरूलाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको जनाएका छन् ।
उनले पुराना योजनाहरूको बक्यौता रकम भुक्तान गरी निर्माणको कार्यलाई आगामी महिनादेखि तीव्रता दिने जनाउँदै भुक्तानी गर्न बाँकी रहेका योजनाहरूको महिना दिनभित्रै समस्या हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीव्रता पाउने उनले बताए ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरूको भुक्तानीमा केही समस्या भएको स्वीकार गर्दै उक्त समस्या हल गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिवद्धताहरु आएको र सोही अनुसार काम अघि बढेकाले महिना दिनभित्रै समस्याको हल हुने उल्लेख गरे । उल्लेख गर्दै मन्त्री दाहालले असोजपछि निर्माण कार्यलाई तीव्रताकासाथ अघि बढाइने बताए ।
बुटवल–पाल्पा सडक खण्ड अन्तरगत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको कार्य प्रगतिबारे जानकारी लिएपछि मन्त्री दाहालले अबको सय दिनभित्रै ब्रेक थ्रू हुने गरी तीव्रता दिन निर्देशन गरिएको जानकारी गराए । निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्ने गरी तीव्रताका साथ काम गर्न आफूले आग्रह गरेको उनले बताए ।
विकास निर्माणका कार्यहरूमा ढिलासुस्ती हुन्छ भन्ने आम धारणालाई सिद्धबाबाको सुरुङ मार्ग निर्माणको योजनाले चिर्न सक्ने अपेक्षा गरिएको उनले बताए । यसै गरी बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै उनले निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोडिने जानकारी गराए ।
निर्माण कम्पनीले विभिन्न समस्याहरू देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भए पनि उक्त समस्या सरकारका कारणले नभई स्वयम् निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताए ।
भौतिक मन्त्री दाहालले जनतामा बढेको निराशा हटाउनु पनि अहिलेको सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।
‘सरकारमा जो आए पनि उस्तै त हो नि भन्ने निराशा चिर्नु छ, जनतामा रहेको धारणालाई तोडेर विकास निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता गर्दछु’ उनले भने । ‘दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता छैन, विकासका लागि स्थिरता चाहिँदोरहेछ, त्यसमा पनि भौतिक विकास पहिलो रहेछ’ उनले भने ।
लुम्बिनी क्षेत्रमा पर्ने मुख्य आयोजनाको कार्यप्रगतिबारे जानकारी लिएपछि मन्त्री दाहाल सचिव केशव शर्मासहितको टोली लिएर बुटवल–नारायणगढ सडकको निरीक्षणमा गएका छन् ।
सचिव शर्माले पटक पटक फेरिने विभागीय मन्त्रीबाट आउने नयाँ योजनाका कारण पुराना आयोजना पूर्ण नभएको बताउँदै अहिलेको सरकारले त्यसो नगर्ने रणनीति लिएकाले पनि पुराना आयोजना छिटो बन्ने आधार देखिएको बताए ।