गाउँकै क्याम्पसमा अध्ययन गर्नेलाई गाउँपालिकले नै भर्ना गरिदिने – Nepal Press

गाउँकै क्याम्पसमा अध्ययन गर्नेलाई गाउँपालिकले नै भर्ना गरिदिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभित्रकै क्याम्पसमा अध्ययन गर्ने पालिकाभित्रका विद्यार्थीहरुलाई आफैँले भर्ना गरिदिने भएको छ ।

गाउँकै क्याम्पसमा विद्यार्थीहरुलाई आकर्षित गर्ने उदेश्यले गाउँपालिकाले नीति तथा कार्यक्रममा नै गाउँपालिकाभित्रका क्याम्पस र गाउँपालिकाका विद्यार्थीहरुलाई भर्नामा कुनै शुल्क नलिने गरेर बजेट व्यवस्थापन गरेको थियो। सोही व्यवस्था अनुसार साउनदेखि गाउँपालिकाका विद्यार्थीहरुले गाउँपालिका भित्र रहेका क्याम्पसमा अध्ययन गर्दा भर्ना शुल्क दिनु नपर्ने र गाउँपालिका आफैँले विद्यार्थीहरुको भर्ना गरिदिने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सुनकोशी गाउँपालिकामा दुइ वटा सामुदायिक क्याम्पसहरु रहेका छन् । सुनकोशी गाउँपालिका–१ मा ठोकर्पा सामुदायिक क्याम्पस र ७ नम्बर वडामा सुनकोशी क्याम्पस हाल सञ्चालनमा रहेका छन् ।

गाउँपालिका भित्र रहेका यी दुवै क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा विभिन्न विषयहरुको पढाइ हुने गरेको छ । ‘स्नातक अध्ययन गर्ने सबै विद्यार्थीहरुको हामीले नै भर्ना गरिदिने छौं र त्यसका लागि गाउँपालिकाले बजेटको पनि व्यवस्थापन गरेको छ’ गाउँपालिका अध्यक्ष तिमिल्सिनाले भने ।

यो वर्ष गाउँपालिका भित्रका विद्यार्थीहरुका लागि मात्रै यस्तो व्यवस्था गरिएपनि आगामी वर्ष अन्य गाउँपालिकाबाट आउने विद्यार्थीहरुका लागि पनि के गर्न सकिन्छ आफूहरुले सल्लाह गरिरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

सिन्धुपाल्चोकको पहिलो क्याम्पस सुनकोशी क्याम्पसको स्थापना दिवसको अवसरमा गाउँपालिकाले गर्न लागेको अभियानको बारेमा अध्यक्ष तिमिल्सिनाले जानकारी दिएका थिए ।

क्याम्पसहरुले गाउँपालिका भित्रका विद्यार्थीहरु भर्ना भएको तथ्यांक गाउँपालिकामा पेश गरेपछि त्यही आधारमा क्याम्पसलाई एकमुष्ट अनुदान प्रदान गरिने अध्यक्ष तिमिल्सिनाले बताए ।

सुनकोशी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुने विद्यार्थीहरुले ५१ सय बुझाउनु पर्छ भने ठोकर्पा क्याम्पसमा ३७ सय रहेको छ । गाउँपालिकाले भर्ना हुने विद्यार्थीहरुको शुल्क आफैँले व्यहोर्ने भएपछि आफ्नै घर आगानको शैक्षिक संस्थामा विद्यार्थीहरुको अध्ययनमा बढात्री हने सुनकोशी क्याम्पस प्रमुख कृष्णप्रसाद आचायैले विश्वास गरे ।

गाउँका क्याम्पसहरुमा विद्यार्थी अभाव हुँदै गएपछि क्याम्पस टिकाउन र विद्यार्थीहरुमा पढ्न प्रेरित गर्ने उदेश्यले गाउँपालिकाले ल्याएको यो कार्यक्रम प्रभावकारी हुने ठोकर्पा क्याम्पस प्रमुख हिक्मतबहादुर खत्रीले बताए । गाउँका क्याम्पसहरुमा प्राय छोरीबुहारीहरु अध्ययन गर्ने गरेका छन् । छात्राको तुलनामा छात्राको संख्या गाउँका क्याम्पसहरुमा बढी रहेको क्याम्पसहरुले जानकारी दिएका छन् ।

भर्ना शुल्कबाहेक सुनकोशी गाउँपालिकले दुवै क्याम्पसहरुलाई पुर्वाधार निर्माणका लागि हरेक वर्ष बजेट उपलब्ध गराउदै आएको छ । सामुदायिक क्याम्पसहरुलाई संघीय र प्रदेश दुवै सरकारले कुनै सहयोग उपलब्ध नगराउने भएपछि आफूहरुले यो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *