मुना पाण्डेको हत्याका नयाँ तथ्य : हत्यारा बबी साह को हुन् ? – Nepal Press

मुना पाण्डेको हत्याका नयाँ तथ्य : हत्यारा बबी साह को हुन् ?

दुबइबाट मुनाका बाबुले भनेः म पनि छोरीसँग सम्पर्कमा थिएँ

काठमाडौं । अमेरिकाको ह्यूस्टनमा २१ वर्षिया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएपश्चात प्रहरी अनुसन्धान जारी छ । हत्यारा बबी सिंह साह पक्राउ परिसकेका छन् ।

साहलाई शुक्रबार अदालतमा पेश गरिएको थियो । उनीमाथि दुईवटा अभियोग छन् । पहिलो अवैधरुपमा हातहतियार बोकेको र दोस्रो हत्या गरेको । अवैध हातहतियारको अभियोगमा शुक्रबार पहिलो सुनवाइ भएको हो । हत्या अभियोगको सुनवाइ मंगलबारका लागि तोकिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो हत्या डकैति वा लुटपाटका लागि भएको देखिएको थियो । यद्यपि, अदालतमा पेश गरिएका कागजातहरुमा बबी साह मुनासँग पहिल्यैदेखि परिचित रहेको दाबी गरिएको छ । यसलाई मुनाका निकटस्थले पनि पुष्टि गरेका छन् ।

मुना विगतमा काठमाडौं करी रेस्टुरेन्टमा काम गर्दा साहले उनलाई देखेका थिए । साह बारम्बार त्यस रेस्टुरेन्टमा आउने र लामो समय बिताउने गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । ‘साह बारम्बार आउँथे र महिला कामदारसँग कुरा गर्ने गर्थे । उनीहरुलाई टिप्स पनि दिन्थे’, रेस्टुरेन्टका म्यानेजरलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

मुनासँगै एउटा मोबाइल स्टोरमा काम गर्ने र आफूलाई मुनाको दाइजस्तै मान्ने एक पुरुष साथीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै मुना शनिबार राति ८ः ०५ बजे स्टोरबाट निस्किएको बताए ।

‘उनी कलेज पढ्थिन् र मसँगै काम पनि गर्थिन् । काममा एकदमै मेहनेती थिइन् । सबैले उनलाई मन पराउँथे’, उनी भन्छन्, ‘शनिबार राति ८ः०५ बजे कामबाट निस्केकी थिइन् ।’

त्यस रात आफूले बारम्बार गरेको टेक्स्ट म्यासेजको जवाफ नदिएको उनले बताए । मुना स्टोरबाट निस्किएको दुई घन्टापछि बबी साह मुनाको अपार्टमेन्टबाट निस्किएको दृष्य सीसीटीभी क्यामरामा कैद भएको थियो । निस्किनुअघि साहले मुनालाई चार गोली हानेका थिए, जसमध्ये एउटा गोली टाउकोमा लागेको थियो ।

केही सञ्चारमाध्यममा दाबी गरिएअनुसार अपार्टमेन्टमा पस्दै गर्दा मुनाको हातमा झोला र सामानहरु थिए । ढोकामा पस्ने बेला बबी र मुनाको वादविवाद भएको थियो । बबी जबरजस्ति भित्र पसेर ढोका लगाएका थिए । त्यसको केही समयमै गोली प्रहार भएको थियो ।

बबीले मुनालाई दुर्व्यवहार गर्न खोजेको र प्रतिवाद गर्दा गोली चलाएको हुनसक्ने आशंका पनि कतिपयले गरेका छन् । तर, प्रहरीले यसबारे केही बताएको छैन । कलेज पढ्ने विद्यार्थीमाथि लुटपाटका लागि मात्रै हत्या गरेको नहुनसक्ने विश्लेषण नेपाली समूदायले गरेका छन् ।

बबी साह भारतीय मुलका अमेरिकी नागरिक भएको समाचारहरुमा जनाएको छ । केही चाहिँ उनी विगतमा काठमाडौंमा समेत बसोबास गरेको र नेपाली नागरिकता पनि लिएको हुनसक्ने आशंका गरेका छन् ।

साह आपराधिक मात्र नभएर चारित्रकरुपमा पनि पतित व्यक्ति भएको पाइएको छ । उनी ‘सुगर ड्याडी’ नामक डेटिङ एपमा दर्ता रहेका र राम्री–राम्री युवतीहरुको खोजीमा रहने गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उनको तस्बिर सार्वजनिक गरिएलगत्तै एक महिलाले निज व्यक्तिलाई आफूले सुगर ड्याडी एपमा भेटेको सूचना प्रहरीलाई दिएकी थिइन् ।

साहले मुनासँग नजिकिने प्रयास गरिरहे पनि उनीहरु आपसी सम्बन्धमा रहेको कुनै संकेत देखिएको छैन । मुना एक २५ वर्षीय अमेरिकी युवकसँग प्रेममा थिइन् । गत पुस महिनामा आफ्नो जन्मदिनको पार्टीका क्रममा पल्लो टेबलमा खाइरहेका ती युवकले मुनालाई मन पराएका थिए ।

पछि उनले प्रपोज गरेको र मुनाले पनि स्वीकारेको उनकी आमा अनिता पाण्डेल बताएकी छन् । यद्यपि, पछिल्लो समय प्रेमीसँग मुनाको सम्वन्ध बिग्रको उनको भनाइ छ ।

‘सुरुमा बिहेको कुरा गर्थी, मैले हेराएर मात्र गर्नुपर्छ है नानी भनेकी थिएँ’, सञ्चारकर्मीसँग कुरा गर्दै अनिताले भनिन्, ‘दुई–तीन महिना अगाडि त्यो केटाको व्यवहार मलाई त्यति ठिक लागेन मामु भनेकी थिइ ।’

दुबइबाट मुनाका बाबुले भने– म पनि छोरीसँग सम्पर्कमा थिएँ

मुनाका आमा र बुबाको केही वर्ष अगाडि अदालति सम्बन्धविच्छेद भएको थियो । मुनाकी आमा अनिताले श्रीमानले आफू र छोरीलाई चरम यातना दिने गरेको विभिन्न अन्तरवार्तामा बताएकी छन् ।

‘हामीले राम्रो लाएको–खाएको उसलार्ई सैह्य हुँदैनथ्यो, मिठो मसिनो खाएको देख्यो कि कुटपिट गर्थ्यो’, उनले भनेकी छन् । आफूले दुःख गरेर थानकोटमा बनाएको घरबाट लखेटिनुपरेको र एक्लै संघर्ष गरेर छोरीलाई अमेरिकासम्म पुर्याएको उनको भनाइ छ ।

मुनाका बुबा श्याम पाण्डे भुपु सैनिक हुन् । उनी अहिले दुबइमा छन् । अमेरिकामा रहेका एक नेपाली युट्यूबरसँग कुरा गर्दै उनले आफू छोरीको घटनाबाट आफू पिडामा रहेको बताएका छन् ।

श्याम भन्छन्, ‘छोरीसँग मेरो सम्पर्क भइराख्थ्यो । ४–५ महिना अगाडि कुरा गर्दा छोरीले म विदेशमै बिहे गर्छु होला बुवा, नरिसाउनु भनेकी थिइन् । मैले निर्णय लिन हतार नगर भनेको थिएँ ।’

उनले आफू सेनाको जागीरबाट अवकाश पाएपछि २०१७ मा विदेशिएको बताए ।

‘रिटायर्ड भएपछि डेढ वर्ष घरमै बसेँ । त्यसपछि दुबइ आएको हुँ । मलाई बिदा गर्न छोरी र आमा एयरपोर्टमै आएका थिए’, उनले भने । आफूले श्रीमती र छोरीलाई अदालतले भनेअनुसार रकम दिएर सम्बन्धबिच्छेद गरेको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *