नेपाल प्रिमियर लिगमा पोखराको फ्रेन्चाइज नपाउने मालिकको चिन्ता, क्यानले बेवास्ता गरेको गुनासो – Nepal Press

नेपाल प्रिमियर लिगमा पोखराको फ्रेन्चाइज नपाउने मालिकको चिन्ता, क्यानले बेवास्ता गरेको गुनासो

काठमाडौं । नेपाल टी-२० लिगमा गरेको करोडौं लगानी नेपाल क्रिकेट संघ (क्यान)ले बेवास्ता गर्दा गुम्ने खतरामा पुगेको पोखरा एभेन्जर्सले गुनासो गरेको छ ।

पोखरा एभेन्जर्सले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रिमियर लिगका फ्रेन्चाइज खरिद गर्न गरिएको व्यवस्थाका कारण लगानी गुम्ने चिन्ता व्यक्त गरेको छ ।

पोखरा एभेन्जर्सका सुवोध त्रिपाठीले विगतमा गरिएको लगानीलाई सुरक्षित बनाउन यस पटक पोखराको स्वामित्व लिने प्रक्रियामा अगाडि बढे पनि प्राप्त हुने निश्चित नभएको बताए ।

‘नेपाल टी-२० लिगमा हामीले करोडौं लगानी गरेर पोखरा एभेन्जर्स तयार गरेका थियौं । नेपाल क्रिकेट संघको सम्पूर्ण प्रक्रिया पूरा गरेर हामी सहभागी भएका थियौं, तर हामीलाई कुनै औपचारिक जानकारी नगराई क्यानले नेपाल टी-२० लिगको ठाउँमा यस पटक नेपाल प्रिमियर लिग आयोजना गर्ने निर्णय गर्‍यो । यसमा पनि हामीलाई कुनै समस्या थिएन, तर विगतमा हामीले गरेको लगानीको सुरक्षाका लागि बेवास्ता गरियो’, त्रिपाठीले भने ।

उनले अहिले पोखराका लागि दुई वा सोभन्दा बढी कम्पनीले एउटै रकमको दाबी गर्दा गोला प्रथाबाट टीम छनोटको व्यवस्था भएकाले लगानी संकटमा परेको बताए ।

‘अरु टीमले दिए जति हामी दिन तयार छौं, तर त्यति दिएपछि हाम्रो हुनुपर्‍यो, गोला प्रथामा नलगिदिनुस् भनेर हामीले आग्रह गरेका थियौं’, उनले भने ।

क्यानले नेपाल प्रिमियर लिगका फ्रेन्चाइजका मालिकहरु छनोट प्रक्रिया अगाडि बढाइरहेको समयमा एक निवेदक पोखरा एभेन्जर्सले पत्रकार सम्मेलन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *