गण्डकीमा एमालेबाट को-को बन्लान मन्त्री ? – Nepal Press

गण्डकीमा एमालेबाट को-को बन्लान मन्त्री ?

पोखरा । लामो समयको छलफलपछि गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा छ । मन्त्रालय फुटाएर ९ मन्त्रालय बनाउने र ४ मन्त्रालय पाउने भएपछि एमाले सरकारमा जान तयार भएको हो । केही दिनमा मन्त्रिपरिषद् विस्तार हुनेछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकदुई दिनमै एमालेलाई सरकारमा ल्याउने दाबी गरे ।

कांग्रेसको भागमा परेका सबै मन्त्री भइसकेकाले अब एमालेको भागमा परेको ४ मन्त्रालयमा मन्त्री थपिनेछन् । एमालेबाट को को सरकारमा जाने भन्ने छलफल चलिरहेको छ ।

यसअघि एमाले दुई पटक सरकारमा गएको थियो । त्यसमा आफ्नो गुटका सांसदलाई मन्त्री बनाएको भन्दै एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीको पार्टीभित्रैबाट आलोचना भएको थियो । गण्डकीमा मुख्यत पार्टी उपमहासचिव तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ र अधिकारीका छुट्टाछुट्टै गुट छन् ।

स्वीकार नगरेपनि यी दुई गुटबिच आन्तरिक रुपमा गुटगत प्रतिष्पर्धा गरिराखेका हुन्छन् ।

खगराज अधिकारी सुरुमा मुख्यमन्त्री हुँदा आफुनिकट कास्कीबाट बेदबहादुर गुरुङ र स्याङ्जाबाट सीता सुन्दासलाई मन्त्री बनाएका थिए । दोस्रोपटक आफु मुख्यमन्त्री हुँदा पनि दुवैलाई दोहो¥याएपछि उनको आलोचना भएको थियो । यसपालि पनि खगराजले सोही प्रक्रिया दोहोराउने आशंका पृथ्वीसुब्बा निकटलाई छ ।

केही समयअघि गण्डकीका सांसदहरु दुई समूह बनाएर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका थिए । पृथ्वीसुब्बा समूहले सबैलाई समेट्नुपर्ने दबाब दिँदै आएका छन् । सूचना तथा सञ्चार मन्त्री गुरुङले शनिबार पोखरामा पत्रकार सम्मेलनमा गण्डकीमा एकलौटे नहुनेसमेत उल्लेख गरेका थिए ।

को-को बन्दैछन् मन्त्री ?

४ मन्त्रालय पाएको एमालेले यसपालि पुराना मन्त्री नदोहोर्याउने नीतिमा छ । त्यसकारण पुराना मन्त्री, दलको नेता, प्रमुख सचेतक र उपसभामुखबाहेक १६ जना सांसदबाट मन्त्री चयन हुनेछ । एमाले गण्डकी प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले पार्टीभित्र कुनै गुट नभएको र ६ जनाबाहेकबाट मन्त्री छनोट हुने दाबी गरे ।

‘पार्टीमा गुटउपगुटको खासै मेसो छैन । पुराना मन्त्री, संसदीय दलका नेता, प्रमुख सचेतक र उपसभामुखबाहेकका सांसदभित्रमा मन्त्री चुनिन्छन् । योग्यता, क्षमताका आधारमा मन्त्री छनोट हुन्छ,’ उनले भने ।

एमाले संसदीय दलले मन्त्री छान्ने जिम्मा संसदीय दलका नेता खगराज अधिकारीलाई दिएको छ । ‘संसदीय दलको नेतालाई एकल रुपमा मन्त्री छान्ने जिम्मा दिइएका छौं । उहाँले केन्द्रीय नेतृत्वसँग परामर्श गरी निर्णय लिनुहुन्छ,’ प्रमुख सचेतक नेपालीले भने ।

नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी, स्याङ्जाका सुधिर पौडेल, कास्कीका भीम कार्की, बागलुङका लिलबहादुर थापा, पर्वतका मित्रलाल बस्याल, कास्कीकै नन्दकला नेपालीमध्येबाट मन्त्री बन्ने सम्भावना देखिन्छ ।

अघिल्लो पटक मन्त्री बन्न लागेकी पद्मा र केन्द्रीय नेतालाई रिझाँएका कृष्ण मन्त्री बन्ने पक्का जस्तै भएको एमाले स्रोत दाबी गर्छ । यी दुवै खगराज अधिकारीनिकट मानिन्छन् । दलित तथा समावेशी बनाउदा कास्कीकी समानुपातिक सांसद नन्दकलाको सम्भावना रहन्छ ।

कास्कीका प्रकाश र स्याङ्जाका सुधिरको सम्भावना पनि उत्तिकै छ । कास्कीका प्रकाश र बागलुङका कृष्ण मन्त्री हुँदा भीम र लिलबहादुरको सम्भावना न्युन हुनेछ । भीम र लिलाबहादुरलाई मन्त्री बनाउन खगराज अनिच्छुक देखिएको एमाले नेता बताउँछन् । दुवै पक्ष आआफ्नो नेतृत्वमा सरकारमा जान चाहन्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर