बाबुरामसँग छुट्टिएको यादव पक्षले थप्यो केन्द्रीय सदस्य, नेताहरूको जिम्मेवारी पनि हेरफेर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव(गंगानारायण श्रेष्ठ पक्षले पार्टीमा केन्द्रीय सदस्य थप गरेको छ। महासचिव रमेश यादवका अनुसार हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सदस्य थप गरेको हो।
उनका अनुसार बैठकले रामकैलाश यादव, माहम्मद इजरायल, सुरदबहादुर स्याङतान, होमकुमारी दोङ, सोमबहादुर थिङ, राजु थापा, ढाकाराम गौतम, सरेन्द्र पटेल, टेकबहादुर बाठा मगर, महेन्द्रबहादुर शाही र शिव सुन्दर शाहीलाई कार्यकारिणी सदस्य बनाइएको छ।
बैठकले नेताहरूको जिम्मेवारी समेत हेरफेर गरेको छ। नेसपाले भदौ २५ देखि ३० सम्म कोशी लुम्बिनीमा, असोज ५ देखि १५ गतेसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरण गर्ने निर्णय पनि गरेको छ।
गठन र पुनर्गठन गर्न बाँकी जिल्लाहरूमा यथाशीघ्र जिल्ला समन्वय समिति गठन पुनर्गठन गर्ने र केन्द्रीय कार्यालयमा तथ्यांक उपलब्ध गराउने र पार्टीलाई समाजवादी मोर्चामा सहभागी गराइएकोबारे पार्टीका नेताहरूलाई जानकारी दिँदै सक्रियतापूर्वक भूमिका खेल्ने निर्णय पनि भएको महासचिव यादवले बताए।
अध्यक्ष डा. बाबुराम भट्टराई पक्षसँग अलग भएर यादव पक्षले अलगै पार्टीको अभ्यास गर्दै आइरहेको छ। तर, संस्थापन पक्षले यसअघि नै यादवसहितका नेताहरूलाई हटाइसकेको छ।