एमालेसँग मिलेर सरकार बनाउँदा कांग्रेसका लागि चुनौती थपियो : मन्त्री पाण्डे – Nepal Press

एमालेसँग मिलेर सरकार बनाउँदा कांग्रेसका लागि चुनौती थपियो : मन्त्री पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)सँग मिलेर सरकार बनाउँदा कांग्रेसका लागि चुनौती थपिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले २०८४ को निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

उनले भने, ‘जोखिम उठाएर खुकुरीको धारमाथि हामीले यात्रा गरिरहेका छौं । २०८४ को चुनावमा नेकपा (एमाले) भन्दा हामी कसरी अघि आउने गम्भीरतापूर्वक सोच्नुपर्छ ।’ उनले प्रतिस्पर्धा र सहकार्य एमालेसँग कुन हदसम्म हुने स्पष्ट सीमांकन गर्नुपर्ने उनको भनाई थियो ।

सहमहामन्त्री पाण्डेले पार्टीको महाधिवेशन र २०८४ को आम निर्वाचन एकै वर्ष हुने सम्भावना देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले महाधिवेशनमा हुने आन्तरिक प्रतिस्पर्धाले चुनावमा असर पर्न सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘त्यसका दुष्प्रभाव स्थानीय, प्रदेश सभा, प्रतिनिधि सभाको निर्वाचनमा पर्ने र पार्टी एक ढिक्का भएर निर्वाचनमा जान नसक्ने विगतको समस्या आगामी दिनमा पनि हुने हो कि भन्ने चिन्ता छ ।’

सहमहामन्त्री पाण्डेले पार्टी सदस्यता वितरण र नवीकरण समयमा हुन नसकेको भन्दै उनले दुई महामन्त्रीले सदस्यता नवीकरण र वितरण गर्न पटक पटक पत्र पठाए पनि कार्यान्वयन नभएको गुनासो गरे । उनले गुनासो गर्दै भने, ‘उहाँहरुले तल भन्नुहुन्छ । तलकाले गराउनुहुन्न । तल्लो तहमा हामीले घच्घच्याउनुपर्ने छ ।’

सहमहामन्त्री पाण्डेले स्रोत साधन अभावका कारण मन्त्रालयमा काम गर्न चुनौती रहेको बताएका छन् । उनले आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको पनि सुनाए । यो निराशालाई चिर्नका लागि कांग्रेस एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्याङ्क निर्माण गर्न जरुरी रहेकोमा जोड दिए ।

उनले भने, ‘हामी मन्त्री बनेको यति समय भयो । मन्त्रालय बुझ्यौँ र सबै मन्त्री थकित भएका छन् । समन्वयको अभाव छ । एक्लो लाचार र नसक्ने अवस्थामा पुगेको हो कि । कर्मचारी जागिरे मानसिकता भएको र माथिबाट निर्देशन र स्रोत साधनको छ ।’

साथै उनले जस अपजसको भारी बोक्न तयार रहेको भन्दै अलोकप्रिय तर जिम्मेवार निर्णय गर्दै गए रास्वपा लगायत नयाँ र तेस्रो शक्तिमा जनताले विश्वास नगर्ने तथा एमाले कांग्रेस नै मुलुकको स्थायी शक्ति भइरहने पनि बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर