कांग्रेस बैठकमा महामन्त्री गगन- जनस्तरमा आएको विरोधलाई सामान्य नसम्झौं
‘यो गठबन्धन नै अहिलको संसदमा स्थिरताको अन्तिम विकल्प हो’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले प्रमुख प्रतिस्पर्धी भएपनि अहिलेको संसदबाट स्थायित्वको अन्य विकल्प नभएर बनेकाले यसैबाट बाँकी समय काम गर्नेगरी अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय समितिको बैठकमा यसअघि उनले पेश गरेको प्रतिवेदनमा आएका सुझाव समेट्दै यो विषयमा सबै नेताहरु पूर्ण जानकार भएकाले नकोटउन आग्रह गर्दै भने ‘सरकार र पार्टी नेतृत्वले नतिजा निकाल्नेगरी काम गर्नुपर्ने छ, यो संसदमा स्थिरताको अन्य विकल्प छैन ।’
‘एमाले–माओवादीको गठबन्धन सरकार फेरेर अहिलेको गठबन्धन बनाउन निकै मेहनत लागेको छ, अहिलेको गठबन्धन अन्य विकल्प सफल नभएर बनेको हो, यसको विषयमा सबै जानकार छौं, यो पार्टीको लागि पनि चुनौती छ, जोखिम पनि छ तर अनय विकल्प अरु छैन भनेर सहकार्यमा सहमति गरेका हौं’ उनले भने–‘अफ्ठेरो समयमा एमालेकांग्रेस बीच सहकार्य भएको छ । यो भन्दा अघिका गठबन्धनमा यति धेरै तयारी गरेर गरिएको पनि थिएन, अहिले धेरै चरणमा पार्टीभित्र छलफल गरेर गरिएको हो ।’
उनले ७ बुँदे सहमतिअनुसार अघि बढ्ने र कार्यान्वयन गर्ने दृण संकल्पका साथ अघि बढ्नुपर्ने बताए ।
महामन्त्री थापाले आमनागरिकमा राजनीतिक दल र सरकारप्रति धेरै ठूलो असन्तुष्टि बढेकाले त्यसको सम्बोधन हुनेगरी अघि बढ्नुपर्ने बताए । उनले काठमाण्डौमा देखिएको विरोध सामान्य होइन भनेर बसे त्यसले ठूलो संकट ल्याउनसक्ने भन्दै यसलाई पार्टी नेतृत्व र सरकार रहेका सबैले सबैले समयमै गम्भीर ढंगले बुझेर अघि बढ्नुपर्ने बताए ।
थापाले संविधान शंशोधनको विषय अहिलेको आवश्यकता भएको विषय सबैले बुझेको कुरा भएको बताउँदै भने ‘ यो अकस्मात हामीले ल्याएको विषय होइन भन्ने सन्देश बुझाउनुपर्यो । अहिलेको व्यवस्था ल्याउन नेपाली कांग्रेसले धेरै लगानी गरेको छ । हामी पार्टीको नेतृत्वमा र सरकारमा बसेका साथीहरुले यो अवस्थाबाट आएको हो भनेर नतिजा देखाउनेगरी काम गर्नुपर्ने उनले जनाए ।
बैठकमा उनले पार्टीका हरेक निर्णयमा विचार समूह, भूगोलको क्षेत्र, जातीय क्षेत्रलाई ध्यान दिन जरुरी रहेको बताउँदै भने, ‘अलिक बढी छलफल गरम, पार्टीमा संसदीय दलमा सघन छलफल गरेर जाऔं । केही आन्तरिक विवादले पार्टीमा रहेको समस्या छिटो टुंगो लगाम्, १५ औं महाधिवेशनको म्यान्डेडअनुसार बढौं ।’
थापाले भने–‘विधान सम्मेलन गर्ने, पार्टी संगठन संरचना पनि विधान समितिमा छलफल गरेर अघि बढाइने हो, विधानमस्यौदा समितिमा छलफल गरेर जाने हो, आफै नेतृत्वमा बनेको संविधानको रक्षाका लागि निरन्तर काम गर्नुपर्ने छ, गत निर्वाचनमा जनतासमक्ष गरेको प्रतिवद्धताअनुसार काम गर्नुपर्ने हो ।’
उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनेगरी पार्टीले रणनीति बनाउनुपर्ने र केन्दीय सदस्यहरुलाई जिम्मेवारी दिएर पूर्ण रुपमा काममा खटाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखेका छन् ।