बुवा: एक विश्वविद्यालय – Nepal Press
ब्लग

बुवा: एक विश्वविद्यालय

बुवा !

आज पनि हजुर निदाउन सक्नुभएन । निदाउनै दिएन दुश्मन समयले ! किन यस्तो भएको समय तिमी ? मलाई क्रूर हुतिहारा समयले बुवाको निद, आराम र स्वास्थ्य पटकपटक क्षीण बनाइरहेकोमा जति आक्रोश अरुमा आउँदैन, तर पनि बुवाबाटै सिकेकी छु, सहनु, सहनु र सहनु । हजुरको निन्द्रा टाढिएसँगै म पनि त टाढिन्छु नि निन्द्राबाट । जीवनमा अरु के चाहिएको थियो र हजुरलाई ? एक झमक गहिरो आनन्दको निन्द्रा न थियो । त्यही निन्द्रा पनि हिजो शरीरमा रगत, पानीको ऊर्जा बसुञ्जेल मजदुरी गर्दागर्दै हराउँथ्यो । निन्द्रा आइहाले पनि त्यसलाई हराइदिने कलामा धेरै निपुण हुनुहुन्थ्यो हजुर !

कारखानाका साहु, आफूले सानो तहमा नोकरी गरेको सार्वजनिक संस्थान जतासुकै होस्, हजुरको इमानदारीको प्रशंसक को थिएनन् ? हजुरको परिश्रमको भजन कसले गाउँदैन थियो ? तर इमान र मेहनतलाई गणितमा जोडिँदो रहेनछ बुवा । नत्र पसलमा साहुले दिने उधारो र कारखानामा साहुले दिने पेश्की किन कहिल्यै घटेन बुवा हजुरको खातामा ! जिन्दगीभर बैंक खाता नखोल्नुभएका, खोल्न आवश्यकता नै नभइकन जीवनलाई जीविकाकै संघर्षमा लगाइरहनु भयो । हजुरको उधारो र पेश्की खाताहरुले सधैं हजुरलाई लखेटिरह्यो, जिस्काइरह्यो र त्यो भादगाउँले कालो टोपी कहिल्यै नछुट्ने पौरखी शीरलाई शक्तिहीन बनाइरह्यो । किन हजुरले सानो सहयोगी पदको तलब पनि महिनाभरको एकमुष्ठ बुझ्ने अवसर कहिल्यै पाउनुभएन ? दिनभरको थकान, रातभरिको मजदुरीमा रटान, कहिल्यै पुग्दो निन्द्रा सुत्न सक्नुभएन । किन हजुरको सक्रिय जीवनमा पनि निन्द्राले नै सताइरह्यो, तर निन्द्राले नै साथ दिएन ? किन हटेन सक्रिय जीवन रहुञ्जेल हजुरको शीरबाट ऋण ? तर पनि किन डगेन काँधबाट जिम्मेवारी ? किन झन् झन् बढिरह्यो हृदयबाट आत्मविश्वास र भनिरहनुभयो- ‘मेरो कमाइ पनि, मेरो रमाइ पनि र मेरो दबाइ पनि मेरा छोरीहरु हुन् ।’

बुवा

हजुर प्रत्येक पटक घर आउनुहुँदा साइकलको दुवै कानमा वढेमानको नाइलनको झोलाभरि हरिया तिहुन तरकारीहरु ल्याउनुहुन्थ्यो । बजारमा भेटेको सकेसम्म ठूलो काउली फूल पात नचुँडिकन, हरियो सग्लो सागहरु, हरियो लसुन र प्याजको सबैभन्दा ठूलो मुठोका टुप्पाहरु साइकलको दुवैतर्फ ह्याण्डलमा बाहिरै निस्केको हुन्थ्यो । टिरिङटिरिङ साइकलको घण्टी बजेपछि सबै तरकारीको झोला झिकेर लस्करै तरकारीहरु राखेर हामी आमा, छोरीहरु कति राम्रो भन्दै हेरेर रमाउँथ्यौं । अनि हजुर झन् रमाउनुहुन्थ्यो । साइकलको पछाडि सीटमा पनि राख्न मिलेसम्मको झोला झुण्ड्याएर, च्यापेर ल्याउनुहुन्थ्यो । प्रत्येक शनिबार कुनै न कुनै पत्रपत्रिका ल्याउनुहुन्थ्यो र खुब पढ्नुहुन्थ्यो । कुनै राम्रो पुस्तक, डायरी पनि कहिलेकाहीँ ल्याउनुहुन्थ्यो ।

दशैंमा रातो ठूलो भाले नाइलनको झोलाबाट शीर र सिउर बाहिर निकालेर बुवासँगै रमाउँदै साइकलमा घर आइपुग्थ्यो । हामी घरमा काटमार नगर्ने, तर बच्चाहरु रमाउँछन् भनेर हजुरको साथमा ज्यूँदो कुखुराको भाले यसरी आइपुग्थ्यो । हामी धेरै दिनसम्म कुखुरा बाँधेर त्यसलाई खान दिँदा, त्यो बास्दा र चराउन लैजान पाउँदा रमाइबस्थ्यौं । आफ्ना सन्तानका लागि पालनपोषण मात्र होइन, खुशी हुने र खुशी दिने कलामा पनि पूरै मन ओच्छ्याउने हृदय रहेछ बुवा भन्ने विषय भनेर क्रमशः मैले पढ्न सकें । हजुरले ‘क’ अक्षर पढ्नुभएन, स्कूलको दैलो टेक्नुभएन, तर पत्रपत्रिका, पुस्तकहरु पढिरहनु हुन्थ्यो । अनि हजुरले पत्रिका होस् या पुस्तक दुवै हातले फिजारेर पढ्ने बानी असाध्यै मनपर्छ मलाई ।

हजुर सञ्चो हुनुहुन्छ भन्ने सन्देश हजुरको यो पत्रिका बसाइले घर परिवारभरि सञ्चार गरिदिन्छ । हजुरको सञ्चोसँग सिंगो घरको सञ्चो यसरी सम्प्रेषित हुने गर्छ । त्यसकारण त भनिएको रहेछ, आमाबुवा भएको घर पो घर !

अहिले रोगव्याधीले हजुरको शरीर कमजोर भएको छ बुवा, जसरी पहिले पहिले कहिले ढलेको वा कहिले बसेको दुवै पोजिसनमा पनि दुवै हातले पत्रिका वा पुस्तक उठाउनुहुन्थ्यो र दुवै पेज फिजारेर पढ्नुहुन्थ्यो, अहिले अवस्था भिन्न छ, तर आदत उस्तै छ, टेबुलमा गोरखापत्रको दुवै पेज फिजारेर लाम्चो हातलाई पनि गोरखापत्रसँगै टेबुलमा सुताएर पढिरहनु भएको जब देख्छु, त्यसको उत्साह र ऊर्जाले दिने आनन्द कतै पाइन्न बुवा ! हजुर सञ्चो हुनुहुन्छ भन्ने सन्देश हजुरको यो पत्रिका बसाइले घर परिवारभरि सञ्चार गरिदिन्छ । हजुरको सञ्चोसँग सिंगो घरको सञ्चो यसरी सम्प्रेषित हुने गर्छ । त्यसकारण त भनिएको रहेछ, आमाबुवा भएको घर पो घर !

हो नि, कंक्रिटले घेरिएर, छोपिएर आफैंलाई त्यसको मालिक सम्झने हामी मान्छेहरु के मान्छे ? हिजो गाउँमा छाप्रोमा, झुप्रोमा अनि शहरमा आएपछि डेराको एउटै कोठामा पकाउने, खाने, बस्ने र एकले अर्कोलाई देख्ने गरी सामूहिकतामा दुःखमा मलम, सुखमा साक्षी कति सरल एवं हृदय जोडिएको जीवन पद्धति थियो । आज धेरैको सानो या ठूलो या जस्तो भए पनि घर छ, तर घरमा के छ ? कोठा छ, टीभी छ, ल्यापटप छ, आइप्याड छ, आइफोन, ट्याब्लेट, मोबाइल छ । आफैंलाई जाँच्छु अनि खुरुरु बुवातिर भाग्छु । बुवा हुनुहुन्छ र घर सुवासित छ । घरका सबै कंक्रिटहरुमा प्राण भरिएका छन् । ती कंक्रिटले पनि बुवासँग बस, खाउ, कुरा गर भनिरहेको हुन्छ । बुवामात्रै होइन, म जहाँजहाँ बुवा उच्चारण गरिरहेकी छु, ती सबैमा आमा स्वतः गाँसिनुभएकै छ । किनकि हामी सन्तानहरु त्यही आमाबुवाको हिजोको ऋण, आजको धन दुवै हौं । अँ ! कंक्रिटलाई पनि प्राण भरिदिने र सबै निरसतालाई चिरिदिने भएर न हो घरप्रति प्रेम, आस्था र भरोसा जागेको । साँच्चै हामीले त नाम नै दिएका छौं आमाको घर !

हाम्री निरक्षर, तर अद्भूत विदुषी आमाको विषय पछि लेखुँला ।

सानैदेखि बुवा पढ्न लेख्न रुचाउने व्यक्तिको रुपमा हुनुभएकै कारणले हो, बुवाले पढ्नुभएपछि थपक्क पढ्ने आदत मैले हासिल गर्दै गएँ । बुवा विशेषगरी गोरखापत्र र कहिलेकाहीँ कान्तिपुर अनि विभिन्न साप्ताहिक पत्रिकाहरु किनेर ल्याउनुहुन्थ्यो । शनिबार त अझ धेरै किन्नुहुन्थ्यो र खाना खाएपछि केही समय पढ्नुहुन्थ्यो । अरु बेला चाहिँ राति सुत्नुअघि पढ्नुहुन्थ्यो । विद्यालयको प्राङ्गण नटेकेको, तर कसरी पढ्न जान्ने हुनुभो भनेर सोध्न सकेका रहेनछौं हामीले । यो कुरा धेरैपछि बोध भयो मलाई । हामी धेरै छोराछोरीहरु बुवाआमासँग निकट भएर उहाँका विषयहरु सोध्दारहेनछौं । हजार सपना बटुलेर सिंगो भावना, चाहना सशरीर सन्तानमै समर्पित हुने आमाबुवाको रूचि, प्रभाव, क्षमता, अनुभवका विषयमा खुलेर कुरा गर्दा त्यसको प्रभावले पारिवारिकतालाई छुट्टै प्रेम र प्रेरणा दिन्छ ।

बुवाले पेट्रोल पम्पमा पेट्रोल भर्ने काम गर्नुहुन्थ्यो । पैसा हिसाबकिताब पनि गर्नुपर्ने, त्यही साहुको छोराले गोरखापत्र पढ्ने, बुवालाई पढ्न नआउने, बुवाले पढ्न रहर गर्नुभएको देखेपछि साहुका छोराले लु पढ भनेर कखरा सिकाइदिएछन्, कापी, कलम दिएछन् । त्यहीबाट बुवाले अक्षर सिक्नुभयो र पछि गोरखापत्र च्यातेर एक, एक टुक्रा लिँदै कोठामा गएर त्यसको हुबहु नक्कल गर्दै सार्दै, वाचन गर्दै अभ्यास गर्नुभएपछि पूरै अक्षर छिचोल्नुभएको रहेछ । अक्षरलाई आफ्नो बनाउने उहाँको संघर्ष सुन्दा हलुंगो लाग्न सक्छ, तर त्यतिबेलाको समयको त्यो चाहत र प्राप्तिका लागि गरेको परिश्रम निकै गहुँगो छ र रोचकता छ । कसैले पत्तो नपाइ रातभरि र दिउँसो खाना खाने समयमा पाएको समयसमेत उपयोग गरी पढ्नसक्ने हुनुभएको यो कथा धेरै धेरै वर्ष पछाडि (लगभग १० वर्ष अगाडि मात्र हुँला) म आफैंले सोधेपछि मात्रै उहाँले भन्नुभएको थियो ।

बुवाले पढ्नुभएको रातो खोल भएको पुस्तक थियो र इन्द्रजाल भन्ने पुस्तक पनि पहेंलो किरिङ्गमिरिङ्ग मैलो रङ्गको पुस्तक मैले बाकसमा देखेकी थिएँ । दुवै पुस्तक अलि अलि पढ्दै थिएँ बुवालाई छलेर । अरु के के धार्मिक पुस्तकहरु पनि थिए ।

उहाँमा सिक्ने उत्सुकता अनि गोपनीयता पनि कति रहेछ भन्ने कुराले गदगद् भएकी थिएँ । आफू यसरी पढ्नुभएकै कारणले होला आफ्ना सबै सन्तानलाई जसरी पनि पढाउँछु भन्ने उहाँको अठोटले उपलब्धि हासिल गर्न निकै समय लाग्यो, ती समयहरुले अत्यधिक अभाव, कठोर कष्ट, सन्त्रास, अत्यास, यातना दिएर गए तापनि अठोटले परिणाम दिएर गयो । हाम्रो बुवालाई त्यो किशोर युवा अवयवमा पनि पेट्रोल पम्पमा यसरी काम दिने, काम दिँदादिँदै अक्षर चिन्न सघाउने ती साहु र तिनका छोरा तथा गोरखापत्रलाई समेत हृदय चढाएर धन्यवाद भन्न चाहन्छु । त्यो समयले दिलाएको अक्षर चेतनाले बलेको बुवाको हृदयले नै हो आज उहाँका हामी ६ वटै छोरी अक्षर चेतना र त्यही चेतनाले जागृत बुवाको शिक्षित र अब्बल सन्तान हुन एक हिसाबले सफल छौं ।

सफलताको परिभाषा हजार हुन सक्छन्, तर हामी जस्तो बुवाकै किशोरकालदेखि पुर्ख्यौली पहाड झरेर शहर पसेको, शहरले नचिनेको, नदेखेकोहरुले नै यही शहरमा हातनङ्ग्रा नौनाडी खियाएर हामीलाई मात्र होइन, यही शहरलाई आफ्नोपन दिएर हजार गुणले सिंगारेका छौं । आजका मूल्यवान समावेशी, सांस्कृतिक काठमाडौं शहर हुनुमा हामी जस्ताहरुको शारीरिक र बौद्धिक दुवै श्रमको यथेष्ट लगानी छ । हाम्रो बुवा जस्तो अनपढ मजदुरको लागि जीवनको उच्च सफलता भन्नु नै छोरीहरुले पढून् र आफ्नै पौरखले गरिखाऊन्, आफू जस्तै हातमुख जोर्न अभाव नपरोस्, बुद्धिले गरिखान सकून् भन्ने न थियो ।

बुवाले पढ्नुभएको रातो खोल भएको पुस्तक थियो र इन्द्रजाल भन्ने पुस्तक पनि पहेंलो किरिङ्गमिरिङ्ग मैलो रङ्गको पुस्तक मैले बाकसमा देखेकी थिएँ । दुवै पुस्तक अलि अलि पढ्दै थिएँ बुवालाई छलेर । अरु के के धार्मिक पुस्तकहरु पनि थिए । मलाई रातो पुस्तकले ध्यान खिचेको थियो, त्यो माओत्से तुङको पुस्तक रहेछ, सानै थिएँ केही नबुझे पनि त्यो पूरा पढ्ने रहर थियो । पछि त्यो पुस्तक खोज्दा पाइनँ, बुवालाई सोध्दा पुलिसले समात्छ त्यो देख्यो भने, मैले च्यातेर मिल्काइसकें भन्नुभयो । अनि मैले पढेको भन्दा अचम्म मान्नुभयो । किन यसो भन्नुभयो होला भन्ने लागेको थियो त्यतिबेला, तर पछि बुझ्दै गएँ, नेपालमा राणा शासनविरोधीहरु, कम्युनिष्ट क्रान्तिकारीहरुलाई खोजीखोजी समात्ने, जेल हाल्ने र मार्ने गरिरहेको समय रहेछ त्यो बेला । राजनीतिक विषयमा बुवाको चासो र सूचना अद्यावधिक गर्ने आदत त्यतिबेलादेखि रहेछ भन्ने अन्दाज गरें । पछिपछि त बुवा युनियन बनाउन उद्यत, विभिन्न कार्यक्रमहरुमा भाग लिने, मन्तव्य दिनेलगायतका कतिपय प्रदर्शनीहरुमा हामी सँगसँगै सहभागी हुन्थ्यौं । राजनीतिक चेतनाको बिज पनि हाम्रो परिवारमा यसरी बुवाले नै जगाउनुभएको थियो ।

हामी तामाङ समुदायको, आदर सम्मान, देवपितृ व्यवहारहरु बौद्ध संस्कृतिअनुसार नै गरिन्थ्यो, तर आमाबुवाले कोठामा सानो लाथान बनाउनुभएर पूजा गर्नुभएको र हामीलाई पनि सिकाउनुभएको संस्कार आज पर्यन्त उस्तै छ । थानमा बुद्ध, गणेश, लक्ष्मी, महादेव, पार्वती, कृष्णका फोटोहरु सँगै छन् । बुद्धलाई बुद्ध परम्पराअनुसार र हिन्दू देवीदेवतालाई हिन्दू परम्पराअनुसार । पूजा प्रार्थना विविध पर्व संस्कृति दुवै परम्पराबाट । मन्दिर पनि जाने, गुम्बा पनि जाने । आमाबुवाको यो मिश्रित संस्कारले धार्मिक, सांस्कृतिक विविधताको उपयोग तथा सहिष्णुताका विषयमा बुझ्नसक्ने ठूलो आधार बनायो । बुवाले लगभग सबै पुराण पढ्नुभएको छ । आमा भजनको पारखी । अहिले पनि घरको एकातिर भित्तामा बुद्ध र थाङ्काको थान, अर्कोतिर भित्तामा विभिन्न देवीदेवताको थान । मोलम, छ्योपो पनि सँगै, पूजाआरती पनि सँगै । आखिर देवताहरु कहाँ नमिलेका हुन् र ? देवताको नाममा मान्छे पो नमिलेका ।

बुवाले लगभग सबै पुराण पढ्नुभएको छ । आमा भजनको पारखी । अहिले पनि घरको एकातिर भित्तामा बुद्ध र थाङ्काको थान, अर्कोतिर भित्तामा विभिन्न देवीदेवताको थान । मोलम, छ्योपो पनि सँगै, पूजाआरती पनि सँगै । आखिर देवताहरु कहाँ नमिलेका हुन् र ? देवताको नाममा मान्छे पो नमिलेका ।

बुवा !

कति बलियो, कति सामान अट्ने र हातभरि बोकेर हिँड्न सजिलो हजुरको सक्रिय समयको नाइलनको झोला आज मसँग छैन, तर जसरी बुवाले हामी खुशी हुन्छन् भनेर आफ्नो रोजाइको होइन, हाम्रो रोजाइको तिहुनदेखि लिएर अनेकानेक चिजबिजहरु ल्याउनुहुन्थ्यो, आज त्यही खुशी खोज्ने कला हजुरबाट सर्लक्क स्थानान्तरण भएको छ हृदयमा । अहिले त हामीलाई सजिलो छ, टोलटोलमै मार्टहरु छन्, साना तथा ठूल्ठूला बजार छन् । स्थानीय हाट तथा रैथाने बजार छन् । सुपरमार्केटहरु छन् । कहिलेकाहीँ बुवालाई मनपर्ने असन बजार पनि जान्छु र खोज्छु बुवालाई मनपर्ने तिहुन तरकारीहरु । सकेसम्म खोज्छु ठूलो काउली, कलिलो काँक्रो, रसिलो मुला, हरियो सर्लक्क परेको ताजा साग, हरियो ताजा लसुनप्याज । अनि अरु खत्र्याकखुत्रुक बुवा खुशी हुने खालका अन्दाज गरिएका चिजबिजहरु । घरमा ल्याएर झोला सर्लक्क राख्छु, बुवाका हातहरु सुस्तरी छुनमुन गर्दै के ल्यायौ भनेर जब झोला खोतल्न पुग्छ, मन पूरै भावनाले उडाउँछ र भनिबस्छ- समय कस्तरी फर्कंदोरहेछ । सायद यस्तै समयलाई भनिएको होला, जीवनमा एक पटक फेरि फर्कन्छ बालापन ।

हजुरको जीवन गतिलाई ठूलो रफ्तारले हाँकिदिएको हजुरको सक्रिय साथी त्यो पुरानो र बुढो साइकल आज पनि घरको आँगनमा शान्त छ । कुचो कसेर लगाउँदा, सरसफाइ गर्दा छोइन्छ र साइकलको घण्टी टिरिङ्गरिङ्ग बजाउन मन लाग्छ । प्रत्येक पटक घरभित्र आउँदा र बाहिर जाँदा साइकलले हाँसेर स्वागत अनि गुडबाइ गर्छ । प्रत्येक दिन दुई घण्टा साइकल खियाएर आफ्नो दैनिकी नोकरीका लागि कार्यालय आउजाउ र साँझ–विहान थप मजदुरी गर्ने गरेको त्यो शरीरलाई एक बिहान कार्यालय गइरहेको समयमा सिंहदरबारको गेटै अगाडि मिनि बसले ठक्कर दिएपछि वीर अस्पतालको बेडमा सेतो सफेद कमीज रक्ताम्य भएर लडिरहनु भएको याद फेरि ताजगी गराइदिन्छ पिँढीको साइकलले । हजुरको जीवनमात्र होइन, हामी सन्ततिहरुको जीवन बसाउने र बनाउने आधार पनि बन्यो बुवा त्यो साइकल ।

आज पिँढीमा निष्क्रिय र एकान्त छ साइकल जसरी घरभित्रै हजुर शान्त र एकान्त हुनुहुन्छ । नलाग्नुपर्ने सबै रोग, नव्यहोर्नुपर्ने सबै कष्टले छोपिदिएका छन् हजुरको शरीरमा । २२ प्रकारका औषधि धन्न धान्नुहुन्छ हजुर । चिकित्सा विज्ञानले पनि हजुरको शरीर पाएकै रछ जस्तो लाग्छ, हर उपचारको अभ्यास बनिरहेछ हजुरको शरीर । विचार, व्यवहार, आहारविहार र जीवन संघर्षले कहिल्यै हार्न नजानेको हजुरले आज औषधिहरु मकैभटमास जसरी खाइरहनु परेको निस्सार अनुहार देख्दा कति निष्ठुर लाग्छ समय, तर फेरि पनि जीवनलाई सधैं सकारात्मक, नैतिक धरातलीय र सरल बनाइरहन बाटो देखाइरहने बुवा हजुरकै मार्गदर्शनले सगरमाथा जसरी उठाइदिन्छ मनोभावना ।

कहिलेकाहीँ बुवालाई मनपर्ने असन बजार पनि जान्छु र खोज्छु बुवालाई मनपर्ने तिहुन तरकारीहरु । सकेसम्म खोज्छु ठूलो काउली, कलिलो काँक्रो, रसिलो मुला, हरियो सर्लक्क परेको ताजा साग, हरियो ताजा लसुनप्याज ।

यस पटक पटकपटक गरी लामो समयको अस्पताल बसाइले निकै दिक्किनु भयो हजुर । समयले निकै सन्त्रस्त बनायो हामीलाई । अहिले पनि हप्तादिनमा अस्पताल ओहोरदोहोर, आधा दर्जन चिकित्सकको निगरानी अनि करिब २ दर्जन औषधिहरुको साथ सामान्य लाग्न थालिसक्यो अब । हजुरको मनोबल, असल सोच र कर्मको प्रतिफल अनि चिकित्सकहरुको विशिष्ट सेवाले हजुर सञ्चो हुनुभो, तर औषधिसहितको । हिजोअस्तिको भन्दा अझ थप औषधिसहितको सञ्चो । कति सियोहरु घोच्नु त्यो शरीरमा, कति बिजुली मेशिनहरुमा हुल्नु, छुवाउनु त्यो कमजोर शरीर ? कति पम्प लगाउनु ब्लड प्रेसरको ? कति अस्पतालको दैलो टेकाउनु ?

यी स्मृतिमा हराउँदा अहिले रातको १२ः३१ बजिसकेछ । बुवा मस्त निदाउनुभयो, आज मैले अलिकति भिक्स दलिदिएँकी थिएँ । २ दिनपछि बुवाको मुख हेर्ने दिन हो, के ल्याइदिउँ, कता घुमाउन लैजाउँ भनेर अघिन नेटीभीमा समाचार हेर्दाहेर्दै सोधेकी थिएँ । कतै घुम्न जानभन्दा घर बसिरहनै मनलाग्छ भन्नुभयो । बुवाको प्रिय नेपाल टेलिभिजन र पत्रिकामा सधैं गोरखापत्र । सधैं झैं म बुवाको खाटमुनि आफ्नो ओछ्यान सुस्तरी मिलाउँदैछु, बुवा ख्वाक्क खोक्नुभो, कफ अड्किन्छ र दुःख दिन्छ बेलाबेला । म एकछिन ध्यानदृष्टि दिन्छु, सुम्सुम्याउँछु । बुवा कहिलेकाहीँ खुइया सुइना हाल्नुहुन्छ, तर्सेर मेरो जग थर्किन्छ फेरि एक पटक ! कति लेख्नु, केमात्रै लेख्नु ! संसारमा सबैका आआफ्ना कथा हुन्छन्, तैपनि प्रेरणाका लागि लेखें । बुवा जीवनको मेरो पहिलो पाठशाला त हो नै, आजभोलि उहाँको सिंगो जीवन नै एक विश्वविद्यालय मान्छु । त्यसैले यो आलेख फेरि एक पटक पढ्न लेखें, बुझ्न लेखें ।
२०८१ भदौ १५


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *