कांग्रेस बैठकमा ओलीको प्रशंसा गर्दै देउवाले भने- सँगै जेल बसेको, दुःख गरेको राम्रो मान्छे हो उहाँ – Nepal Press

कांग्रेस बैठकमा ओलीको प्रशंसा गर्दै देउवाले भने- सँगै जेल बसेको, दुःख गरेको राम्रो मान्छे हो उहाँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राम्रो भएको भन्दै प्रशंसा गरेका छन् ।

आइतबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफूहरु सँगै जेल बसेको र आफ्नो सम्बन्ध पनि राम्रो भएको बताउँदै देउवाले ओलीको प्रशंसा गरे । बैठकमा बोल्दै देउवाले वर्तमान सत्ता गठबन्धनको विपक्षमा नबोल्न केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिए । उनले आफूले प्रचण्डलाई कहिलेपनि धोका नदिएको भन्दै पटक पटक प्रचण्डबाट धोका खाएको गुनासो गरे ।

‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी’, देउवाले भने‚ ‘दुःख गरेको राम्रो मान्छे हो उहाँ ।’

उनले समानुपातिक समावेशी व्यवस्था रहेसम्म एकल पार्टी बहुमत आउन नसक्ने बताए । सोही कारण कोही न कोही दोलसँग मिलेर गठबन्धन बनाउनुको विकल्प नभएको उनले बैठकमा स्पष्ट धारणा राखे ।

‘कुनै पनी पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीको बहुमत आउँदैन’, देउवाको भनाई उद्धृृत गर्दै एक नेताले भने‚ ‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’

सभापति देउवाले वर्तमान सरकार बनेपछि देशभर नेता कार्यकर्तामा उत्साह थपिएको बताए । उनले वर्तमान गठबन्धनको विपक्षमा नलाग्न पनि अनुरोध गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर